नेपाल आउँदै ग्यालेक्सी एसथ्री


‘ग्यालेक्सी एस थ्रीको’ चर्चाले विश्वबजार तातिरहेको छ । नेपाली उपभोक्ताले पनि बहुप्रतीक्षित प्रविधिको स्वाद चाख्न पाउने भएका छन्, केही समयमै यो नेपाल भित्रँदै छ । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको उत्पादन ‘ग्यालेक्सी एस थ्री’लाई प्रविधिजगत्मा विशेष चासोसाथ हेरिँदै आएको छ । यो स्मार्टफोनमा उपलब्ध हुने बताइएको विशेषताले नै यसले सबैको ध्यान तानेको हो । विश्व बजारमा भर्खरै सार्वजनिक गरिएको यो स्मार्टफोन असारको अन्तिम सातातिर नेपाल आउने बताइएको छ । सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सभिर्सेज प्रालिले यो स्र्माटफोनलाई नेपाली उपभोक्तामाझ परिचित गराउन लागेको हो ।
एसटुमा भन्दा केही विशेषता थपिएको यो फोनमा क्वाड कोर प्रोसेसर रहेको छ । फुल एचडी क्यामरासहितको विशेषताका कारण उपभोक्ताले उच्च गुणस्तरको भिडियो तथा फोटो खिच्न सकिने सुविधा पाउनेछन् । स्मार्ट स्टे सुविधा रहेको यसले प्रयोगकर्ताको आँखालाई ट्रयाक गर्छ, जसबाट प्रयोगकर्ताले हेरुन्जेलसम्म यसको स्क्रिन अफसमेत हुँदैन । यसको अर्को आर्कषक विशेषता भनेको फोन आउँदा पनि किप्याड थिचिरहनुपर्ने झन्झट नहुनु हो । सिधै कानमा लगाउनासाथ फोन उठिहाल्छ । नेपाली बजारमा यो फोनको मूल्य ६७ देखि ६८ हजार रुपियाँसम्म पर्ने अनुमान गरिएको बताइन्छ । दुईवटा सिमकार्ड डिस्प्ले गर्न सकिने यो फोनका अरू विशेषता पनि नयाँ हुनेछन् । चार गिगाहर्जको कोर प्रासेसर रहेको यसमा १६ देखि ३२ जिबीसम्मको इन्टर्नल मेमोरी पनि छ । आठ मेगापिक्सलको क्यामराबाट स्तरीय तस्बिर प्राप्त गर्न सकिन्छ । सबै काम प्रविधिले नै गर्न सक्ने यो जमानामा यो स्मार्ट फोनलाई उच्चतम उपलब्धिका रूपमा हेर्न सकिन्छ ।

प्रतिक्रिया