‘म्याद थपको निर्णयमा सहमति छैन’

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको म्याद गर्ने निर्णय प्रति आफ्नो कुनै सहमति नरहेको जनाएका छन् ।
सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहभागी कोइरालाले आफ्नो निवासमा माहाराजगञ्जमा बेलुका पत्रकार सम्मेलन गरेर म्याद थपको निर्णयप्रति असहमति रहेको बताए । ‘संविधानसभाको म्याद थप गर्ने कुनैपनि जानकारी विनानै हठातमा प्रधानमन्त्रीले प्रस्ताव ल्याए,’ उनले भने, ‘यसमा मेरो असहमति छ ।’
सर्वोच्च अदालतको फैसला विपरित संविधानसभाको म्याद थप भएको भन्दै उनले कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । उनले सर्वोच्चको सम्मान गर्ने बताए ।
सभापति कोइरालाले संविधानसभाको म्याद थप गर्ने सरकारी निर्णयका बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको पनि  बताएका छन् ।
कांग्रेसकै तर्फबाट कानून मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद सिटौलाले लिनु भएको छ, तपाईलाई उहाँले पूर्व जानकारी गराउनु भएन त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति कोइरालो भने, ‘सिटौला जीले कुनै जानकारी दिएनन् ।’
उनले जेठ १४ गते भित्रै नयाँ संविधान जारी गर्नुपर्ने मान्यताबाट कांग्रेस पछि नहट्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया