ली चोङ वेईको ओलम्पिक सहभागिता अन्योलमा

बेइजिङ, १० जेठ । ब्याडमिन्टनका विश्व नम्बर–१ पुरुष खेलाडी ली चोङ वेई चीनमा जारी थोमस कप प्रतियोगिताका क्रममा गम्भीर घाइते भएपछि आसन्न लन्डन ओलम्पिकमा यी मलेसियन खेलाडीको सहभागिताबारे अन्योल उत्पन्न भएको छ । उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । उनी उक्त प्रतियोगिताबाट रिटायर्ड हर्ट भए ।
‘अब वेईले यस (थोमस) प्रतियोगितामा थप कुनै पनि खेल खेल्न सक्नेछैनन,’ मलेसियाका ब्याडमिन्टन प्रशिक्षक रसिक सिदेकले भने, ‘थाहा छैन यो चोटले उनी कति समयसम्म थलिनेछन् । तर लन्डन ओलम्पिकका लागि उनलाई तयार गर्न हामी प्रयास गर्नेछौं ।’
उनले वेईलाई भएको चोट गम्भीर हुन सक्ने संकेत गरे । ‘हामी उपचारका लागि तत्कालै मलेसिया प्रस्थान गर्नेछौं,’ सिदेकको भनाइ थियो । उनी डेनमार्कका पिटर गेदविरुद्ध खेल्दै गर्दा लडेका थिए । उनलाई कोर्टमा आएर उपचार गरिए पनि तत्कालै नजिकै रहेको अस्पताल पुर्‍याइएको थियो । कोर्टबाट स्ट्रेचरमा राखेर उठाइनुअघि वेई रोइरहेका थिए ।
वेईलाई ओलम्पिकमा स्वर्णपदक दाबेदारका रूपमा हेरिएको थियो । उनले सन् २००८ बेइजिङमा सम्पन्न पछिल्लो ओलम्पिक खेलकुदमा रजतपदक जितेका थिए । फाइनलमा लिन दानविरुद्ध पराजित भएपछि उक्त संस्करणमा स्वर्ण जित्नबाट असफल भएका उनी लामो समयदेखि लन्डन ओलम्पिकको तयारी गरिरहेका छन् । यद्यपि थोमस कपमा सहभागी हुनुपूर्व खेलेका हालसालै सम्पन्न प्रतियोगितामा पनि उनले राम्रो नतिजा प्राप्त गर्न सकेका छैनन् ।
गत अप्रिलमा भएको भारत ओपनमा फाइनल पुगेका वेई उपाधि भिडन्तमा विनावरीयताका दक्षिण कोरियाली खेलाडी वान हो सोनसँग पराजित भएका थिए । सोनविरुद्धको भिडन्तमा वेई सोझो सेटमा ६६ मिनेट समयमा पराजित भएका थिए । त्यसको एक महिनाअघि मात्र उनी चोटका कारण अल इङल्यान्ड च्याम्पियनसिपको फाइनल पुगेर पनि खेल्न असमर्थ भएका थिए । एपी

प्रतिक्रिया