तेस्रोपटक पनि नेपाल च्याम्पियन

काठमाडौं, ८ जेठ । राजधानीमा जारी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार नेपाल लगातार तेस्रोपटक च्याम्पियन बनेको छ । प्रतियोगिताको तेस्रो संस्करणमा नेपालले २८ स्वर्ण, ३० रजत र ३० कांस्य जित्दै उपाधिमाथि हयाट्रिक गरेको हो ।
जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कांस्यसहित भारत दोस्रो स्थानमा रहयो । पुरुष र महिला दुवैमा नेपाली खेलाडी उत्कृष्ट साबित भए । पुरुषमा रीतेश श्रेष्ठ तथा महिलामा दीपा लामा उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन पुरुषको ५५ केजीमा नेपालका सुनील थापामगर पहिलो भए । फाइनलमा उनले नेपालकै मीनेश खत्रीलाई पराजित गरे । ६० केजीमा नेपालका राजु मगरातीले शीर्षस्थान हात पारे । उनले फाइनलमा नेपालकै मानबहादुर भुर्तेलको चुनौती समाप्त पारे । ६५ केजीको फाइनलमा नेपालका धनजित लामाले आफ्नै राष्ट्रका रामबहादुर माझीलाई निराश पार्दै स्वर्ण चुमे । खुलातर्फ नेपालका रीतेश श्रेष्ठ च्याम्पियन बने । उपाधि भिडन्तमा रीतेशले नेपालकै उत्तम श्रेष्ठलाई पाखा लगाए ।
खुसिबुँस्थित बहुउद्देश्यीय मार्सलआर्ट केन्द्र
(एमएमएसी) को हलमा भएको महिलाको कुमुतेतर्फ ९–१० वर्षमा नेपालकी एलिसा श्रेष्ठले नेपालकै तनु राईलाई पन्छयाउँदै पहिलो स्थान कब्जा गरिन् । १५–१६ वर्षमा नेपालकी अञ्जना नेपाली पहिलो भइन् । फाइनलमा अञ्जनाले नेपालकी मेलिना परियारलाई हराइन् । १२ वर्षमुनिमा नेपालकी दीपा भित्राकोटीले बाजी मारिन् । फाइनलमा दीपाले नेपालकी कविता शर्मालाई पराजित गरिन् ।
नेपालका १ सय ८२ तथा भारतका १८ गरी जम्मा दुई सय खेलाडीले ३३ स्वर्णका लागि प्रतिस्पर्धा गरेको यस प्रतियोगितामा पुरुषको २५ केजीमा अनिकेत जावलाकर, ३० केजीमा किरण यादव, ३५ केजीमा दीपान्शु बरिया, ४० केजीमा दीपक शर्मा तथा ४५ केजीमा रोहित तिवारीले भारतलाई स्वर्ण दिलाए । विजयी टिम तथा खेलाडीलाई पूर्वमन्त्री राजेन्द्र पाण्डे, एसएसपी निरज सिलवाल तथा आयोजक संघका अध्यक्ष मनोज नेवा: खड्गी र उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्काले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया