ओलम्पिक कमिटीको खाताबाट १२ लाख गायब

काठमाडौं, ५ जेठ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारी मान्यताप्राप्त ओलम्पिक कमिटीले आफ्नो बैंक खाताबाट गैरकानुनी ढंगले पैसा झिकेको आरोप लगाएको छ । ‘नेपालमा ओलम्पिक मुभमेन्ट सञ्चालनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र एसियाली ओलम्पिक काउन्सिल (एओसी) बाट आउने गरेको रकम नेपालका विभिन्न चार बैंकमा जम्मा हुने गरेको छ ।’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानले भने, ‘तर अहिले प्राइम बैंकबाट मात्र १२ लाख रुपियाँ झिकिएको थाहा पाएका छौं । अन्य बैंकबाट पनि पैसा झिकिएको बुझेका छौं ।’
केही वर्षअघि सर्वोच्च अदालतले रुक्मशमशेर राणा अध्यक्ष रहेको एनओसीलाई मान्यता दिंदै प्रधान अध्यक्ष रहेको एनओसीको नाममा रहेको बैंक खाता रोक्का गरेको थियो । दुई ओलम्पिक कमिटी समानान्तर कार्यरत रहेको विवाद अझै कायम छ यद्यपि अन्तर्राष्ट्रिय गतिविधि भने प्रधान नेतृत्वको एनओसीले गरिरहेको छ । बैकबाट झिकिएको रकम यथाशीघ्र सम्बन्धित बैंकमा फिर्ता गर्न राणा अध्यक्ष रहेको एनओसीलाई आग्रह गर्दै प्रधानले त्यसो नभए आइओसी स्तरबाट राणा–नेतृत्वविरुद्ध कारबाहीको पहल थालिने चेतावनी दिए । ‘राणालाई हामीले पैसा फिर्ताका लागि चिठी पठाएका छौं र ताकेताका लागि फेरि पठाउँछौं । उनले अटेर गरे आइओसी र एनओसीलाई पत्राचार गरेर उनीविरुद्ध कारबाही थाल्नेछौं,’ प्रधानले भने । तर, अर्काकै नाममा रहेको खाताबाट राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीले कसरी पैसा झिके भन्ने चाहिं विवादपूर्ण देखिएको छ ।

“सर्वोच्चको सम्मान गर्दै अर्को कमिटी”
सर्वोच्च अदालतको सम्मान गर्नका लागि आफूहरूले अर्को ओलम्पिक कमिटी गठन गरी आइओसीसँग काम गर्ने प्रयास गरेको प्रधानले बताए । ‘अहिले अन्तर्राष्ट्रिय मान्यताप्राप्त हाम्रो कमिटीलाई अदालतले अवैध भनेको छ । त्यसैले अर्को संस्था गठन गरी हामीले नै आइओसीसँग कारोबार गर्न खोजेका हौं ।’ आफ्नो चतुर योजनाबारे उनले भने, ‘यसबाट नेपालको विवाद नेपालभित्रै सीमित रहन्छ । देशबाहिर जाँदैन ।’ कम्पनी ऐनअन्तर्गत अर्को संस्था दर्ता गरेर आफैले आइओसीसँग राज्यको वैधतासहित ध्रुवबहादुर प्यानलले काम गर्ने लामो समयदेखि प्रयास गरिरहेको छ ।’

वैदेशिक प्रशिक्षण एक महिना मात्र
आसन्न लन्डन ओलम्पिकमा ११ खेलाडीका लागि वाइल्ड कार्डको प्रयास गरिएको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका महासचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । ‘लन्डन ओलम्पिकमा चार खेलाडीको सहभागिता निश्चित छ,’ श्रेष्ठले भने, ‘बाँकी ११ खेलाडीका लागि वाइल्ड कार्डको प्रयास गरिएको छ । यसको नतिजा जुनको दोस्रो सातासम्म आइपुग्नेछ ।’
आसन्न ओलम्पिकमा नेपालबाट एथलेटिक्स र पौडीका दुई–दुई खेलाडीको सहभागिता निश्चित छ । एथलेटिक्समा पुरुषतर्फ तिलकराम थारू र महिलामा प्रमिला रिजाल छिन् भने पौडीमा श्रेया धिताल । बाँकी एक पौडी खेलाडीमा प्रसिद्धजंग शाह र शैलेश राणामध्ये एक हुनेछन् । केही सातापछि भारतमा हुने एक प्रतियोगितापछि यी दुईमध्ये को छनोट हुने निक्र्योल हुने महासचिव श्रेष्ठले जानकारी दिए ।
लन्डन ओलम्पिकका लागि नेपाली खेलाडीले एक महिनाको वैदेशिक प्रशिक्षण पाउने भएका छन् । एनओसीले जुनको तेस्रो सातादेखि नेपाली खेलाडीको वैदेशिक प्रशिक्षण सुरु हुने जनाएको छ । ओलम्पिक तयारीका लागि नेपाललाई २५ हजार युरो प्राप्त भएको जनाइएको छ । वाइल्ड कार्डका लागि प्रयास गरिएका खेलाडीमा बक्सिङका पूर्णबहादुर लामा, सञ्जु लामा र सरस्वती राना छन् भने तेक्वान्दोका आयशा शाक्य र रोहित तामाङ । त्यसैगरी सुटिङबाट स्नेहा राज्यलक्ष्मी राणा र अस्मिता राई, जुडोबाट दीपककृष्ण श्रेष्ठ र फुपु लामु खत्री छन् भने साइक्लिङबाट अजय पण्डित क्षत्री र निर्जला ताम्राकार छन् ।

प्रतिक्रिया