सभासद अधिकारद्धारा राजीनामा

काठमाडौं, १० जेठ । संविधानसभाको म्याद थप गर्ने प्रमुख दलहरु सहित सरकारी प्रस्तावको विरोधमा नेपाली कांग्रेसका सभासद राधेश्याम अधिकारीले आज आफ्नो सभासद पदबाट राजीनामा दिएका छन् ।
विधिको शासन र सर्वोच्च अदालतको फैसला विपरित म्याद थपको प्रस्ताव ल्याएको भन्दै अधिकारीले सभासद पदबाट राजीनामा दिएको जनाएका छन् । उनले आफ्नो राजीनामा पत्र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संसद सचिवालयमा भेटगरेर आज बुझाएका हुन् ।
कांग्रेस सभासद अधिकारी मन्त्रिपरिषदबाट मनोनित सभासद हुन् ।
उनले स्वतन्त्र न्यायपालिका, कानूनी शासन र विधिका लागि आफूले सभासद पदमा बसिरहनु उचित नठानेर राजीनामा दिएको जनाएका छन् ।
सर्वोच्च अदालतले संविधानसभाको म्याद पुनः थप्न नपाउने फैसला गरेपनि त्यसको वेवास्ता गर्दै सरकारले म्याद थपको प्रस्ताव संसदमा दर्ता गराएपछी अधिकार रुष्ट भएका थिए ।
कांग्रेसको सिफारिसमा बरिष्ठ कानून व्यवसायी अधिकारीलाई सरकारले मन्त्रिपरिषदबाट मनोनय गरेको थियो ।

प्रतिक्रिया