युरोपियन च्याम्पियन्स लिग फाइनल आज


म्युनिख, ६ जेठ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको यस संस्करणको विजेता टुंगो शनिबार राति हुँदै छ । युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिताको फाइलनमा शनिबार जर्मन क्लब बायर्न म्युनिखले इङलिस प्रतिद्वन्द्वी चेल्सीको सामना गर्नेछ । दुवै टोली भरखरै घरेलु लिगमा भोगेको नमीठो पराजय बिर्सने प्रयासमा छन् ।
जर्मन राजधानी आइपुगिसकेको चेल्सी चार वर्षअघि रुसको मस्कोमा व्यहोरेको पीडा बिर्संदै पहिलोपटक युरोपियन च्याम्पियन बन्ने दौडमा छ । सन् २००८ को संस्करणको फाइनलमा चेल्सी घरेलु प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग टाइब्रेकरमा पराजित भएको थियो ।
इङलिस प्रिमियर लिगमा चेल्सी यस सिजन छैटौं स्थानमा रहयो । यद्यपि एफए कपको उपाधि जित्दै चेल्सी सेमिफाइनलमा साविक विजेता बार्सिलोनालाई हराएर युरोपियन च्याम्पियन बन्नबाट एक पाइला मात्र पछि छ । टोलीको खराब प्रदर्शनपछि गत मार्चमा प्रशिक्षक आन्द्र भिल्लास बोआसलाई बर्खास्त गरेको चेल्सीले रोबर्टो डी माटेओलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेपछि नयाँ जीवन प्राप्त गरेको छ । ‘मस्को फाइनलपछि चेल्सीलगत्तैको संस्करणमा पनि फाइनल पुग्छ भन्ने धेरैले अनुमान गरेका थिए ।’ अन्तिमपटक फाइनल पुग्दा म्यानचेस्टर युनाइटेडविरुद्ध अतिरिक्त समयमा रातो कार्ड पाउँदै बाहिरिएका चेल्सीका स्ट्राइकर डिडियर ड्रोग्वाले भने, ‘तर दोस्रोपटक फाइनल प्रवेश गर्न निकै गाह्रो भयो ।’
यता पूर्वविजेता बायर्न म्युनिख दुई वर्षअघि इन्टरमिलानविरुद्ध फाइनलमा व्यहोरेको हार बिर्सने प्रयासमा छ । म्याड्रिडमा सम्पन्न उक्त फाइनलमा बायर्न इन्टरसँग २–० ले पराजित भएको थियो । तर हालसालै घरेलु लिगमा डोर्टमन्डसँग ५–२ ले पराजित भएपछि बायर्न लिगको दोस्रो स्थानमा रहेर पीडामा छ ।
एकातर्फ लिग गुमाउनु र अर्कोतर्फ फराकिलो अन्तरमा पराजय भोग्नुले बायर्नका लागि शनिबार रातिको फाइनलमा राहत लिने राम्रो अवसर छ । त्यसका लागि घरेलु मैदान बायर्नका लागि निकै उपयोगी सावित हुन सक्नेछ । चेल्सीलाई पराजित गरे बायर्न सन् १९६५ पछि घरेलु मैदानमा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोली बन्नेछ । पछिल्लोपटक यो उपलब्धि इन्टरमिलानले हासिल गरेको थियो ।
अन्तिमपटक सन् २००१ मा विजेता भएको बायर्न अहिलेसम्म चारपटक च्याम्पियन भएको छ । यसपटक सेमिफाइनलमा बायर्नले स्पेनिस क्लब रियल म्याड्रिडलाई टाइब्रेकरमा पराजित गरी फाइनल यात्रा तय गरेको हो । चेल्सी र बायर्नबीचको एउटा विशेषता भनेको यसपटक दुवै टोलीले सेमिफाइनलमा स्पेनिस क्लबलाई हराएका थिए ।
रोमाञ्चक हुने आशा गरिएको यस भिडन्तमा दुवै टोलीका केही खेलाडी प्रतिबन्ध (कार्ड) का कारण मैदानमा उपस्थित हुन सक्ने छैनन् । यसमा चेल्सीलाई धेरै गाह्रो हुन सक्नेछ । बायर्नका होल्गर बेडस्टुबर, डेभिड एलाबा र लुइज गुस्टाभो प्रतिबन्धका कारण हुने छैनन् भने घुँडाको चोटका कारण ब्रेनो पनि टोलीमा नरहने पक्का भइसकेको छ । प्रतिबन्धितमध्ये बेडस्टुबरको स्थान नेटोली टिमोस्चुकले र एलाबाको स्थान डिएगो कोन्टेन्टोले लिन सक्ने बताइएको छ । त्यस्तै चेल्सीका लागि फाइनलमा जोन टेरी, ब्रानिस्लाभ इभानोभिक, रेमिरेज र राउल मोरालेस साथमा रहने छैनन् । फ्लोरेन्ट मालौडा पनि हयामस्ट्रिङका कारण खेल्न सक्ने सम्भावना कम रहेको जनाइएको छ ।
फाइनलमा बायर्नका स्ट्राइकर मारिओ गोमेज आकर्षणको केन्द्र बन्नेछन् । उनले जारी संस्करणमा १२ गोल गरिसकेका छन् । त्यस्तै बायर्नकै अर्जेन रोबेनले चार र फ्रान्क रिबेरीले तीन गोल गरेका छन् । त्यस्तै चेल्सीका ड्रोग्वाले पाँच गोल गरेका छन् भने फ्रान्क लाम्पार्डले तीन गोल गरेका छन् ।

प्रतिक्रिया