ढुकुटी बन्दै छ गलपासो

काठमाडौ, १३ जेठ । ढुकुटी खेल्दा डुबेपछि मोरङ विराटनगरका ३१ वर्षीय नारायण अधिकारी कपन–३ स्थित आफू बस्ने फ्ल्याटको बाथरुममा झुन्डिए, तर पत्नीले चाल पाएर उनलाई बचाइन् । गत आइतबार सुन्धारास्थित पार्कमा भेटिएका अधिकारीले आफ्नो पीडा सुनाउँदा आँखामा आँसु थामिएका थिएनन् । उनले डाँको छाडेर रुँदै भने, ‘आत्महत्याबाट त बचेँ, तर मलाई अरूले बाँच्न दिँदैनन्, अब के गराँ ?’

दुई वर्षदेखि ढुकटीको लतमा परेका उनको ऋण अहिले डेढ करोड पुगेको रहेछ । कपनमा जोडिएको तीन आना जग्गा पनि उनले बेचे । काठमाडौ मलस्थित कस्मेटिक सामग्रीको होलसेल पसल पनि बेचे । उनीसँग अब आम्दानीको स्रोत केही छैन ।
‘श्रीमती र पाचवर्षीय छोरालाई खान दिने पैसासमेत छैन,’ उनले भने, ‘ऋण उठाउन भन्दै घरमा दिनहँ कोही न कोही आउँछन्, फोन र एसएमएसबाट आउने धम्की त झन् कति हो कति ।’ मोबाइलको मेसेज बक्समा मार्ने धम्कीसहितका दर्जनाँै एसएमएस उनले देखाए  ।

गत शनिबार उनलाई ढुकुटीका पार्टनर विमला वलीका भाइ हिक्मत थपलियाले बानेश्वरस्थित ‘बाजेको सेकुवा कर्नर लग्छु’ भनेर पिंगलास्थानस्थित कार्की किचेन लगे । किचेनमा विमलासहित गंगा सेढाईं, रमेश वली र एक वकिल उनलाई कुरिरहेका थिए । केही क्षणपछि उनलाई किचेनकै कोठामा लगियो, ढोका लगाइयो । सबै मिलेर मरणासन्न हुने गरी कुटे ।
‘अनि कागजमा जबर्जस्ती ल्याप्चे लगाउन लगाए र गौशाला ल्याएर छाडे,’ अधिकारीले भने । शरीरभर निलडाम लिएर उनी गौशाला प्रहरी प्रभागमा लड्खडाउँदै उजुरी गर्न पुगे तर प्रहरीले उजुरी लिएन । ‘प्रहरीकहाँ जाऊँ, उजुरी नलिने, ऋण तिर्न पैसा छैन,’ उनले भने, ‘अब मर्नेबाहेक के विकल्प रह्यो !’
अधिकारीभन्दा फरक छैन, घट्टेकुलोकी ३२ वर्षीया शर्मिला महाजु राईको अवस्था । उनले ढुकुटी खेलेको पाँच वर्ष भयो । यस अवधिमा उनले तिर्नुपर्ने रकम डेढ करोड पुगेको छ । रकम माग्न दिनहँु घट्टेकुलोस्थित ब्युटिपार्लरमा ढुकुटी पार्टनर आउँछन्, पैसा तिर्न नसक्दा मार्ने धम्की दिन्छन् । तनाब बढेपछि केही साताअघि उनले पनि आत्महत्याको कोसिस गरिन् । ‘१२ वर्षको छोराले ‘मम्मी’ भनेको सुनेपछि त्यसो गर्न सकिनँ,’ उनले भनिन् ।
ढुकुटीले आफूलाई सिध्याएको तीतो यथार्थ सुनाउँदै उनी भक्कानिइन् । केही बेरमा रोकिएपछि उनले भनिन्, ‘मलाई त मार्न लागे, अब त ज्यान बचाउनै गाह्रो भयो, प्रहरीले पनि उजुरी लिँदैन, अब म के गराँै ?’
‘ढुकटी ममी’का नामले चिनिने न्युरोडकी ६५ वर्षीया शारदा बस्नेतले पनि गत साता आत्महत्याको प्रयास गरिन् । उनले लामो समयदेखि सरस्वतीनगरस्थित घरमा ढुकुटी सञ्चालन गर्दै आएकी थिइन् । उनले अहिले दुई करोड रुपियाँभन्दा धेरै रकम तिर्न बाँकी छ । ढुकुटी पार्टनरको बारम्बारको तनाबपछि उनले आफ्नै घरमा आत्महत्याको प्रयास गरेकी थिइन् । घरकै सटरमा पसल गर्दै आएकी अनुपा थापाले थाहा पाएपछि उनलाई उपचारका लागि तत्काल अस्पताल लगियो । उनको अहिले ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
ढुकटीकै कारण आत्महत्या गर्ने प्रयासमा थिइन्, शंखमूलकी मीरा शाक्य पनि । एक करोड रुपियाँ ढुकटीमा डुबेपछि उनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । परिवारका सदस्यले उनको हर्कत थाहा पाएपछि मात्रै उनी बाँचेकी हुन् । उनले विष सेवन गरेकी थिइन् ।
ललितपुरको जावलाखेलस्थित नाम्लो रेस्टुरेन्टका सञ्चालक पुष्पा भट्टराई र उनका पति उदय ढुकुटीका कारण तनाबग्रस्त भई व्यवसायबाटै पलायन भएका छन् । उनीहरूले ढुकुटीमा डुबेको दुई करोड रुपियाँभन्दा धेरै रकम तिर्न बाँकी छ ।
यसअघि ढुकुटीकै कारण धादिङ थाक्रे–७ की ४२ की वर्षीया भवानी तामाङले आत्महत्या गरेकी थिइन् । उनले महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमै आत्महत्या गरेकी हुन् । कपनका हेमन्त केसीले पनि ढुकुटीमा डुबेको रकम तिर्न नसकेपछि आत्महत्या गरेका थिए । उनले करिब एक करोड रुपियाँ तिर्न बाँकी थियो ।
केही वर्षयता ढुकुटीमा अर्बौं रुपियाँ कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ तर ढुकुटीका खेलाडी स्वयम्् नै आत्महत्या गर्ने स्थितिमा पुग्नाले अवस्था निकै संवेदनशील भइसकेको बुझ्न सकिन्छ । यसलाई तत्कालै सम्बोधन गर्न सरकार र सम्बन्धित निकायले कदम चाल्नु आवश्यक छ ।

यसकारण ढुकुटी गैरकानुनी हो
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली
सामान्य अर्थमा निश्चित आपसी समझदारीका आधारमा नियममा रही एउटा समूहभित्र रकमको कारोबार गर्नु ‘ढुकुटी’ हो । यसमा समूहको नेतृत्व एक व्यक्तिले गर्छ र सबै सदस्यले तोकिएको रकम उठाएर जम्मा गर्छन् । समूहभित्रका कोही सदस्य भागेमा वा कारणवश पैसा जम्मा गर्न नसक्ने अवस्थामा पुगे त्यसको जिम्मा र दायित्व लिडरले बेहोर्ने सहमति हुन्छ । तोकिएको समयमा समूहका सदस्य जम्मा हुन्छन् र निश्चित नियमका आधारमा उनीहरूबीच रकम लिने र दिने काम हुन्छ ।
समूहभित्र हुने रकम लेनदेन बैंकिङ भाषामा भन्दा निक्षेप संकलन र ऋण प्रवाह हो । राष्ट्र बैंक ऐनको दफा ७६ अनुसार निक्षेप संकलन र ऋण प्रवाह गर्ने अधिकार बैंक तथा वित्तीय संस्थालाई मात्र हुन्छ । यस प्रकारका गतिविधि अन्य निकायबाट भएमा त्यसले बैंकिङ ऐन उल्लंघन गरेको ठहरिन्छ । ढुकटीमा निक्षेप संकलन र ऋण प्रवाह हुने भएकाले यो गैरकानुनी धन्दा हो ।
कानुनी प्रक्रियामा जाँदा ढुकुटी सरकारवादी मुद्दा हो । यसको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई हुन्छ, बैंकलाई होइन । यसलाई मुलुकी ऐनको ठगी महलअन्तर्गत रहेर पनि कारबाही गर्न सकिन्छ ।

प्रहरी दलदलमा फस्न चाहँदैन
उपेन्द्रकान्त अर्याल
नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख
ढुकुटी खेल्नु–खेलाउनु गैरकानुनी हो । यस धन्दामा ठूलो परिमाणमा रकम लिने र दिने काम हुने भएकाले यो बैंकिङ कसुरअन्तर्गत पर्छ । समूहमा आबद्ध सदस्यमध्ये कसैले बेइमानी नगरेसम्म कसैको पनि रकम डुब्दैन । तर, जब बेइमानी सुरु हुन्छ, रकम डुब्ने निश्चित हुन्छ । ढुकुटीमा बेइमानी हुनु भनेको कबुल गरेको रकम नतिर्नु या भाग्नु हो । नतिर्नु वा भाग्नु भनेको ठगी गर्नु हो ।
यस धन्दामा संलग्न हुनेमध्ये ठगिने र ठग्ने दुवै कानुनी रूपमा कसुरदार हुन्छन् । त्यसैले एक त कानुनी झमेलामा फसिने डरले ठगिनेहरू प्रहरी कार्यालयमा उजुरी दिनै मान्दैनन् । दिइहाले पनि लेनदेन गरिएकोबारे कुनै प्रमाण हुँदैन । यसो हुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन हुन्छ । आपसी समझदारीमा खेलिने भएकाले प्रहरीले पक्राउ गरे पनि छुटाउनका लागि समूहकै सदस्य प्रतिकारमा उत्रिन्छन् । एकातर्फ उजुरी नआउने, अर्कातर्फ समूहका सदस्यबाट प्रतिकार हुने मात्र नभई लेनदेनका समेत कुनै प्रमाण नहुनाले भएकाले प्रहरी यो दलदलमा फस्न नचाहेको हो ।

प्रतिक्रिया