“मूर्तिले पान खायो”

भाइबहिनी हो, तिमीहरूले मलाई चिन्यौ ? चिनेनौ भने पनि मैले गाएका यी गीत त पक्कै सुनेका हौला–
फूलैफूल मात्र पनि होइन रै’छ जीवन.. ।
पानी खाने निहुँले …।
म गायक मधु क्षत्री हुँ । जन्म २०१३ साल वैशाख ९ गते बिर्ताचोक, वीरगन्जमा भएको हो । मेरा एक भाइ र दुई बहिनी छन् । म जेठो सन्तान हुँ । मेरा बुबा सिनेमा हलमा बुकिङ क्लर्कको काम गर्नुहुन्थ्यो ।
सानो छँदा खेलमा खासै रुचि थिएन, साथीभाइसँग नगवाचोकको चउरमा कहिलेकाहीँ फुटबलचाहिँ खेलिटोपल्थेँ । लुगा फाट्ने गरी जिउ छाडेर होली पनि खेल्थ्यौँ । नरिवल, सुपारी, आँप र बेलका रूख देख्दै डर लाग्थ्यो, चढ्ने त आँटै आउँदैनथ्यो ।
पढाइमा साधारण विद्यार्थी थिएँ । घरबाट हाफ पाइन्ट लगाएर एक हातमा किताबकपी, अर्को हातमा बोरा लिएर स्कुल जान्थ्यौँ । भुइँमा बोरा ओछ्यायो, दिनभर पढ्यो अनि घर आउने बेलामा फेरि हातमा बोकेर फर्कियो । त्यो स्कुलमा कुर्मी मास्टर र राजन मास्टरले पढाउनुहुन्थ्यो । पछि कक्षा पाँचमा त्रिजुद्ध हाइस्कुलमा भर्ना भएँ ।
भाइबहिनी हो, बाल उमेरमा भनेको नमान्दा, खुरुखुरु भात नखाँदा बुबाआमाले तर्साउने गर्नुहुन्थ्यो । ‘खुरुक्क भात खा, नत्र राकस आउँछ, बडेमानको हाउगुजी आउँछ’ भनेको सुनेर कलिलो मनमा डरले घर जमाइहाल्थ्यो– यो राकस, हाउगुजी के हो भनेर ।
स्कुल जाँदा अहिलेको जस्तो ड्रेसको चलन थिएन, जसले जे लगाएर गए पनि हुन्थ्यो । खाजा लिएर जाने चलन पनि थिएन । कहिलेकाहीँ आक्कल–झुक्कल बुबाले पाँच पैसा दिनुहुन्थ्यो । हाफ टाइममा स्कुलको हाताबाहिर निस्केर गोलगप्पा (पानीपुरी) भएतिर दौडिन्थ्यौँ । त्यतिखेर पाँच पैसाको दसवटा गोलगप्पा पाइन्थ्यो, मजा मानेर खाइन्थ्यो । पानीपुरीको कुरा गर्दा कतै तिमीहरूको मुख त रसाएन भाइबहिनी हो † पानीपुरी रसिलो हुन्छ, तर धेरै खानु हुँदैन नि † यसले पेट बिगार्ने र झुसिलो डकार आउने डर पनि हुन्छ । मैले सिनेमा लुकेर हेर्नुपरेन बरु हाकिमजसरी ढसमस्स कुर्सीमा बसेर हेर्थें । कारण के थियो भने बुबा सिनेमा हलमा नै काम गर्नुहुन्थ्यो । टिकट काट्नु पर्दैनथ्यो, पास पाइन्थ्यो । पास लिएर म कहिलेकाहीँ रक्सौल पुगेर पनि फिल्म हेर्थें ।
स्कुलमा हुने प्राय: सबै कार्यक्रममा भाग लिन्थेँ । हाजिरीजवाफ, क्यारिकेचर (नक्कल), हास्य नाटक, ठट्यौली, हँस्यौलीमा त म टिमको अगुवा नै थिएँ । एकपटक हामीलाई पढाउने पण्डित मास्टरको क्यारिकेचर गर्दा उहाँ रिसाउनुहुन्छ जस्तो लागेको थियो तर उल्टै मेरो काँधमा धाप मार्दै स्याबासी दिनुभयो । खुसीले फुरुंग भएँ । म सानैदेखि गीत संगीतमा लागेको थिएँ । संगीतले मानिसलाई अनुशासित, लगनशील, मिहिनेती, जागरुक र जिज्ञासु बनाउने हुँदा म काँचो अल्लारे बालउमेरमै पाको र संयमित खालको बच्चा बनिसकेको थिएँ ।
एकपटक हास्य नाटक गर्दै थियौँ । नाटकको निर्देशक मै थिएँ । हल दर्शकले खचाखच भरिएको थियो । नाटक आफ्नै तालले चलिरहेको थियो । स्टेजमा डाँकाहरूको प्रवेश हुन्छ । स्टेजमा पहिल्यैदेखि एउटा कलाकार डाँकालाई समाउन मूर्तिझैँ हलचल नगरी बसिरहेको हुन्छ । एउटा सादा पोसाक लगाएको प्रहरी पनि पान बेच्नेवाला भएर जान्छ र भन्न थाल्छ, ‘पान खानुहुन्छ, पान ? लौ आयो ताजा राम्रो पान †’ पान बेच्ने मानिस मूर्ति बनेको मानिसको छेउमा पुग्छ । त्यो मानिसले आफू मूर्तिको अभिनय गरिरहेको छु भन्ने बिर्सेर एउटा पान झिकेर मुखाँ क्वाप्प हाल्छ । दर्शक स्टेचुले पान खायो भन्दै गल्ल हाँस्न थाल्छन् । एकछिनपछि पानको रस थुक्न नपाएर त्यो स्टेचु कलाकारको मुख बेलुनझैँ फुल्न थाल्छ । दर्शक ‘स्टेचु हो कि ढेडु’ भनेर झन् जोडले पेट मिचिमिची हाँस्न थाल्छन् । थुक मुखमा राख्न नसकेर अन्त्यमा मूर्तिले अर्को कलाकारमाथि पिच्च थुकिदिन्छ । दर्शकमा हाँसोको पर्रा नै उर्लिन्छ । डाँकालाई समाउने बेलामा त्यो मूर्ति बनेको कलाकार कहाँ गयो भनेर खोजी हुन थाल्छ । ऊ त स्टेजमै लडिसकेछ । पछि थाहा भयो, त्यो मीठापान खाने कलाकार जर्दा पान खाएर रिँगटा लागी बेहोस भएको रहेछ । यसरी आफूले सोचेकएरँो भन्दा फरक शैलीमा हास्य नाटक समाप्त भयो, तर दर्शकहरूले बडो मजा मानेर हेरेका थिए ।
भाइबहिनी हो, त्यो उमेरमा मलाई गायक बन्ने सपना पलाएको थियो, त्यो धोको पूरा भएकामा साह्रै खुसी छु । मैले १४ वर्षको उमेरमा २०२७ सालमा त्रिजुद्ध हाइस्कुलबाट प्रवेशिका परीक्षा पास गरेको हुँ ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया