‘बोक्सी’ बन्न भान्जाको बलि

रौतहट, ११ जेठ । मामाघर जाने भनेपछि सबै बालबालिका फुरुंग हुन्छन् । सर्लाहीका ३ वर्षीय बालक नितेश राय यादव पनि फुर्किंदै गएका थिए, रौतहटस्थित मामाघर । उनलाई के थाहा त्यहाँ उनकी अन्धविश्वासी माइजू काल बनेर पर्खिरहेकी थिइन् ।

भगवान्लाई खुसी पार्ने नाममा रौतहटकी महादेवी यादवले आºनै भान्जालाई बलि दिएको खुलासा भएको छ । राम्रोसित माइजू पनि भन्न नजान्ने भान्जासित उनको कुनै रिसराग पक्कै थिएन । उनलाई त ‘बोक्सी विद्या’ मा पारंगत हुनु थियो । अकल्पनीय क्रूरताकी प्रतिमूर्ति बनेकी महादेवीलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही मानपुर–९ निवासी गणेश राय यादवका छोरा नितेश केही दिनअघि मात्रै मामाघर रौतहटमा आएका थिए । त्यही मामाघरको आँगन उनको चिहान बन्यो । ‘बोक्सी विद्या’ सिक्दै गरेकी यादवले देउतालाई खुसी पार्न भान्जाको घाँटी रेटेर हत्या गरेको बयान दिएकी छन् ।
प्रहरीले मंगलबार राति यादवकै आँगनमा गाडिएको अवस्थामा बालकको शव फेला पारेको छ । बालकको टाउको मंगलबार समनपुर–८ मा बाग्मती नदीकिनारस्थित टोकारघाटमा भेटिएको थियो । टाउको मात्रै फेला परेपछि यादवको हत्या भएको पुष्टि भए पनि माइजूले आँगनमै बलि दिएको घटना बुधबार मात्र सार्वजनिक भएको हो ।
बालकका हजुरबुवा रामधन राय यादवले मामाघर गएका नाति हराएको बताइरहँदा शिर फेला परेको थियो । बालकको मामाघरका परिवारका सदस्य फरार भएका छन् । खोजतलासका क्रममा मामाघरमै शरीरको बाँकी भाग फेला परेको हो । एसपी ठूले राईले भने, ‘घरका सबै सदस्य फरार छन् । माइजू र उनका गुरु धामीको संलग्नतामा बालकको हत्या भएको देखिन्छ ।’ प्रहरीका अनुसार मृतक बालककी आमासमेत फरार भएकी छन् । बालक आइतबार आमासँगै घरबाट निस्केका थिए । आमासँगै बजार आएका बालक हराउनु र शिर फेला परेपछि उनी पनि फरार हुनुले घटना थप रहस्यमय बनेको छ ।
पत्रकार सम्मेलनमा अभियुक्त महादेवीले आफ्ना गुरुले धारिलो खड्गले बालकको आधी घाँटी रेटेको र त्यसपछि आफूलाई रेट्न भनेकाले त्यसै गरेको यादवले बताइन् । मध्यरातमा बालकलाई गाउँकै एक मन्दिरमा लगेर हत्या गरिएको थियो । हत्यापछि धामीले बालकलाई अक्षता छर्केर ब्युँताएको र त्यस्तो शक्ति आफूलाई पनि प्राप्त हुने विश्वास दिलाएको महादेवीको भनाइ छ ।
‘धामीले अब तिमीले आफ्नो छोराको पनि बलि दिनुपर्छ भनेपछि डर लाग्यो,’ उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ । हत्यापछि गुरुले नै बालकको शरीरलाई आँगनमा गाडिदिएको उनले बताएकी छन् । गुरु भनिएका धामी छविलाल पनि फरार छन् ।
रौतहटमा कथित बोक्सीलाई दुव्र्यवहार गरिएका घटना बारम्बार हुने गरेका छन् । तर, बोक्सी विद्या सिक्न यस्तो कुकर्म भएको भने नौलो घटना हो । रौतहटमा अन्धविश्वासविरुद्ध जनचेतनासम्बन्धी अभियानको खाँचो रहेको स्थानीय मानवअधिकारवादी कार्यकर्ताले बताएका छन् । पक्राउ परेकी महादेवीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको तथा हत्याको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

प्रतिक्रिया