भुल सुधार्ने धुनमा बोल्ट

ओस्ट्राभा (चेक गणतन्त्र) : आसन्न लन्डन ओलम्पिक खेलकुदमा जमैकन धावक युसान बोल्टले आफ्नो धावन शक्तिमा रहेको एक मात्र कमजोरी निकटभविष्यमै सुधार्ने आशा राखेका छन् । उनको त्यो कमजोरी दौड सुरु गर्ने समय ‘स्टार्ट’ मा रहेको छ । तमाम प्रतियोगितामा उनले स्वर्णपदक जिते पनि राम्रो सुरुआत गर्न सकेका छैनन् । त्यसैले उनले लन्डन ओलम्पिकमा दौडको सुरुआतलाई सुधार गर्ने प्रयास गर्नेछन् ।
एक सय र दुई सय मिटर दौडमा विश्वकीर्तिमान कायम गरेका बोल्ट आफूले तय गरेको सबैभन्दा छिटो समयलाई नै पनि थप सुधार गर्ने प्रयासमा छन् । ‘फेरि विश्वकीर्तिमान हुनुपर्छ,’ चेक गणतन्त्रको ओस्ट्राभामा शुक्रबार हुने ‘गोल्डेन पिक मिट’ मा सहभागी हुनुअघि बोल्टले भने, ‘सुरुआतमै अहिले म मिहिनेत गरिराखेको छु । म अहिले अघिल्ला भिडन्तको समीक्षा गरेर के सुधार गर्न सकिन्छ भनेर बुझिराखेको छुु । तयारीका क्रममा मेरो सुरुआत तुलनात्मक रूपमा छिटो भइरहेको छ । यसमा प्रशिक्षक र म दुवै खुसी छौं ।’
गत वर्ष दक्षिण कोरियाको दायगुमा सम्पन्न विश्व च्याम्पियनसिपमा ‘फल्स स्टार्ट’ का कारण बोल्ट अयोग्य घोषित हँुदै पदकबाट आफैले वञ्चित गराएका थिए । ‘मलाई थाहा छ मैले किन सुरुआत गरेको थिएँ,’ विश्व च्याम्पियनसिपका दौरान भएको गल्तीबारे उनको भनाइ थियो, ‘मलाई लाग्दैन, यो लन्डन ओलम्पिकमा दोहोरिनेछ ।’
लन्डन ओलम्पिकमा एक सय र दुई सय मिटर दौडमा बोल्टलाई स्वर्णपदकको बलियो प्रत्यासीका रूपमा हेरिएको छ । यद्यपि जमैकाकै अर्का धावक योहान ब्ल्याक, अमेरिकन गेट्लिनलगायत धावकले उनलाई कडा चुनौती दिन सक्ने अनुमान गरिएको छ । ‘लामो समयदेखि म राम्रो लयमा छु, कसैले मलाई पराजित गर्न सकेको छैन,’ बोल्टले भने, ‘मलाई के आवश्यक छ त्यसैमा म अहिले केन्द्रित छु । मलाई थाहा छ विजेता हुन के आवश्यक छ, त्यसैमा म अहिले ध्यान पुर्‍याइरहेको छु ।’
शुक्रबार हुने ओस्ट्राभा मिटमा उनले एक सय मिटर दूरीमा रहेको आफ्नो कीर्तिमान तोड्न सक्ने सम्भावना कम रहेको बताइन्छ । चार वर्षअघि सम्पन्न बेइजिङ ओलम्पिकमा उनले एक सय मिटर दूरी ९.५८ सेकेन्डमा पूरा गरी विश्वकीर्तिमान बनाएका थिए ।
ओस्ट्राभामा उनी लगातार छैटौंपटक सहभागी हुँदैछन् । यस वर्ष एक सय मिटर दूरीमा उनको सबैभन्दा छिटो समय ९.८२ सेकेन्ड छ । उनले लन्डन ओलम्पिकअघि रोम र नर्वेमा हुने डायमन्ड लिगमा पनि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै लन्डन ओलम्पिकअघि उनको अन्तिम युरोपियन प्रतिस्पर्धा मोनाकोमा हुने डायमन्ड लिग नै हुनेछ तर यसमा उनको सहभागिता अझै निश्चित भइसकेको छैन । (एजेन्सी)

प्रतिक्रिया