बंगलोरको हारले चेन्नाई प्लेअफमा


मुम्बई, ८ जेठ । चेन्नाई सुपरकिङस इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सिजन–५ को प्लेअफ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बंगलोर डेक्कन चार्जर्ससँग ९ रनले पराजित भएपछि चेन्नाई अन्तिम चारमा प्रवेश पाउन सफल भएको हो । चेन्नाईले बंगलोरलाई रनरेटमा पछि पार्दै चौथो स्थान हात पारेको हो । डेक्कनले दिएको १३३ रनको सामान्य लक्ष्य पछयाएको बंगलोरले ९ विकेट गुमाउँदै १२३ रन जोडयो । डेक्कनलाई जित दिलाउने क्रममा दुई दक्षिण अफ्रिकी खेलाडी ज्याँ पल डुमिनी र डेल स्टेनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । स्टेनले चार ओभरमा ८ रन खर्चिंदै तीन विकेट लिए । बंगलोरका लागि क्रिस गेलले १० बलमा २७ रन जोडेपछि उनलाई स्टेनले आउट गरेका थिए । विराट कोहलीले ४२ तथा सौरभ तिवारीले ३० रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको डेक्कनका लागि डुमिनीले ५३ बलमा ७४ रन प्रहार गरे । उनले चार चौका र पाँच छक्का प्रहार गरे ।
यससँगै यसपटक वर्षको आइपिएलको लिगतालिकामा पहिलो चार स्थानमा रहने टोलीको टुंगो पनि लागेको छ । यसअनुसार, दिल्ली डेयरडेभिल्स पहिलो, कोलकाता नाइटराइडर्स दोस्रो, मुम्बई इन्डियन्स तेस्रो र चेन्नाई सुपरकिङस चौथो स्थानमा छन् । मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच हुने म्याचले यो तालिकालाई कुनै प्रभाव पार्नेछैन ।
एक दिनअघि भएको खेलमा जित हात पार्दै कोलकाता नाइटराइडर्सले फाइनल प्रवेशको निम्ति दिल्ली डेयरडेभिल्सको सामना गर्ने भएको छ । पहिलो चरणमा दिल्लीले २१ अंकसहित पहिलो स्थान पायो भने पुणे वारियर्ससँगको खेलमा ३४ रनले विजयी भएको कोलकाता २० अंकसहित दोस्रो स्थानमा रहयो । दिल्ली र कोलकाताबीचको विजेता फाइनल प्रवेश गर्नेछ भने यी दुई खेलमा पराजित टोलीले मुम्बई र रोयल च्यालेन्जर्स बंगलोरबीचको विजेतासँग भिड्नेछ । कोलकातालाई जित दिलाउने क्रममा सकिब हल हसनले अलराउन्ड प्रदर्शन गरे ।
कोलकाताले छाडेको १३७ रनको सामान्य लक्ष्य पछयाएको पुणे आठ विकेट गुमाउँदै १०८ रनमा सीमित भयो । पुणेलाई रोक्ने क्रममा पुणेको टर्निङ पिचमा हसनका साथै यस आइपिएलमा अत्यन्त सफल रहेका वेस्ट इन्डिजका सुनील नारायन र इकबाल अब्दुल्लाहले उत्तिकै राम्रो बलिङ गरे । हसनले चार ओभरमा १८ रन खर्चिंदै सौरभ गांगुली र अनुस्टुप मोजुमदारको विकेट लिए । यसैगरी अब्दुल्लाहले तीन ओभरमा २० रन खर्चे पनि ओपनर रोबिन उथप्पालाई आठ रनमै आउट गरे ।
माइकल क्लार्क र जेसी राइडरले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दा पुणे विजयी हुने सम्भावना पनि देखिएको थियो । यस सत्रको आइएपिएलमा नजमेका युसुफ पठान पुणेसँगको खेलमा जित दिलाउन भने प्रभावी रहे । आठौं ओभरमा बलिङ गर्न आएका पठानले आफ्नो पहिलो ओभरमै क्लार्कलाई १३ रनमा आउट गरे । उनले त्यसपछिको ओभरमा २३ रन बनाएका राइडरलाई बोल्ड गरे ।
बलर हाबी भएको इनिङमा रोबिन उथप्पाले एक चौका प्रहार गर्नुबाहेक अन्य कसैले पनि चौका प्रहार गर्न सकेनन् । कोलकाताले प्रयोग गरेका ६ जनै बलरले विकेट हात पारे । बालाजीले वेयन पार्नेललाई आउट गरे भने चार ओभरमा १५ रन मात्र खर्चेका नारायनले हरप्रित सिंहलाई रिटर्न क्याच लिंदै आउट गरे । १२ रन जोडेका क्यालुम फर्गुसन रजत भाटियाको बलमा छक्का प्रहार गर्ने प्रयास गर्दा डिपमा ज्याक कालीसले सानदार क्याच लिएपछि आउट भए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको कोलकाताले चार विकेटको क्षतिमा १३६ रन जोडयो । म्यान अफ द म्याच हसनले ३० बलको सामना गर्दै ४२ रन जोडे । भुवनेश्वर कुमारको बलमा बोल्ड हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरे । ब्याटिङमा पनि जम्ने क्रममा पठानले १० बलमा १५ रन प्रहार गरे । यसैगरी, ब्रेन्डम म्याक्लुमले ४३ बलमा ४१ रन जोडे ।

प्रतिक्रिया