कपिलदेवले आर्थिक लाभ नपाउने


नयाँदिल्ली, ११ जेठ । बिसिसिआईले सन् २००३/२००४ भन्दा पहिले सक्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भारतीय खेलाडीलाई प्रदान गर्न लागेको आर्थिक सहयोग ‘वन टाइम मनिटरी बेनिफिट’बाट विश्व चर्चित क्रिकेटर कपिलदेव वञ्चित भएको विषय यतिबेला भारतमा चर्चामा रहेको छ । कपिलदेवले आफू सो रकम पाउने खेलाडीको सूचीमा रहेको/नरहेकोबारे कुनै जानकारी नरहेको बताएका छन् । सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप उपाधि जित्दा कपिलदेव भारतीय टोलीका कप्तान थिए ।
भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ले प्रकाशन गरेको समाचारअनुसार इन्डियन क्रिकेट लिग (आइसिएल)मा सहभागी भएको आरोपमा बिसिसिआईले माफी माग्न गरेको निर्देशन कपिलले अस्वीकार गरेपछि यस्तो भएको हो ।
बिसिसिआईका एक वरिष्ठ अधिकारीको भनाइ उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘उनी उक्त अवसर पाउने खेलाडीको सूचीमा छैनन् किनभने आइसिएलमा सहभागी भएको विषयमा बिसिसिआईले माफी माग्नु पर्छ भन्दा उनले अस्वीकार गरे ।’ आइसिएलमा संलग्न भएको विषयमा उनले पेन्सनबापत पाउँदै आएको रकम पनि नलिएको ती अधिकारीको भनाइ उद्धृत गर्दै उक्त अखबारले लेखेको छ ।
आइपिएलको जारी पाँचाँै संस्करणको प्ले अफबाट हुने फाइदामध्ये ७० करोड भारतीय रुपियाँ बिसिसीआईले ती खेलाडीलाई बाँड्दै छ । यसको अर्थ, उक्त रकम पाउने खेलाडीको सूचीमा कपिलदेवको नाम रहेको भए उनले डेढ करोड भारतीय रुपियाँ पाउने थिए ।
बिसिसिआईका प्रमुख प्रशासकीय अधिकृत रत्नाकर सेट्टीले यस विषयमा आफूले कुनै प्रतिक्रिया दिन नमिल्ने बताए । त्यस्तै बोर्डका मिडिया म्यानेजर देवेन्द्र प्रभु देशाइले रकम पाउने खेलाडीको सूची बिसिसीआई प्रमुखसँग भएकाले आफूूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
सन २००९ को अप्रिलमा बिसिसिआईले आइसिएलमा सहभागी हुने खेलाडीलाई माफी मागेर अफिसियल क्रिकेटमा फर्कन आग्रह गरेको थियो । हाल निस्क्रिय रहेको आइसिएललाई अहिलेसम्म बिसिसिआईले मात्र होइन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पनि मान्यता दिएको छैन । बिसिसीआईले करिब १ सय ६० खेलाडीलाई उक्त पुरस्कार दिने कार्यक्रम छ । एजेन्सी

प्रतिक्रिया