खेलकुद नीति छ, कार्यान्वयन छैन : मन्त्री पोखरेल

काठमाडौं, ११ जेठ । युवा तथा खेलकुदमन्त्रीको कार्यभारसमेत सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले खेलकुद मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयमा कार्यभार सम्हाल्न पुगेका मन्त्री पोखरेलले ‘खेलकुद स्वत:स्फुर्त छाडिएको र खेलकुदलाई चलाउने नीति बनेको भए पनि कार्यान्वयन नभएको’ विचार व्यक्त गर्दै अगाडि भने, ‘जबसम्म सरोकारवालासम्म नीति पुग्न सक्दैन, तबसम्म राम्रो नीति भए पनि कुनै अर्थ राख्दैन ।’
खेलकुद क्षेत्रलाई पारदर्शी, विधिसम्मत बनाउँदै सरोकारवालाको पहँचसम्म पुर्‍याउनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए । खेलकुदमा जित हुँदा पनि सबैको जित हुने र हार्दा समग्र राष्ट्रले हार्ने हुँदा खेलकुद क्षेत्रलाई राष्ट्रिय महत्त्वको विषय बनाउनुपर्ने धारणा उनले व्यक्त गरे । उनले हेटौंडाको केन्द्रीय खेलकुद प्रतिष्ठानका विषयमा चासो पनि व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले साधन र स्रोतका हिसाबले सानो देखिए पनि कार्यक्षेत्र र जनसहभागिताका हिसाबले मन्त्रालय बृहत् भएको बताउँदै यसको जिल्ला तहसम्म शाखा विस्तार गर्नुपर्ने आवश्यकता आँल्याए ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, सदस्यसचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ तथा सदस्य नम्बर शेर्पा (ह्योल्मो), कुसुमकुमारी श्रेष्ठ, किरण गिरी र देवकुमार लामा, पूर्व सदस्यसचिव जीवनराम श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, मन्त्रालयका कर्मचारीलगायतले कमलपोखरीस्थित मन्त्रालयमा मन्त्रीको स्वागत गरेका थिए ।

प्रतिक्रिया