तेत्तीस प्रतिशत खोसिएला भनेर डर छ

राजनीतिमा आउनुअघि के गर्नुहुन्थ्यो ?
–लामो समय रेडक्रसमा काम गरेँ, त्यसले सामाजिक क्षेत्रमा प्रवेश गरायो । वीर अस्पतालमा स्वयम्सेवक भएर काम गरँे । आमामिलन, नारीमिलनजस्ता संस्थाका विभिन्न पदमा रहियो । सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा काम गरेँ,  पूर्वरानी ऐश्वर्य त्यसको अध्यक्ष हुनुहुन्थ्यो । त्यसको महिला सेल हेर्थें, महिलासँंग सम्बन्धित गैरसरकारी संस्थाको समन्वय मैले नै गर्नुपथ्र्यो । त्यसैक्रममा देशका धैरै ठाउँ घुमेर नेपाल  र नेपालीबारे बुझ्ने अवसर पाएँ ।
कस्तो पाउनुभयो महिलाको अवस्था त्यतिबेला ?
– सामाजिक संस्थाले जतिसुकै काम गरे पनि सरकारको नीतिनिर्माण तहमा नपुगेसम्म केही हुँदैन भन्ने लाग्यो । सम्पूर्ण महिलालाई सामूहिक रूपमा उठाउन सकिएलाजस्तो अवस्थै थिएन । मैले युएनबाट महिलाका लागि ठूलो योजना ल्याएकी थिएँ तर त्यो योजनालाई नेपाल सरकारले म्याच गर्न सक्दैनौ भनेर हतास पारिदिँदा नरमाइलो अनुभूति भयो । त्यो योजना बंगलादेशमा गयो, जुन परिवार नियोजन र स्वास्थ्यको सवालमा थियो । मलाई लाग्यो– यही योजना पुरुषका लागि भएको भए कार्यान्वयन हुन्थ्यो होला । त्यसैले पनि मलाई नीतिनिर्माणको तहमा जानु पर्छ भन्ने भयो र छयालिसको परिवर्तनपछि राजनीतितिर लागेँ ।
सम्पन्न परिवारकी मान्छे, राजनीतिका लागि गाउँगाउँ डुल्नुपर्दा कस्तो लाग्थ्यो ?
– वीर अस्पतालमा काम गर्दा दु:ख, गरिबी, अभाव सबै देखेकी थिएँ । भगवान्लाई धन्यवाद दिन्थेँ– तिम्ले मलाई दुई छाकको अभाव हुन दिएका रहेनछौ, सद्दे बनाएका रहेछौ भनेर । आठ–नौ घन्टा भोलेन्टिएर काम गर्थें नर्सका रूपमा । त्यहाँ फन्ड पनि थियो औषधि किन्न नसक्नेलाई, रगत चाहिनेहरूलाई । घाट लानेसम्मको अवस्था नभएका मृतकका आफन्तलाई त्यसमार्फत सहयोग हुन्थ्यो । यी  सबै कारणले मैले दु:खपीडा बुझेकी थिएँ ।
कस्तो पाउनुभयो त राजधानीबाहिरका जनताको अवस्था ?
–पश्चिमभन्दा पूर्वका जनता सचेत पाएँ । पूर्वका जनतालाई शिक्षाको कार्यक्रम लैजाँदा हामीलाई स्वास्थ्यका कार्यक्रम पनि ल्याउनुस् भन्थे । तरकारी खेतीबारे कार्यक्रम गर्दा बाटो, पुलका योजना खोइ त भन्थे तर पश्चिमका जनता जे गरिदियो त्यसैमा चुपचाप बस्ने, अब के चाहिन्छ भन्ने नै थाहा नपाएका । साँच्चै भन्नुपर्दा राम्रोसँंग लुगा पनि लगाउन नजानेका ।
चुवावमा बर्दिया नै किन रोज्नु भयो ?
–बर्दियालाई छयहत्तर जिल्ला भन्छन् । धेरै ठाउँबाट आएका, थुप्रै जातजाति बस्छन् । ती सबैलाई रिझाउन सजिलो छैन । म सेवाकै भावनाले त्यहाँ गएकी हुँ । दसाँै हजार जनताले मलाई भोट दिए ।  लाग्यो– राम्रो काम गर्‍यो भने जनताले माया गर्दा रहेछन्, जहाँ गए पनि ।
राणा परिवारकी महिला, घर बाहिर निस्कन गाह्रो भएन ?
– सानै उमेरमा विवाह भयो । राणा परिवार पर्दाभित्र कस्सिएको परिवार थियो । बाहिरको त कुरै छाडाँै, आफन्त नाता पर्नेसँंग पनि हिँड्न पाइँदैन थियो । बुवाआमा, श्रीमान्सँंग मात्र हिँड्न पाइन्थ्यो । स्कुल पढ्दा पनि घरबाट साथी लिएर जानुपथ्र्यो । म त एकदम लजालु थिएँ । एसएलसी दिने बेलामा पेटमा बच्चा थियो । कक्षामा छिर्न पनि मलाई लाज लाग्यो । कसैलाई चिनेकी थिइनँ । ग्य्राजुएट गरेपछि केही समय श्रीमान्लाई सम्झाएँ । सुरुमा त उहाँ पनि म बाहिर ननिस्कियोस् भन्ने चाहनुहुन्थ्यो तर उहाँको मन जितेँ, व्यवहार, विश्वास र विचारले । परिवारबाट बाहिर निस्कन मैले धेरै मेहनत गरेँ, तर विद्रोह भने होइन ।
राप्रपा नै किन रोज्नुभयो ?
–पञ्चायतकालसम्म त मलाई राजनीतिको ‘र’ पनि मन पर्थेन । प्रजातन्त्र आउँदा माओवादी थिएन । एमालेका मान्छे चिनेकै थिइनँ । कांग्रेसबारे अलिअलि सुनेकी थिएँ । राप्रपामा लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणालगायतलाई चिनेकी थिएँ ।  उहाँहरूकै आग्रह र जोडमा म राजनीतिमा आएकी हुँ । उहाँहरूले समाजसेवामा लगेको मान्छे राजनीतिमा आउँदा राम्रो हुन्छ भन्नुभयो ।
पहिलोपटक चुनाव लड्दा कस्तो लाग्यो ?
–मलाई चुनाव के हो, भोट कसरी माग्ने केही पनि थाहा थिएन ।  भोट कत्ति नै आउला र जस्तो लाग्थ्यो । विश्वासै थिएन तर आठ हजार भोट आएछ ।
जनताकामा जाँदा मन छुने घटना पनि केही भए कि ?
– पहिलो निर्वाचनमा भोट माग्न घरदैलो गर्दै थिएँ । एउटी महिलाले हात जोडेर रुँदै भनिन्–  किताब किन्ने पैसा नभएर मेरी छोरीले पढ्न नपाउने भई । सुरुमा त ती आइमाईले मलाई जाँच्न खोजकी हुन् कि जस्तो लाग्यो । तैपनि सोधँें– कति पैसा लाग्छ किताब किन्न ? उनले तीन सय मागिन्, मैले दिएँ । मेरा कार्यकर्ताले यसरी पैसा दिँदा भोट किनेको जस्तो हुन्छ भनेर गाली गरे तर किन किन मलाई त्यो काम गलत गरेँजस्तो लागेन । कसैलाई पढ्न सघाउँदा चुनाव हारिन्छ भने हारियोस् भन्ने लाग्यो । अर्को चुनावमा जाँदा त ती नानी पढेर शिक्षक भइसकिछन्् । पछि उनले मलाई पनि धेरै सहयोग गरिन् । मलाई खुसी लाग्यो । यो म कहिल्यै बिर्सन्नँ ।
सधैंँ सुखमा बसेको मान्छे, चुनावमा दौडँदा दु:खको अनुभूतिचाहिँ भएन ?
–बर्दिया एकदमै गर्मी । छाता ओढ्ने, चस्मा लगाउने कुरा भएन । धोती लगाएकी थिएँ, त्यसैको पल्लाले मुख छोपेर हिँड्थेँ । धुलैधुलो, पसिनैपसिना भएर अनुहारभरि कालो लेदो बग्थ्यो । मनमनै लाग्थ्यो– घरपरिवारका दिदीबहिनी वा साथीले देखे यो त बौलाउन लागिछ भन्लान्  तर मैले त्यसलाई सहज रूपमा लिएँ ।
जनताको व्यवहार तपाईंप्रति कस्तो हुन्थ्यो ?
– जनताका घरमा गइदिँदा खुसी हुन्थ्ये । पानीमा नुनचिनी हालेर खान दिन्थे । श्रद्धाले दिएको कुरा खाइदिन्थेँ । उनीहरूको चित्त दुख्ला कि भनेर चिन्ता लाग्थ्यो । लाग्थ्यो– यो चिनी पनि कति दु:खले जोडेको होला । सबैका घरमा पुगेर हात जोडेर मलाई सहयोग गर्नु पर्‍यो भन्थँे । मलाई कुनै खालको घमन्ड थिएन ।
संविधानसभामा रहँदा कत्तिको आत्मसन्तुष्ट हुनुहुन्छ ?
–संविधानमा जनताको कुरा कत्तिको समेट्न सक्छौँ भन्ने मुख्य चुनौती छ । त्यसपछि मात्र आत्मसन्तुष्टिको कुरा आउँछ । म आफूमात्र स्थापित हुनाको अर्थ छैन । महिलाअधिकार, जनताका हकहितका सवाल सबै समेटिएर स्थापित हुनु मात्रै वास्तविक आत्मसन्तुष्टिको कुरा हुन्छ । संविधानसभामा रहेका हामी १९७  महिलाको भूमिकाले देशभरिका महिलाको अधिकार कत्तिको सुनिश्चित गर्न सक्छ, त्यसैले आत्मसन्तुष्टि दिन्छ । कतै महिलालाई तेत्तिस प्रतिशतबाट हटाइने त होइन भनेर पनि डर लाग्दै छ । हामी एक भएर दबाब दिँदै छाँैं, पछिसम्म दिइरहनेछाँैं । प्रस्तुति : चमिना

प्रतिक्रिया