संसदीय दल एक छः एमाले

काठमाडौं, १३ जेठ । एमालेले संसदीय दल र आफ्ना सभासदको एकतालाई लिएर भएका टिकाटिप्पणी तथा समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानका लागि संविधानसभामा एकताबद्ध भएर जाने निर्णय गरेको मुख्य सचेतक भीम आर्चायले बताए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘पार्टी र संसदीय दल एकताबद्ध रहिरहेनेछ, हाम्रो आन्तरिक एकतालाई कमजोर पार्ने हरेक प्रकारका षड्यन्त्रहरुलाई परास्त गर्न सिङ्गो दल दृढ संकल्प व्यक्त गर्दछ ।’
जनजाति सभासदले जातीय राज्यका पक्षमा पार्टी नीति उलंघन गर्ने समाचार प्रकासित भएपछि एमालेले असन्तुष्टि जनाएको हो ।
मुलुकका सामु संविधानसभाबाट संविधान निर्माण गर्नु बाहेक अर्को कुनै सकारात्मक विकल्प नरहेको भन्दै एमालेले एमाओवादीको आत्मपरक हठका कारणले गर्दा संविधान जारी गर्ने संभावना कमजोर हुँदै गएको आरोप लगाएको छ ।
न्युनतम समय छदैं सवै विवादित विषयहरुमा सहमति निर्माण हुन सकेन भने सहमतिका विषयहरुलाई उल्लेख गरेर संविधान जारी गर्नु पर्ने एमालेको धारणा छ । उसले बाँकी रहेका विवादित विषयहरुलाई टुंगोमा पुराउने जिम्मेवारी रुपान्तरित व्यवस्थापिका–संसदलाई हस्तान्तरण गर्न सबैलाई आव्हान पनि गरेको छ ।
बैठकमा जनजाति सभासले पार्टीले जातीय पहिचान सहितको संघीय राज्यका पक्षमा अडान नराखेको भन्दै नेतृत्वको विरोध गरेका । नयाँ संविधान जारी नभएको अवस्थामा सरकारलाई के गर्ने भन्ने बारेमा छलफल गरिएको बैठकमा अविस्वासको प्रस्ताव ल्याउनेमा पनि परामर्श भएको सभासदहरुले बताएका छन् ।
यद्यपी ती विषयहरुमा बैठकमा कुनै ठोस सहमति भने हुन सकेन छ ।

प्रतिक्रिया