फेरियो रोहन


रोहन र रीता गाउँको सरकारी स्कुलमा पढ्थे । उनीहरू सानै छँदा बाबा बित्नुभयो । आमाले दु:ख गरी हुर्काउनुभएको थियो । दुवै जना पढ्नमा मिहिनेती थिए । दाजु र बहिनी खुबै मिल्थे । सर–मिसले पनि खुबै माया गर्नुहुन्थ्यो उनीहरूलाई । पढाइमा तेज भएकाले रोहनले स्कुलबाट छात्रवृत्ति पनि पाएको थियो ।
रोहनको स्कुलमा भैरव भर्ना भयो । भैरवका बुबा बसाइँसराइ गरी त्यस गाउँमा आएका थिए । भैरवको परिवार धनी थियो । उसले एक दिन रोहनलाई भन्यो, ‘रोहन पल्लो गाउँमा मेला लागेको छ, हिँड हेर्न जाऊँ ।’
‘हुन्न, पढाइ छुट्छ,’ रोहनले भन्यो ।
‘एक दिन पढाइ छुट्दैमा के हुन्छ र ? हिँड न जाऊँ’, भैरवले कर गरेपछि रोहनले नाइँ भन्न सकेन । भैरवका अरू साथी पनि थिए । रोहन उनीहरूकै समूहमा मिसियो । उनीहरू स्कुल छाडेर मेला हेर्न गए ।
मेलामा भैरवले साथीहरूलाई मीठामीठा खानेकुरा किनेर खान दियो । एउटा चुरोट पनि किन्यो अनि सबैलाई पालैपालो खान कर गर्‍यो । रोहनलाई केही दिनपछि भैरवले जंगल घुमाउन लग्यो । स्कुल नगई खोलामा पौडी खेल्न लिएर जान थाल्यो । यसरी भैरवसँग बरालिन थालेपछि रोहनको पढाइ कमजोर हुँदै गयो ।
‘आमा † दाइ त स्कुल नै जानु हुन्न,’ रीताले एकदिन आमालाई भनिन् ।
आमा चिन्तित हुनुभयो । उहाँले रोहनलाई सम्झाउनुभयो । तर, रोहनलाई आमाको कुराले कुनै असर पुर्‍याएन ।
रोहन उसका कक्षाका खराब साथीहरूको संगतमा परेको कुरा सर–मिसहरूले पनि थाहा पाउनुभयो । नियमित स्कुल नआएपछि उहाँहरूले पनि सम्झाउनुभयो । तर, रोहन अब कसैको कुरा सुन्दै सुन्दैनथ्यो । घरमा पनि बहिनी र आमालाई दु:ख दिन्थ्यो ।
परीक्षा आयो । नपढेकाले रोहन फेल भयो । आमा झनै चिन्तित हुनुभयो । स्कुलबाट रोहनको छात्रवृत्ति पनि खोसियो । उसलाई साथीहरू खिसी गर्न थाले । पुरानै कक्षामा दोहोर्‍याएर पढ्न मन लागेन अनि पढाइ नै छाडिदियो । अब ऊ भैरवसँग मिलेर अरूको बगैँचाको आँप, कटहर र काँक्रो चोर्न थाल्यो । खोलातिर माछा र जंगलमा गुलेलीले चरा मार्न रमाइलो मान्न थाल्यो ।
रीता भने स्कुल गइरहेकी थिइन् । उनी पढाइमा खुबै मिहिनेत गर्थिन् । स्कुलबाट प्रतिभाशाली विद्यार्थी भनेर पुरस्कार पाइन् । बहिनीले पुरस्कार पाउँदा रोहनलाई रिस उठ्थ्यो । आमाले भन्नुभयो, ‘छोरी † मैले तिमीहरूलाई पढाउन सकेसम्मको दु:ख गरिरहेकी छु । दाइले त सकेन, तैँले पढेर असल र ठूलो मानिस हुनुपर्छ है ।’
आमाको कुरा सुनेर रीताका आँखाभरि आँसु छचल्कियो । सोचिन्, ‘आमाले हामीलाई कति धेरै माया गर्नुहुन्छ । दाइले किन कुरा नबुझ्नुभएको होला ? किन कसैले भनेको नमान्नुभएको होला ?’
एक दिन रोहन र साथीहरू मिलेर जंगलमा चरा मार्न गए । सबैको हातमा गुलेली थियो । एउटा चरा गुँडमा बसेर बचेराहरूलाई चारो खुवाइरहेको थियो । भैरवले ताकेर गुलेली हान्यो । मट्यांग्रा चराको छातीमा लाग्यो । चरो रन्थनिएर डङ्ग्रङ्ग भुँइमा पछारियो अनि छटपटाउँदै मर्‍यो । आमा–चरी मरेको देखेर बचेराहरू रुन, कराउन थाले । उनीहरू गुँडबाट तल खसे । आमालाई उठाउन खोजे । आमा–चरी उठिन । यो देखेर रोहनलाई नरमाइलो लागेछ, धेरैबेर टोलाइरह्यो । उसले आफ्नी आमालाई सम्झियो । बचेराहरूतर्फ हेर्दै सोच्यो, ‘आमा नहुँदा अब यिनीहरू कसरी बाँच्छन् होला ?’
रोहनको मन एकाएक फेरियो । ऊ गहभरि अाँसु बनाउँदै घर फर्कियो । आमाको काखमा भक्कानिएर रुन थाल्यो । आमाले अत्तालिँदै सोध्नुभयो, ‘के भयो रोहन ? कसैले पिट्यो तिमीलाई ? के भयो भन त ।’
आमाको मायालु स्वर सुनेर रोहनलाई आफ्नो कामप्रति झनै पछुतो लाग्यो । आमा र बहिनीलाई यतिका दु:ख दिँदा पनि आफूलाई त्यति धेरै माया गरेको देखेर उसको चित्त पग्लियो । झन् ठूलो स्वरले रुन थाल्यो । एक छिनपछि उसले आमालाई सबै कुरा बतायो । र, प्रतीज्ञा गर्‍यो– ‘अबदेखि आमा, सर–मिसहरूले भनेको सबै कुरा मान्छु ।’
आमा र दाजुको कुरा सुनिरहेकी रीता खुसीले उफ्रिइन् । भनिन्, ‘आहा † दाजु र म फेरि सँगसँगै स्कुल जाने ।’ आमाले दुवैलाई माया गर्दै अँगालोमा बाँध्नुभयो । अनि भन्नुभयो, ‘तिमीहरू दुवै मेरा आँखाका नानी हौ ।’

प्रतिक्रिया