एभरेस्ट म्याराथन १६ जेठमा

काठमाडौं : विश्वकै सवैभन्दा उच्चस्थानमा हुने म्याराथन ‘तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन’ को १०औं संस्करण यही १६ जेठमा हुने भएको छ ।
हिमालयन एक्सिपिडिसन एन्ड स्पोटर्स एडभेन्चर्सको आयोजनामा हुने प्रतियोगितामा १ सय ६० भन्दा बढी धावक सहभागी हुनेछन् । एक्सिपिडिसनरी बेस क्याम्पबाट सुरु हुने म्याराथन दौड नाम्चे बजारमा गएर टुंगिनेछ । पहिलोपटक सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले उक्त सफलता पाएको ५०औं वर्षका अवसरमा यो प्रतियोगिता सन् २००३ देखि सुरु भएर लगातार सञ्चालन हुँदै आएको छ ।
यसपटक सहभागी हुने विदेशीको संख्या ६५ छ । सबैभन्दा बढी अस्ट्रेलियाबाट २५ धावक छन् । त्यस्तै अमेरिकाबाट १०, बेलायत र भारतबाट सात–सात, इटालीबाट चार, क्यानाडा र न्युजिल्यान्डबाट तीन–तीन तथा जर्मनी, नेदरल्यान्ड्स र नर्वेबाट दुई–दुई र अस्ट्रिया, हङकङ, दक्षिण अफ्रिका र पोल्यान्डबाट एक–एक खेलाडी सहभागी हुनेछन् । (सौस)

प्रतिक्रिया