चार सय बढि सगरमाथा शिखरमा

काठमाडौं, १४ जेठ । यस वर्षको वसन्त ऋतुमा करिब चार सयजनाले सगरमाथामा पाइला टेकेका छन् । यसमध्ये आधा जसो ‘टिम मेम्बर’ छन् भने आधा सहयोगी शेर्पा छन् ।
नेपाल आउने विदेशी पर्यटकको संख्या बढेसँगै पर्वतारोहण गतिविधि पनि बढिरहेको छ । सन् ०१२ को पहिलो महिनादेखि नै विदेशी पर्यटकको आगमन दर बढ्दो क्रममा छ । यसले पर्वतारोहण गतिविधिमा पनि सकारात्मक परिणाम देखिएको ट्ेरेकिङ व्यवसायीले बताएका छन् ।
यो सिजनमा सगरमाथा चढ्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३३ टोलीका तीन सय ४१ लाई अनुमति दिएको थियो । तीमध्ये अधिकांशले आरोहण पूरा गरेका छन् । सबैभन्दा बढी आरोही अमेरिकाका छन् । मन्त्रालयका अनुसार ८१ अमेरिकी र ६२ भारतीय आरोहीले अनुमति पाएका छन् । सगरमाथा आरोहणको अनुमति दिएबापत सरकारले यस वर्ष करिब २६ करोड ४० लाख रुपियाँ रोयल्टी संकलन गरेको छ । गत वर्ष यो रकम १९ करोड ७५ लाख रुपियाँ थियो । पर्वतारोहणलाई नेपालको विदेशी मुद्रा आर्जन गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।
गत वर्ष पर्वतीय पर्यटनबाट करिब एक अर्ब ६५ करोड रुपियाँ बराबरको कारोबार भएको थियो । यसमा आरोही पर्यटकले पर्वतीय पर्यटनमा जाँदा/आउँदा गरेको खर्च र सरकारी राजस्वसमेत जोडिएको छ । पर्वतीय पर्यटनको उद्देश्यले नेपाल आउने पर्यटकले औसत रूपमा ३५ हजार अमेरिकी डलर खर्च गर्ने गरेको बताइन्छ । सरकारले आरोहणका लागि तीन सय २६ वटा हिमाल खुला गरेको छ । यसमध्ये एक सय १० वटा हिमालमा अहिलेसम्म पर्यटक पुगेकै छैनन् ।
यसपटकको सगरमाथा आरोहण शनिबारदेखि लगभग सकिएको एसियन ट्ेरकिङका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार आरोहणका लागि गएका सबै फर्किन थालिसकेका छन् । सामान्यतया मध्यअप्रिलदेखि सगरमाथा आरोहण सुरु हुने भए पनि यस वर्ष मौसमका कारण मे दोस्रो सातादेखि मात्र सुरु भएको थियो । पर्वतारोहीहरू आरोहणभन्दा महिना दिनअघि नै आधार शिविर गएर आरोहणको तयारी गर्छन् ।
यो सिजनमा विभिन्न व्यक्तिले विभिन्न कीर्तिमानका लागि सगरमाथाको शिखर चुमेका छन् । शिवरात्रिमा २५ घन्टा वाग्मतीमा तपस्या गरेकी सीता राईले सगरमाथामा पनि ध्यान गर्ने बताएकी थिइन् । उनले शनिबार नै सगरमाथा आरोहण गरे पनि ध्यान गरे/नगरेको बारे स्पष्ट भएको छैन । त्यस्तै खेलाडी सञ्जय पण्डितले पनि सगरमाथा चढेका छन् ।
यसै सिजनमा १६ वर्षीया छेम्जी शेर्पा सगरमाथा चढ्ने सबैभन्दा कम उमेरकी महिलाको रेकर्ड आफ्नो नाममा पार्न सफल भएकी छन् । छेम्जीले ६ जेठमा सगरमाथाको चुचुरो टेकेकी हुन् । पर्यटन मन्त्रालयका अनुसार यसअघि १६ नेपाली महिलाले सगरमाथा चढेका छन् । आरोहण गर्ने सबै २० वर्षदेखि माथिका छन् ।
जापानकी ७३ वर्षीया तामाए वातानाबेले सगरमाथाको सफल आरोहण गरी विश्वकै सबैभन्दा बढी उमेरमा सगरमाथा शिखर पुग्ने महिला आरोहीको कीर्तिमान कायम गरिन् । उनले पनि ६ जेठमा नै तिब्बती भेग (दक्षिणी मोहोडा) बाट सगरमाथा आरोहण गरेको उनको आरोहण दलको व्यवस्थापक एसियन ट्रेकिङ प्रालिले जनाएको छ ।
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश सगरमाथा शिखरमा पुगेका छन् । शनिबार बिहान ८ बजे टोलीका अन्य सदस्यसँगै दाहालले सर्वोच्च शिखर चुमेको आरोहण व्यवस्थापक एसियन ट्रेकिङले जानकारी दिएको छ । दाहालको टोलीका दुईजनाले भने सगरमाथा चढ्न सकेनन् ।
लुम्बिनी सगरमाथा एभरेस्ट एक्सपेडिसन ०१२ आरोहण दलबाट सगरमाथा गएका प्रकाशसँगै माओवादी केन्द्रीय सदस्य कृष्ण केसी, बिना मगर, शिव डाँगी, सरल सहयात्री पौडेल, युवराज दुलाल, महेश्वर फुयाँल र मदन चुडालले पनि आरोहण गरेका छन् । टोलीको नेतृत्व केन्द्रीय सदस्य केसीले गरेका थिए । उनीहरू शनिबार साउथकोल झर्ने र सोमबारसम्म आधार शिविर आइपुग्ने छन् ।
सगरमाथा आरोहणका लागि तोकिएको रोयल्टी बुझाउनुपर्छ । नर्मल रुटका लागि एकजनालाई २५ हजार अमेरिकी डलर, दुईजनालाई ४० हजार, तीनजनालाई ४८ हजार, चारजनालाई ५६ हजार, पाँच जनालाई ६० हजार, ६ जनालाई ६६ हजार र सात जनालाई ७० हजार डलर रोयल्टी तोकिएको छ । सात जनाभन्दा बढी भएमा थप एकजना बराबर सात हजार डलर तिर्नुपर्छ । टोलीमा जति बढी संख्या भयो रोयल्टी त्यति कम पर्छ । सगरमाथा आरोहणका लागि नेपालीलाई भने रोयल्टी छुट दिइन्छ ।

प्रतिक्रिया