घाइते ग्याब्रियलको ठाउँमा टिनो बेस्ट

लन्डन, १० जेठ । बार्बाडोसका फास्ट बलर टिनो बेस्टलाई हाल इङल्यान्डको भ्रमणमा रहेको वेस्ट इन्डिज टोलीमा सामेल गराइने भएको छ । उनलाई टोलीका पहिलो रोजाइका बलर श्यानन ग्याब्रियलको ठाउँमा खेलाइने भएको हो । गत लडर््स टेस्टमा डेब्यु गरेका ग्याब्रियल पिठयुँमा गम्भीर चोटले गर्दा केही महिना मैदानबाहिर रहनुपर्ने भएको छ । टिनो बुधबार इङल्यान्ड पुग्नेछन् ।
ग्याब्रियलले वेस्ट इन्डिज पाँच विकेटले पराजित भएको लर्ड्स टेस्टमा ग्याब्रियलले इङल्यान्डको दोस्रो इनिङमा केवल पाँच ओभर गरेका थिए जसमा उनले केभिन पिटरसनलाई आउट गरेका थिए । म्याचपछि अस्पतालमा गरिएको निरीक्षणपछि उनी यही १२ जेठदेखि टेन्ट ब्रिजमा सुरु हुने दोस्रो टेस्ट र त्यसपछि पनि केही साता उपलब्ध हुन नसक्ने देखिएको थियो । अर्का फास्ट बलर केमर रोच पनि पहिलो टेस्टको अन्तिम समयतिर पूर्ण स्वस्थ्य स्थितिमा देखिएका थिएनन् भने रवि रामपाल घाँटीको समस्याले गर्दा पहिलो टेस्ट खेल्न सकेनन् ।
‘श्याननले पहिलो टेस्टको आखिरी समयमा ढाडमा दुखाइको समस्या महसुस भएको बताएका थिए । म्याच सकिएपछि गरिएको स्क्यानले उनको ढाडको तल्लो भागमा ‘स्ट्ेरस रियाक्सन’ रहेको देखियो,’ वेस्ट इन्डिज टोलीका फिजियोथेरापिस्ट सी जे क्लार्कले भने, ‘दोस्रो टेस्टमा खेल्न नसक्ने निश्चित भएपछि उनलाई पूर्ण स्वास्थ्यलाभका लागि ट्रिनिडाड एन्ड टोबागो फिर्ता पठाउने र भविष्यमा पुन: चयन गर्न सकिने निर्णय टिम व्यवस्थापनले लियो ।’
तीसवर्षीय टिनोले अहिलेसम्म खेलेका कुल १४ टेस्टमध्ये अन्तिम सन् २००९ मा बंगलादेशविरुद्ध ग्रेनाडामा खेलेका थिए । उनले ४८.६७ को औसतमा २८ टेस्ट विकेट लिएका छन् जसमा उनको सर्वश्रेष्ठ प्रदर्शन ४६ रनमा चार विकेट हो । खासगरी इङल्यान्डविरुद्ध उनको प्रदर्शन तुलनात्मक तवरले राम्रो देखिन्छ जसमा उनले ३२.३७ को औसतमा १३ विकेट लिएका छन् ।
दुई देशबीच जारी भ्रमणक्रममा हुने तीन टेस्टको शृंखलाअन्तर्गत लडर््समा १७ मेमा सुरु भएको पहिलो टेस्ट इङल्यान्डले सोमबार पाँच विकेटले जितेको थियो । वेस्ट इन्डिजले पहिलो इनिङमा २४३ र दोस्रो इनिङमा ३४५ रन बनाएको थियो । पहिलो इनिङमा ३९८ रन बनाएर १५५ रनको अग्रता लिएको इङल्यान्डले दोस्रो इनिङमा पाँच विकेटको क्षतिमा १९३ रन बनाउँदै म्याच जितेको थियो । बेलायती कप्तान एन्ड्रयु स्ट्रासले म्याचको एक मात्र शतक १२२ रन र वेस्ट इन्डिजका शिवनारायण चन्द्रपलले पहिलो इनिङमा नटआउट ८७ र दोस्रोमा ९१ रन बनाएको यस लर्ड्स टेस्टमा पहिलो इनिङमा सात र दोस्रोमा चार गरी म्याचमा ११ विकेट लिन सफल इङलिस बलर स्टुवार्ट ब्रड प्लेअर अफ द म्याच भए । एएफपी

प्रतिक्रिया