समाजसेवामा सन्तुष्टि


सिर्जनशीलता स्वभाव हो युवाको । सोही स्वभाव जब क्रियाकलापमा छचल्किन्छ, समाज सुन्दर दिशातर्फ लक्षित हुन्छ । चाहे क्लब होस् या समूह, त्यसमा संगठित भएर सिर्जनशीलतातर्फ लागियो भने आफ्नो व्यक्तित्व त विकास हुन्छ नै, समाजमा पनि केही परिवर्तन हुने गर्छ । यही परिवर्तनलाई आत्मसात् गर्न कस्सिएका कैयौँ युवाको भिडमा पर्छ दमौलीको एउटा युवा समूह । उनीहरूको उत्साह भने एउटा अन्तर्राष्ट्रिय क्लबमा संगठित भएको छ । विश्वभर दुई लाखभन्दा बढी सदस्य रहेको अन्तर्राष्ट्रिय क्लब रोटर्‍याक्टको हाँगामा गाँसिएका दमौलीका केही ठिटाठिटीहरू ।
तनहुँका २४ वर्षे ठिटा विष्णुकान्त घिमिरे एकवर्षअघि नै रोटर्‍याक्ट क्लब अफ दमौलीको अध्यक्षमा चुनिएका हुन् तर उनी भर्खरै आएर मात्र क्लबलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाउनमा व्यस्त छन् । ‘हाम्रो नियमअनुसार एक वर्षअघि नै पदमा चुनिए पनि काम गर्नलाई पर्खनुपर्छ र कार्यकाल पनि ठ्याक्कै एक वर्षको हुन्छ,’ उनले भने । विश्वका सात हजार आठवटा क्लबको कार्यअवधि एकैपटक सुरु भएर एकैपटक सकिन्छ । यस क्रममा महिनामा दुईपटक बैठक बस्ने नियम रहेछ युवाको । बैठकमा सदस्यहरूबाट उठाएको पैसाले सामाजिक काम पनि गर्छन् रे उनीहरू । वातावरणीय सरसफाइका लागि भन्दै उनीहरूले एउटा रोचक अभियान सुरु गरेका रै’छन्– ‘सुइरो अभियान ।’ यसअन्तर्गत दमौली बजारको प्रत्येक घरमा एउटा सुइरो आकारमा छडी झुन्ड्याइएको हुने रै’छ । सबैले प्रयोग गरेका प्लायास्टिक त्यही सुइरोमा घुसाएर राखिदिनुपर्ने । संकलित प्लायास्टिकलाई यी युवाले व्यवस्थापन गरिदिँदा रहेछन् ।
क्लब–क्लब मीत लगाउने चलन पनि छ युवाको यो संगठनभित्र । दमौलीको क्लबसँग काठमाडौं डिल्लीबजारको क्लबले मीत लगाएको रहेछ । उनीहरू आ–आफ्ना कार्यक्रम र सहकार्य सेयर गर्दा रहेछन् । समाजसेवमा उत्कृष्ट क्षमता देखाएकाले यी दुई क्लबले टुविन्स क्लब अवार्ड पनि हात पारेका रहेछन् । ‘मित्रताको माध्यमबाट सहकार्य र सामाजिक कार्य गर्छौं हामी,’ डिल्लीबजार रोटर्‍याक्टका अरुण भट्टराईले भने ।
उनीहरू स्वत:स्फूर्त रूपमा आफैँ कार्यक्रम बनाउँछन् र समाजमा जान्छन् । त्यही सिलसिलामा उनीहरू दमौली जेलमा पनि ‘रेडियो सेट’ लिएर गएका थिए । उनीहरूको उद्देश्य थियो, सूचनाबाट वञ्चित कैदीहरूलाई रेडियो सेट दिने । प्रर्यटन प्रवद्र्धन गर्न भन्दै सिद्धगुफामा गएर पनि बैठक बसे उनीहरू । चण्डेनी पीपलबोट भन्ने ठाउँमा होमस्टे भिलेज चलाउन कम्मर कसेर लागिपरे । उनीहरूको प्रयासले मूर्तता पनि पाएछ, थप हौसिएका छन् ।
समाजसेवालाई बुढ्यौलीमा गर्ने कर्मका रूपमा सोच्नेहरूका लागि नयाँ पुस्ताको यो समाजकर्म गतिलो जवाफ हुन सक्छ । आफ्नो अध्ययनदेखि करियरको पाटो सँगसँगै समाजसेवालाई लिएर हिँडेका यी तन्नेरीहरू उत्साहित देखिन्छन् । ‘रोटर्‍याक्ट’ त उनीहरूको माध्यम मात्र हो । आखिर सिर्जनशीलता प्रस्फुटन हुने ठाउँ त हुनैपर्‍यो नि ।

प्रतिक्रिया