पत्रकारलाई बांकी नराख्ने चेतावनी

संघीयताविरोधी मिडियाले चित्रबहादुर केसी, कमल थापाको अन्तर्वार्ता चौबीसै घन्टा बजाउने, चारजना बाहुनले चोकमा शंख फुकेको रंगीन फोटो छापेर हेड ब्यानर न्युज हाल्ने तर आदिवासीको मुद्दा नउठाउने । पचास हजार थारूले आन्दोलन गरेको न्युज नबनाउने । प्रहरीले चलाएको गोली लागेर १०–१२ थारू घाइते भएर टिचिङ अस्पतालमा आउँदा एकजना पनि फोटो खिच्न नआउने । तर, अखण्ड सुदूरपश्चिमको नाममा आज पहिलो दिन बन्द सफल, दोस्रो दिन बन्द सफल, १९औँ दिन बन्द सफल भन्दै लगातार समाचार लेख्ने । आदिवासी जनजातिले गरेको बन्दको पहिलो रातमै गोलभेंडा कुहिन थाल्यो, मान्छेले दु:ख पाए भनेर लेख्ने । ब्राह्मण पत्रकार महासंघलाई म चेतावनी दिन चाहन्छु, आज र्‍याली निकाल्दै छ रे † जनजातिको विरुद्धमा । हिजो अखण्ड सुदूरपश्चिमको विरुद्धमा र्‍याली ननिकाल्ने पत्रकार महासंघलाई हामी बाँकी राख्दैनौँ ।
– आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा
जनजातिको बन्दमा पत्रकारमाथि नियोजित आक्रमण

काठमाडौं, ८ जेठ । ‘जनजातिले उठाएका मागबारे केही नलेख्ने पत्रकारलाई बाँकी राख्दैनौँ’ं
बन्द आयोजक नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा आइतबार रिपोर्टर्स क्लबमा यसरी ठाडो धम्की दिँदै थिए । जतिबेला सडकमा बन्दकर्ताले छानीछानी पत्रकारमाथि भौतिक आक्रमण गर्ने क्रम सुरु भइसकेको थियो ।
आन्दोलनकारीले सुनियोजित रूपमै पत्रकारलाई निशाना बनाएको सम्भवत: नेपालमा यो पहिलो घटना हो । काठमाडौंका विभिन्न स्थानमा सञ्चारमाध्यमका दर्जनौँ सवारीसाधन तोडफोड भए भने परिचयपत्र देखाउने कैयौँ पत्रकारले कुटाइ खाए ।
‘जनताले दु:ख पाए भनेर ब्राह्मण समाज, पत्रकार महासंघले र्‍याली निकाल्दै छ रे † हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार र पत्रकार महासंघलाई बाँकी राखिने छैन,’ उत्तेजक रूपमा प्रस्तुत हुँदै महासचिव शेर्पाले रिपोर्टर्स क्लबमा भनेका थिए । पत्रकारले उनको भनाइको तत्काल प्रतिरोध गर्दा निकैबेर तनाव उत्पन्न भयो । पत्रकारले होहल्ला गर्दै शेर्पालाई बाहिर निकाल्न आवाज उठाएपछि कार्यक्रम अवरुद्ध बनेको थियो । पछि प्रहरी आएर सम्झाएपछि मात्र पत्रकार साम्य भए ।
पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा पनि शेर्पाले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला र पत्रकार खिला कार्कीतिर औँलो सोझ्याएर ‘पख्, तिमीहरूलाई छाड्दिनँ’ भन्दै धम्क्याएका थिए । पत्रकारलाई धम्क्याएको विषयमा सौर्यले शेर्पालाई प्रश्न गर्दा उनले उल्टै पत्रकारले माफी माग्नुपर्ने बताए । ‘जनजातिहरूले उठाएको मागलाई क्षत्री–बाहुन पत्रकारले नलेखेको भन्दै उनले प्रश्न गरे, ‘अनि किन आक्रमण नगर्ने ?’
शेर्पाले आइतबारको बन्दमा पत्रकार कुटिएका घटना सामान्य भएको समेत बताए । ‘जनजातिले उठाएका मुद्दा र उनीहरूको समाचार नछापेको हामी सहेर बस्न सक्दैनौँ,’ उनले भने । समाचार नलेखेकोबारे पत्रकारले सार्वजनिक रूपमा माफी मागेमा मात्र आफूहरूले बन्दमा भएको घटनाको माफी माग्ने उनको भनाइ छ ।
महासंघकै अध्यक्ष राजकुमार लेखीले भने आन्दोलनलाई बद्नाम गर्न प्रचण्ड र बाबुरामका भिजिलान्ते घुसपैठ गरेर पत्रकारलाई आक्रमण गरेको दाबी गरेका छन् । ‘शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेकालाई लखेट्ने, गिरफ्तार गर्ने तर अवाञ्छित क्रियाकलाप गर्नेलाई प्रत्यक्ष संरक्षण दिने कार्यबाट सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरूको घुसपैठ पुष्टि हुन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सौर्यसँग लेखीले सञ्चारकर्मीमाथि आक्रमण गर्ने र सवारीसाधन तोडफोड गर्ने सबै प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डको मान्छे भएको आरोप लगाए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा पत्रकारसित ‘जनजातिको आन्दोलन जायज रहेको’ प्रतिक्रिया दिएका छन् । बेपत्ता समाजको कार्यक्रमपछि सञ्चारकर्मीसित उनले भने, ‘पत्रकारमाथि भएका आक्रमण निन्दनीय छन् तर जनजातिले थालेको आन्दोलन जायज छ ।’
नेपाल पत्रकार महासंघका सभापति शिव गाउँलेले पत्रकारलाई आक्रमण गर्ने धम्कीको महासंघले कुनै प्रतिवाद नगर्ने बताएका छन् । ‘प्रेस प्रतिवादमा उत्रने निकाय होइन,’ उनले सौर्यसँग भने, ‘तर, स्वतन्त्र प्रेसमाथि धावा बोल्ने सबैको रेकर्ड प्रेसले राख्छ ।’ उनले प्रेसमाथि धावा बोल्नेहरूलाई पूर्वराजा ज्ञानेन्द्रदेखि अहिलेसम्मको इतिहासको रेकर्ड हेर्न चुनौती दिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले आन्दोलनमा माओवादीको कुनै हात नरहेको बताए । ‘उनीहरू आन्दोलन गर्ने अनि नकारात्मक परिणामको दोष सरकार र माओवादीलाई दिन
मिल्छ ?’ उनले प्रश्न गरे । उनले अहिलेको आन्दोलन १४ जेठभित्र संविधान जारी गर्न नदिने रणनीतिअन्तर्गत भइरहेको दाबी गरे ।

आक्रमण शृंखला
जातीय राज्यको माग गर्दै आह्वान गरिएको नेपाल बन्दको पहिलो दिन दर्जनौँ सवारीसाधन र सञ्चारकर्मी आक्रमणमा परेका छन् । बिहानैदेखि सडका उत्रेका बन्दकर्ताले सञ्चारसंस्थानका सवारीसाधन र पत्रकारलाई लखेटी–लखेटी आक्रमण गरेका थिए । पत्रकारले आºनो पक्षमा समाचार नलेखेको भन्दै उनीहरू हिंसामा ओर्लेका थिए ।
चाबहिलमा बन्दकर्ताले सौर्य दैनिकका रामहरि पाण्डेमाथि आक्रमण गरेका थिए । मादक पदार्थ सेवन गरेका बन्दकर्ताहरूले चाबहिल मित्रपार्कमा ‘जनजातिको समाचार नलेखेको’ भन्दै अपशब्द बोल्दै हातपात गरेका थिए । उनीहरूले चारैतिरबाट घेरेर लाठी र मुड्की बर्साएको पाण्डेले बताए । पाण्डे सवार बा.३८प ९३४७ नम्बरको मोटरसाइकल पनि तोडफोड भएको छ ।
बन्दका क्रममा प्रदर्शनकारीले कान्तिपुर पब्लिकेसनका गाडीमा तोडफोड गरेका छन् । पत्रिका पुर्‍याएर कार्यालय फर्कंदै गरेको पब्लिकेसनको बा.९च ५५३७ को भ्यान बौद्धमा र बा.८च ७८७७ नम्बरको भ्यान बानेश्वरमा तोडफोड भएको थियो ।
यसैगरी, तीनचुले बौद्धमा एभिन्युज टेलिभिजनको बा.९च ४५५८ नम्बरको गाडीमाथि आन्दोलनकारीले ढुंगामुढा गरी सिसा फुटाइदिएका थिए । एबिसी टेलिभिजनको बा.६च ५०७२ नम्बरको गाडीलाई चाबहिलमा तोडफोड गरी गाडीको साँचोसमेत नियन्त्रणमा लिएका छन् । त्यसैगरी, बन्दकर्ताले हिमालयन टेलिभिजन, माउन्टेन टेलिभिजन, नेपाल वान टेलिभिजनलगायतका सवारीसाधनमा तोडफोड गरेका छन् भने दर्जनौँ पत्रकारको मोटरसाइकलमा क्षति पुर्‍याउनुका साथै आगजनीसमेत गरेका छन् ।
सगरमाथा टेलिभिजनका पत्रकार राधेश्याम दाहाल सरल गुरुङ, सतिश सुवेदी, अक्कल कुँवर र पुण्य धमलामाथि बन्दकर्ताले हातपात गरे । उनीहरू सवार बा.२७प ६८३२ नम्बरको मोटरसाइकल कुपण्डोलमा जलाइयो भने बा.२५प ३७४७ र बा.२५प ८८५४ नम्बरको मोटरसाइकल र दुई थान क्यामेरासमेत तोडफोड भए । गोरखापत्र दैनिकका पत्रकारद्वय राजेश चाम्लिङ राई र शम्भुकुमार प्रसार्इंलाई चाबहिलमा हातपात गरियो ।
बन्दकर्ताले सामाखुसीमा दी काठमाडौं पोष्टका संवाददाता प्रणव खरेल र अंकित अधिकारीलाई दुव्र्यवहार गर्नुका साथै मोटरसाइकल तोडफोड गरेका छन् । सिटिजन्स एफएमका पत्रकार दिनेश गौतमलाई बौद्ध, टुसालमा फलामको रड प्रहार गरी घाइते बनाइएको छ भने उनको मोटरसाइकल तोडफोड भएको छ । सोही एफएमका शम्भु दंगाललाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाइएको छ । एन्टेना फाउन्डेसनका पत्रकार राजन पराजुलीलाई बन्दकर्ताले परिचयपत्र देखाउँदा दुव्र्यवहार गर्दै मोटरसाइकलमा आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।
बन्दकर्ताले हिमालयन टेलिभिजनका क्यामेरामेन वाइपी घिमिरेलाई कार्यालयतर्फ जाँदै गर्दा ग्वार्कोचोकमा कुटपिट गरेका छन् । कारोबार दैनिकका पत्रकार दीपेन्द्र कार्कीलाई दुव्र्यवहार गर्दै उनको बा.९च १५०७ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । यसैगरी, राजधानी दैनिकका आर्थिक ब्युरो प्रमुख नवराज चालिसे, न्युज ट्वान्टी फोरका रामशुभक महतो र केशव निरौला पनि बन्दकर्ताको आक्रमणमा परेका छन् ।
बन्दकर्ताले नयाँ पत्रिका दैनिकका पत्रकार प्रकाश गुरागार्इंलाई कुटपिट गरेका छन् भने माउन्टेन टेलिभिजनका पत्रकार रोहित भण्डारीलाई कुटपिट गरी उनको क्यामेरासमेत खोसेका छन् । चाबहिलमै समाचार संकलन गरी फर्किएका नेपाल वान टेलिभिजनका कविता अधिकारी र क्यामेरामेन मंगल लामालाई दुव्र्यवहार र कुटपिट गरिएको छ । न्युज २४का केशव निरौलामाथि निर्घात कुटपिट गर्नुका साथै डकैती शैलीमा क्यामेरा लुटेका छन् ।
यसैगरी, बन्दकर्ताले कान्तिपुर पब्लिकेसनको सर्कुलेसन विभागका कर्मचारी ईश्वरराज घिमिरेको मोटरसाइकल ग्वार्कोमा जलाएका छन् । घिमिरेले आफूले कान्तिपुरको कर्मचारी रहेको बताएपछि दुई लात हानेर लडाएको र मोटरसाइकल जलाएको बताए ।
यता, कान्तिपुर एफएममा बन्दकर्ताले घेराउ गर्दै आफूअनुकूल समाचार प्रसारण गर्न दबाब दिएका थिए । करिब डेढ सयको संख्यामा आएका प्रदर्शनकारीले पुल्चोकस्थित एफएमको कार्यालयअगाडि घेराउ गर्दै कान्तिपुर पब्लिकेसन, टिभी र एफएमविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरूलाई प्रहरीको सहयोगमा स्थानीयवासीले लखेटेका थिए ।

चौतर्फी विरोध
सञ्चारमाध्यमका सवारीसाधन र सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारप्रति पत्रकारसँग विभिन्न पार्टी तथा सम्बन्धित विभिन्न संघसंस्थाले भत्र्सना गरेका छन् । उनीहरूले तत्काल दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाल आदिवासी जनजाति महासंघको बन्दका क्रममा सूचना संकलनमा रहेका पत्रकारमाथि भएको दुव्र्यवहार, सञ्चारगृहका सवारीसाधनको तोडफोड तथा आगजनीको निन्दा गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेस र जनताको सूचनाको अधिकारमाथि हस्तक्षेप नगर्न बन्दकर्तालाई आग्रह गरेका छन् ।
‘स्वच्छ, निष्पक्ष र स्वतन्त्र प्रेसको पक्षमा नेपाली कांंग्रेस आºनो स्थापनाकालदेखि नै प्रतिबद्ध छ,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘यो संगीन घडीमा कुनै पनि कार्यक्रम गर्दा आमनागरिकमा डर, भय र त्रासको वातावरण सिर्जना नहुनेगरी शान्तिपूर्ण रूपमा प्रस्तुत हुन आन्दोलनरत पक्षसँग आग्रह गर्दछु ।’
त्यस्तै, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि विज्ञप्ति जारी गर्दै बन्दका बखत सूचना संकलनमा खटिरहेका पत्रकारमाथि भएको दुव्र्यवहार, धक्की तथा सवारीसाधनमाथि भएको आक्रमण तथा आगजनी घटनाको निन्दा गरेका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले लोकतान्त्रिक समाजमा असहमति जनाउने अधिकारको दुरुपयोग गर्दै बन्दका क्रममा सञ्चारकर्मीका सवारीसाधनमा आगजनी, तोडफोड र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै बन्दका क्रममा सञ्चारमाध्यममा सवारीसाधन तोडफोड गर्ने र पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । महासंघले प्रेसमाथि हमला भइरहँदा राज्य मुकदर्शक भएर बसेको आरोप लगाएको छ ।
प्रेस चौतारी नेपालले विज्ञप्ति जारी गरी बन्दका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण, सञ्चारमाध्यमका सवारीसाधनमाथिको तोडफोड र सञ्चारकर्मीलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीका महासचिव विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा जस्तोसुकै परिस्थितिमा पनि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले निर्वाध रूपमा प्रयोग गर्दै अइरहेको आवात–जावतको सुविधा कुण्ठित भएको उल्लेख छ ।
त्यसैगरी, नेपाल बार एसोसिएसनले पनि विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेको छ । यसअघि महासंघका अध्यक्ष राजकुमार लेखीले दिएको चेतावनी हेर्दा यो आक्रमण योजनाबद्ध हुन सक्ने बारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रम पत्रकार संघ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, पर्यटन पत्रकार संघ, राजधानी प्रतिष्ठान, नेपाल न्युज २४ प्रतिष्ठान, एभिन्युज, सगरमाथा, माउन्टेन, कान्तिपुर प्रतिष्ठान शाखा, नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समाचार समिति (रासस) शाखा, रिपोर्टर्स क्लब नेपाल, सम्पादक समाज नेपाल, आइआइएमसी एलुम्नाई नेपाल, टिभी एडिटर्स गिल्ट, मिडिया इन्टरनेसनल, शिक्षा पत्रकार सञ्जाल नेपाल, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार तथा शान्ति समाजलगायतले पनि सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
त्यसैगरी, फोटो पत्रकार क्लब, नेपालले पनि बन्दका क्रममा पत्रकार र सञ्चारमाध्यमका सवारीसाधनमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । ‘हाम्रो फोटो नछाप्ने,’ भन्दै राजधानीका विभिन्न ठाउँमा क्लबका सदस्यहरू केशव थोकर, विजय राई, निरञ्जन श्रेष्ठ, नभेष चित्रकार, नरेश श्रेष्ठलगायतमाथि धम्की दिने कार्य गरिएको क्लबले जनाएको छ । आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेपाले रिपोर्टर्स क्लबमा दिएको अभिव्यक्तिको समेत क्लबले भत्र्सना गरेको छ ।
नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले बन्दका क्रममा आइतबार भएका घटना हालसम्मकै ठूलो प्रेसविरोधी घटना भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले आइतबार माइतीघरमा गरेको सभामा यस्तो बताएका हुन् । क्रान्तिकारी पत्रकार संघ नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारमाथि आक्रमण गर्नेहरूले माफी नमागेसम्म उनीहरूका समाचार बहिष्कारको निर्णय हुन सक्ने चेतावनी दिए ।

प्रधानमन्त्रीद्वारा खेद व्यक्त
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजातिले आह्वान गरेको बन्दका क्रममा प्रेसमाथि गरिएको आक्रमणप्रति खेद व्यक्त गरेका छन् । उनले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलिफोन गरी पत्रकारमाथि भएको आक्रमणप्रति खेद व्यक्त गरेका हुन् । गाउँलेका अनुसार प्रधानमन्त्री भट्टराईले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको बताएका थिए । साथै, महासंघका तर्फबाट क्षतिको विवरण पठाउन आग्रह गर्दै प्रधानमन्त्रीले राज्यले क्षतिपूर्ति दिने उल्लेख गरेका छन् ।

वार्ता आज
सरकारले पहिचानसहितको संघीयताका पक्षमा तीनदिने नेपाल बन्द आह्वान गरेका आदिवासी जनजाति संयुक्त संघर्ष समितिलाई वार्तामा आउन आग्रह
गरेको छ । सरकारले आइतबार आन्दोलनरत पक्षलाई सोमबार बिहान ८ बजे वार्तामा बोलाएको हो । सरकारले यसअघि आइतबार साढे ६ बजेका लागि वार्तामा बोलाएको थियो ।

दिनभर तोडफोड र आगजनी
काठमाडौं : एघार प्रदेशको संघीयताको विरोधमा आदिवासी–जनजातिले आह्वान गरेको बन्दले मुलुकभरको जनजीवन कष्टकर बनेको छ । नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्ष समितिले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन् ।
आइतबार बिहान तीन बजेदेखि नै सडकमा उत्रिएका बन्दकर्ताले यातायात साधन तोडफोड र आगजनी गरेका थिए । बन्दका कारण यातायातका साधन, शैक्षिक संस्था, उद्योग तथा कलकारखाना, पसल व्यवसाय मुलुकभर ठप्प रहे ।
बिहानैबाट अराजक बनेका बन्दकर्ताले दर्जनाँै सवारीसाधन तोडफोड गरेका छन् । प्रहरीका अनुसार काठमाडौंमा मात्रै बन्दकर्ताले गोपीकृष्ण हलनजिक बा.१ज ६५१५ नम्बरको माइक्रोबस र बानेश्वर कृष्णटावरअगाडि बा.८च ७६७७ नम्बरको कार तोडफोड गरेका छन् । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले तोडफोडमा संलग्न ५४ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडांैका प्रमुख जयबहादुर चन्दले भने, ‘पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ, संलग्न देखिए कानुनबमोजिम कारबाही हुन्छ ।’
ललितपुर कुपन्डोलमा बा.१०प २७६, बा.२२प २८७८, सानेपा चोकमा बा.२८प २०४, इमाडोल पुलनजिक बा.३२प १९६७, पुल्चोकमा बा.२८प २९६८, ग्वार्कोमा बा.३०प ३८९९ र बा.३०प २३१८नम्बरको मोटरसाइकलमाथि आगजनी गरिएको छ । बन्दकर्ताले प्रहरीको मोटरसाइकलसमेत छाडेनन् । एकान्तकुनामा प्रहरी प्रभाग गोंगबुका प्रहरी सहायक निरीक्षक दुर्गादत्त भट्ट र प्रहरी हवल्दार बलबहादुर सापकोटा चढेको बा.२८ प ४१९२ नम्बरको मोटरसाइकलमा समेत आगजनी भयो । सानेपास्थित स्टार अस्पतालअगाडि बा.१ज २६७१ नम्बरको ट्याक्सीको सिसा तोडफोड गरे बन्दकर्ताले ।
ग्वार्कोमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । सवारीसाधन सञ्चालन गर्नेमाथि आक्रमण गर्न खोज्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको थियो । घटनामा दुई प्रदर्शनकारी र दुई प्रहरी जवान घाइते भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । परिसरका प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको बताए । (सौस)

प्रतिक्रिया