केटी फेरि लाइटवेट विश्व च्याम्पियन

बेइजिङ : विश्व नम्बर–१ केटी टेलर फेरि एकपटक लाइटवेट बक्सिङ विश्व च्याम्पियन भएकी छन् । आयरल्यान्डकी यी बक्सर सुन्दरीले उक्त सफलतासँगै आसन्न लन्डन ओलम्पिकमा स्वर्णका लागि पनि बलियो दाबेदारी प्रस्तुत गरेकी छन् । चीनमा जारी महिला विश्व बक्सिङ च्याम्पियनसिपमा २५ वर्षीय केटीले रुसी प्रतिद्वन्द्वी सोफिया ओचिगाभालाई ११–७ ले पराजित गरी लाइटवेट च्याम्पियन भएकी हुन् । सन् २००६ यता उनले यो उपाधि गुमाएकी छैनन् ।
यसै प्रतियोगिताको सुरुआतमा प्राप्त सफलतापछि केटी ओलम्पिकमा पहिलोपटक समावेश गरिएको महिला बक्सिङमा छनोट भएकी हुन् । ‘अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्त रहयो । खेलको अन्तिम समयसम्म मैले जितें भनेर अनुमान नै गर्न सकेकी थिइन किनकि एकदमै ‘क्लोज’ खेल रहयो,’ ओचिगाभाविरुद्ध विजय भएपछि केटिएको प्रतिक्रिया थियो, ‘सोफिया स्तरीय खेलाडी हुन् । सायद अब उनी र म एकअर्काका ठूला प्रतिद्वन्द्वी भएका छौं ।’ दोस्रो ‘बाउट’ को समाप्तिमा दुवै खेलाडीले बराबर अंक प्राप्त गर्दै ४–४ ले खेललाई रोचक र प्रतिस्पर्धात्मक बनाइरहेका थिए ।
चीनकी रेन केन्कान फ्लाइवेट च्याम्पियन भइन् । उनले बेलायती प्रतिद्वन्द्वी निकोला एडम्सलाई १४–१० ले हराइन् । ‘निकै कठिन भिडन्त रहयो । यसअघिका खेलमा एडम्सविरुद्ध हारेकाले यस सफलताबाट म सन्तुष्ट र आत्मविश्वासी भएकी छु,’ कोन्कानले भनिन् । यता एडम्सले भने निर्णायकले पक्षपात गरेको आरोप लगाइन् । ‘मेरो विचारमा खेलको अन्त्यमा जुन नतिजा आयो त्यो सही भएन,’ उनले आक्रोश व्यक्त गरिन्, ‘त्यो गलत निर्णय थियो तर बक्सिङप्रति समर्पित हुनाले आफू यहाँ विजयी भएको मलाई महसुस छ ।’
इङल्यान्डकी सेभाना मार्सलले मिडिलवेट उपाधि जितिन् । आफ्नो २१आंै जन्मदिनलाई विशेष बनाउने क्रममा उनले अजरबैजानकी एलेना भिस्ट्रोपोभालाई रोमाञ्चक भिडन्तमा १७–१५ ले हराइन् र आगामी लन्डन ओलम्पिकमा विश्व नम्बर–१ का रूपमा सहभागिता निश्चित गरिन् । उत्तर कोरियाकी पार्क क्योङ पोल्यान्डकी म्याग्डेलिना स्टेलम्याचलाई १०–५ ले हराएर वेल्टरवेट च्याम्पियन भइन् । फिलिपिन्सकी जेसी ग्याबुको लाइट फ्लाइवेट विजेता भइन् । उनी चिनियाँ प्रतिद्वन्द्वी जु सिकीलाई साँघुरो अन्तरमा पराजित गर्ने क्रममा १०–९ ले अगाडि रहिन् ।
लन्डन ओलम्पिकअन्तर्गत महिला बक्सिङका तीन विधा फ्लाइवेट, लाइटवेट र मिडिलवेटका लागि यस प्रतियोगिताबाट आठ/आठ खेलाडी छनोट भए । लन्डन ओलम्पिकमा प्रत्येक विधाका ३६ खेलाडीमध्ये १२ खेलाडी वाइल्ड कार्डमार्फत सहभागी हुनेछन् ।

प्रतिक्रिया