सुरु भयो थारु–पहाडी मिलाप

कैलाली, ८ जेठ । धनगढीमा थारू र पहाडी समुदायका व्यक्तिले सामाजिक सद्भाव कायम गराउन सद्भाव समिति गठन गरेका छन् । जातीय राज्यका नाममा साम्प्रदायिक दंगा भड्कने अवस्था बनेर द्वन्द्व चर्किरहेको धनगढी–५ मा सामुदायिक सद्भाव समिति गठन भएको छ ।

अखण्ड सुदूरपश्चिम र थारुवान प्रदेश माग्दै गरिएको आन्दोलनका क्रममा दुई समुदायबीच विभिन्न स्थानमा झडप हुन थालेपछि स्वस्फूर्तरूपमा सद्भाव समिति गठन गरिएको हो । लगातार २४ दिनदेखि जारी अखण्ड सुदूरपश्चिम र थारुवान आन्दोलनका क्रममा दर्जनौँ झडप भएर करिब एक सय घाइते भएका र आपसी सद्भाव खल्बलिएर साम्प्रदायिक दंगा हुनसक्ने सम्भावना बढेपछि थारू तथा पहाडीले संयुक्त रूपमा सद्भाव समिति गठन गरेका हुन् ।
सद्भाव समितिमा थारु तथा पहाडी समुदायका १८ सदस्य छन् । आइतबार धनगढी–५ मा दुईवटै समुदायको उपस्थितिमा सद्भाव सभा आयोजना गरिएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी घनश्याम अर्यालले सद्भाव कायम गर्न गठन गरिएको समितिको प्रशंसा गरे । उनले एकले अर्कोलाई दुस्मनका रूपमा नहेरी दाजुभाइको सम्बन्ध राख्नुपर्ने बताए । उनले यस्ता सद्भाव समिति अन्य ठाउँमा पनि गठन गर्न सके आपसी सद्भाव कायम रहने दाबी गरे ।
थारू तथा पहाडीबीच द्वन्द्व चर्किंदै जाँदा धनगढी–५ का टोलटोलमा लाठी र विभिन्न खालका हतियारसहित दुवै पक्ष राति हिँडडुल गर्न थालेपछि उद्धवसिंह भाट र विनय चौधरीलगायत युवाको पहलमा सद्भाव समिति गठन गरिएको हो । युवाको सोचाइलाई सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मदनराज पाण्डे, सामुदायिक प्रहरी, स्थानीय युवायुवती र गृहिणीले साथ दिएपछि सद्भाव समिति गठन भएको हो ।
सद्भाव समितिमा पाण्डे संयोजक, चौधरी सहसंयोजक र भाट सचिव छन् । आइतबारको सद्भाव सभामा बोल्दै अध्यक्ष पाण्डेले अखण्ड सुदूरपश्चिम र थारूवान आन्दोलनमा जो जता लागे पनि सद्भाव बिग्रन नदिन समिति आवश्यक रहेको बताए । त्यस्तै, सहसंयोजक चौधरीले वर्षौंदेखि मिलेर बसेका समुदाय आज पनि मिलेर सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए । चौधरीले कैलालीका विभिन्न गाउँमा सद्भाव समिति गठन गर्ने प्रयास गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया