९९ सवारीसाधन तोडफोड

वीरगन्ज : बृहत् मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा गरेको बन्दमा ९९ वटा सवारीसाधनमा तोडफोड गरेका छन् । मोर्चा कार्यकर्ताले वीरगन्जको गण्डक चोक, ड्राइपोर्ट चोक, परवानीपुर, चिनीमिल आवास क्षेत्र, बाइपासलगायत स्थानमा ठूला सवारीसाधनमा तोडफोड गरेका हुन् । तोडफोड भएका सवारीसाधनमा बढी मालबाहक ट्रक, कन्टेनर र टयांकर छन् । वीरगन्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट मालसामान बोकेर गन्तव्यतर्फ जाने मालबाहक सवारीसाधन बन्दकर्ताको निसानामा परेका हुन् ।
बुधबार राति वीरगन्ज ड्राइपोर्ट चोकमा २२ वटा र गण्डक चोकमा पाँचवटा मालबाहक ट्रक र कन्टेनर तोडफोड गरिएको थियो । आइतबार रातिमात्रै बन्दकर्ताले ३८ ठूला सवारीसाधनमा तोडफोड गरेका थिए । मधेस बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले आइतबार राति परवानीपुरमा प्रहरीले स्कर्टिङ गरेर लैजाँदै गरेका दुई यात्रुबाहक बस र १५ वटा मालबाहक ट्रक तोडफोड गरेका थिए । बन्दकर्ताले परवानीपुरको अमृत घ्यू उद्योग अगाडि १८ वटा र पदमरोडमा तीनवटा भारतीय मालबाहक सवारीसाधन तोडफोड गरेका हुन् ।
लगातार तोडफोड भएपछि यातायात व्यवसायीले प्रहरीले पर्याप्त सुरक्षा दिन नसकेको नारायणी ट्रक व्यवसायी संघका अध्यक्ष प्रमोद राउत कुर्मीले बताए । तर, पर्साका एसपी पिताम्बर अधिकारीले बन्दमा प्रहरीले मालबाहक ट्रक र सवारीसाधन रातका समयमा स्कर्टिङ गरेर गन्तव्यमा पठाउने गरेको बताए । (सौस)

प्रतिक्रिया