युरोको तयारीमा इटाली


मिलान, १२ जेठ । विश्वकप फुटबलमा ब्राजिलपछि दोस्रो सफल राष्ट्र इटालीले महादेशीय प्रतियोगितामा भने राम्रो प्रदर्शन गर्न सकेन । साविक विजेताको हैसियतले सन् २०१० को विश्वकपमा खेलेको इटालीले कमजोर प्रदर्शनसँगै आफ्नो साख गुमाएको थियो । त्यही गुमाएको साख फिर्ता गर्ने अभियानमा अहिले इटाली रहेको छ । ४४ वर्षपछि युरोकपको उपाधि जित्ने अभिलाषासहित प्रतियोगिताको तयारीमा रहेको इटालीले पहिलो चरणबाट नै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ जसमा उसले विश्वविजेता स्पेनका साथै आयरल्यान्ड र क्रोएसियाको सामना गर्नेछ ।
अहिले सिजर पाल्ड्रिनीको प्रशिक्षणमा रहेको इटाली टोलीमा सायद भेट्रान मिडफिल्डर आन्द्रेइ पिर्लो नै सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन सक्नेछन् । युभेन्ट्सले इटालियन सेरी ए उपाधि जितेलगत्तै पिर्लोले आफूले कुनै पनि समयमा खेलको दिशा मोड्न सक्ने चेतावनी अन्य टोलीलाई दिएका थिए । पिर्लो मार्सेलो लिप्पीलाई प्रतिस्थापन गर्दै टोलीको जिम्मा पाएका प्रशिक्षक पाल्ड्रिनीले दिलाएका सफलताकै कारण इटालीले युक्रेन र पोल्यान्डमा संयुक्त रूपमा आयोजना हुने यो युरोकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ ।
समूहमा रहेका टोलीसँग खेलेका पछिल्ला खेलमा इटालीको परिणाम मिश्रित रहेको छ । २००७ जुनमा आयरल्यान्डसँग मैत्रीपूर्ण खेलमा पराजय भोगेपछि पाल्ड्रिनीको प्रशिक्षणमा अपराजित यात्रा नौ खेलमा टुंगिएको थियो । यसैगरी स्पेनसँग २०११ अगस्टमा भएको मैत्रीपूर्ण खेलमा इटाली २–१ ले विजयी भएको थियो । पूर्वप्रशिक्षक मार्सेलो लिप्पीबाट खासै अवसर नपाएका मिलानका फरवार्ड एन्टेनियो कासानो र एन्टेनियो डी नाटाले र पेरिस सेन्ट जर्मनका थिएगो मोटालाई नै पाल्ड्रिनीले अत्यधिक उपयोग गर्नेछन् ।
चारपटकको विश्वकप विजेता इटाली युरोकपमा भने दुर्भाग्यशाली ठहरिएको छ । पछिल्लो संस्करणमा टाइब्रेकरमा स्पेनसँग पराजित इटालीले युरो–२००० को फाइनलमा पनि अन्तिम २० सेकेन्ड अग्रतालाई कायम राख्न नसक्दा फ्रान्सलाई उपाधि सुम्पिएको थियो । पहिलो सहभागितामा नै उपाधि जितेको इटाली सन् १९६० मा सहभागी भएको थिएन भने १९६४ मा छनोटचरणमा असफल भएको थियो ।
सदैव रक्षात्मक खेलका लागि परिचित इटाली अहिले भने फरक अवस्थामा रहेको छ । सन् १९९० को दशकमा उदाएका स्टाररक्षक फ्रान्को बारेसी र पाउलो माल्दिनीको युगपछि इटालीको रक्षापंक्ति अलेजान्द्रो नेस्टाको सेरोफेरोमा लामो समय रहयो । कुनै समय एकसे एक गोलरक्षकका लागि परिचित इटालीसँग अहिले त्यो अवस्था पनि छैन । उत्कृष्ट रक्षात्मक खेलका लागि परिचित इटाली सन् २००६ मा विश्वकप उपाधि जिते पनि रक्षकहरूको त्यो स्तरीयता घटेपछि २०१० को विश्वकपमा समूहचरणमा न्युजिल्यान्डभन्दा पनि पछि रहँदै समूहको पुछारमा परेको थियो । युभेन्ट्स भेट्रान जियानलुईका बुफोन नै यसपटक पनि पहिलो रोजाइको गोलरक्षक हुन सक्नेछन् ।
टोटनहामका स्कट पार्करसँग इङलिस प्रिमियरसिपको खेलमा मैदानमै हात हालाहालको अवस्था भएपछि पाल्ड्रिनीले अनुशासनको कारबाही स्वरूप राष्ट्रिय टोलीबाट बाहिर राखेका मारियो ब्यालोतेली फेरि टोलीमा फिर्ता बोलाइएका छन् । उनी र कासानाको अग्रभागको जोडी आसन्न युरोकपमा पनि खतरनाक हुन सक्ने अपेक्षा गरिएको छ । मुटुको शल्यक्रियापछि फेरि खेलमा फर्केका कासानोप्रति इटाली वृत्त अझ बढी आशावादी रहेको छ । रुबेन काजानका मिडफिल्डर साल्भाडोर बोचेटी आसन्न युरोकपमा छाउन सक्ने मिडफिल्डर हुन् । एजेन्सी

प्रतिक्रिया