भाषाको फूलबारी


सञ्चारको आधार हो, भाषा । थुप्रै समाज र देशका आ–आफ्नै भाषा छन् । आफ्नी आमाले सिकाएको भाषासँग विश्वभरका मान्छेले बोल्ने भाषा नमिलेपछि हामी भाषामा विविधता देख्छौँ । अनि केही कठिनाइ पनि । यस्तो परिस्थिति आएको छ, बढीभन्दा बढी भाषा जान्नुले अवसरहरूको बाटो खोलिदिन थालेको छ । ‘ग्लोबलाइजेसन’को यो जमानामा विदेशी भाषा नसिकी धरै छैन नयाँ पुस्तालाई पनि । अनि भाषिक अध्ययनको प्यास मेटाउने थलो बनेको छ, राजधानीको विश्वभाषा क्याम्पस ।
केही वर्षअघि चीन घुम्न निस्केका थिए, प्रकाश रावल । बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलको होटलमा उनलाई चिनी माग्दा नुन पो दिइयो । ‘चिनियाँहरू अंग्रेजीभाषा उति जान्दैनन्, भाषाको समस्याले मलाई त्यस्तो समस्या पर्‍यो’, रावलले सम्झिए, ‘त्यही कुराले मलाई छोयो र नेपाल आएर चाइनिज भाषा पढ्न थालेँ ।’ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पसमा अहिले झन्डै तीन हजार पाँच सय विद्यार्थी भाषा सिकिरहेका छन् । तीमध्ये धेरैले अंग्रेजी पढ्छन् । अनि अरू विभिन्न भाषा सिक्नेको पनि घुइँचो हुन्छ । साधारण क्याम्पसमा जस्तो निश्चित वर्ष लगाएर पढ्न नपर्ने त्यस क्याम्पसमा फुर्सदिलो समय सदुपयोग गर्न पढ्नेहरूको लहर छ । एसएलसी पास गर्नासाथ पढ्न पाइने हुनाले पनि विद्यार्थीको सजिलो पहुँच बनेको छ, भाषा अध्ययन ।
धापासीका गोपालप्रसाद अर्याल केही वर्षअघि कोरिया पुगे । तर, उनलाई कोरियन भाषाको कुनै ज्ञान थिएन । भाषाको समस्याले कोरियनहरूसँग काम गर्न निकै असजिलो भएछ । उनले त्यहाँ उठबसको क्रममा बोल्नलाई त कोरियन भाषा जाने तर ‘लेटर’को ज्ञान भएन । ‘म विश्वभाषामा आएर कोरियन सिकेर फेरि कोरिया गएँ, त्यसपछि मलाई निकै सजिलो भयो,’ उनले बताए । धुम्बाराहीका गणेश सिंह स्पेनिस भाषा सिक्दै छन् विश्वभाषामा । ‘स्पेनिसलाई संयुक्त राष्ट्रसंघले अंग्रेजीपछिको दोस्रो मान्यता दिएकाले पनि पढ्न रहर जाग्यो मलाई,’ उनले भने । उता कौशलटारकी बिनिता ढकाल पनि ब्याचलर सिध्याएपछिको फुर्सदको समय सदुपयोग गर्दै स्पेनिस सिकिरहेकी छिन् विश्वभाषामा । भन्छिन्, ‘इन्ट्रेस्टले गर्दा नै स्पेनिस पढेकी हुँ, अरू खासै उद्देश्य छैन ।’ त्यसो त प्राय: विद्यार्थीको भाषा सिक्ने उद्देश्य अवसरलाई समात्ने नै हुने दाबी छ ठमेलका पूर्णकाजी प्रजापतिको । ‘मैले जापनिज सिकेर गाइडको काम गर्नु छ, अरूको पनि यस्तै कुनै प्रयोजन हुन सक्छ,’ उनले बताए ।
आफूले सिकेको भाषासँग सम्बन्धित देशबारे पनि यी विद्यार्थी उत्तिकै चासो राख्नेरहेछन् । हाँडीगाउँकी पवित्रा खड्का भन्छिन्, ‘म जर्मन भाषा सिकिरहेकी छु, जर्मनीबारे जान्ने कौतूहल भइ नै हाल्छ ।’ वल्र्ड कप, ओलम्पिक गेम हुँदा आफूले भाषा सिकेको देशकै पक्षमा समर्थन हुन्छ रे उनीहरूको । जापनिज सिकिरहेका क्षेत्रपाटीका पोषकान्त न्यौपाने भन्छन्, ‘मेरो समर्थन त जापानलाई हुने भइहाल्यो नि ।’ गोपालचाहिँ यस मामिलामा फरक धारणा राख्दा रहेछन्, ‘भाषा सिक्दैमा त्यही देशको समर्थन गर्नुपर्छ भन्ने होइन, गत वल्र्डकपमा मैले कोरियाको सपोर्ट गरिनँ ।’
इन्स्टिच्युटमा जस्तै केही महिनामै कोर्स त सकिइ नै हाल्छ तर विश्वभाषा क्याम्पसबाट पाइने प्रमाणपत्रको मान्यता छुट्टै छ । सानो अवधिको यो जमघटमा पनि साथीहरूबीचको सम्बन्ध अन्य क्याम्पसको जस्तै होला त ? । ‘सम्बन्ध त झन् प्रगाढ हुने रहेछ, हाम्रो इन्ट्रेस्ट पनि मिलेर होला,’ उनीहरूको एउटै जवाफ थियो । उनीहरू पिकनिक, र्‍याफ्टिङलगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि सँगै हुन्छन् रे । त्यहाँ पढ्ने प्राय:लाई विभिन्न भाषामा अभिवादन गर्दा बोलिने शब्द पनि आउने रै’छ । चाइनिज भाषा पढ्ने कसैले ‘निहाऊ’ भन्यो भने जापनिज पढ्दै गरेका पूर्णकाजी ‘कोनिचिवा’ भनिहाल्छन् । उता बिनिता र गणेशचाहिँ स्पेनिसमा ‘ओला’ भन्छन् । अनि पवित्राचैँ ‘गुटेन ट्याग’ भन्दै जर्मन अभिवादन फर्काउँछिन् ।
विश्वभाषा बिन्दास कलेज हो । न त अरू कलेजजस्तै टन्नै टेक्स्ट बुक पढ्नुपर्ने झन्झट न त एउटै उमेरसमूहका पुस्तालाई भेट्दाको ‘मोनोटोनस’ । भर्खर एसएलसी पास गरेकी छोरी र कुनै मन्त्रालयमा उच्च ओहोदामा रहेका बाबु एउटै कक्षामा बसेर पढ्न यही कलेजमा सम्भव छ सायद । अर्को महत्त्वपूर्ण कुरा विश्वका मुख्य भाषाहरू मात्र युनिभर्सिटीको छातामुनि पढाइने दक्षिण एसियाकै एक मात्र क्याम्पस पनि हो विश्वभाषा क्याम्पस । त्यसैले त यहाँ विदेशी विद्यार्थीको पनि उत्तिकै आकर्षण छ ।

प्रतिक्रिया