शाहरूखलाई रंगशाला प्रवेशमा आजीवन प्रतिबन्ध


मुम्बई, ५ जेठ । मुम्बई क्रिकेट एसोसिएसन (एमसिए) ले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट क्लब कोलकाता नाइटराइडर्सका सहमालिक तथा बलिउड सुपरस्टार शाहरूख खानविरुद्ध प्रहरीमा उजुरी गर्दै मुम्बईको वान्खेडे रंगशालामा प्रवेश गर्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । वान्खेडे स्टेडियममा बुधबार भएको आइपिएल खेलमा विजयी भएपछि मैदान प्रवेश गर्ने प्रयास गरेका शाहरूखलाई रोक्न प्रयास गर्दा उल्टै उनले सुरक्षाकर्मीलाई दुव्र्यवहार गरेको र क्लबका अधिकारीलाई गाली गरेको एमसिएको आरोप छ ।
खेलसकिएलगत्तै बुधबार मध्यरातमा एमसिए अधिकारी मेरिन ड्राइभस्थित प्रहरी चौकीमा शाहरूखविरुद्ध उजुरी लेखाउन पुगेका थिए । खेल सकिएलगत्तै शाहरूख अनधिकृत रूपमा मैदान प्रवेश गर्न खोजेको एमसिएको आरोप छ ।
एमसिए कोषाध्यक्ष रवि सावन्तले प्रेस ट्रस्ट अफ इन्डिया (पिटीआई) सँग भने, ‘शाहरूखले खेलपछि सुरक्षाकर्मीलाई र अध्यक्ष विलासराव देशमुखसहित एमसिए अधिकारीलाई दुव्र्यवहार गरे ।’ उनले एमसिएले वान्खेडे रंगशालामा प्रवेश गर्नबाट शाहरूखलाई आजीवन प्रतिबन्ध लगाएको जानकारी दिए ।
यता आइपिएल प्रमुख राजीव शुक्लाले शाहरूखविरुद्ध गरिएको उक्त कारबाहीबारे एमसिए अध्यक्ष देशमुखसँग कुरा गर्ने बताए । ‘यस विषयमा केही बोल्नुअघि म एमसिए, शाहरूख र सुरक्षाकर्मीसँग छुट्टाछुट्टै कुरा गर्छु,’ शुक्लाले भने, ‘आजीवन प्रतिबन्ध, एमसिएको कार्यसमितिले गरेकोले म देशमुखसँग कुरा गर्छु ।’ यता एमसिए सचिव नितिन दलालले पनि एनडिटिभीसँग बोल्दै शाहरूख वान्खेडे रंगशालामा प्रवेश गर्नबाट अब आजीवन प्रतिबन्धित हुन लागेको जानकारी दिएका थिए ।
सावन्तले अर्को भारतीय टेलिभिजन ‘हेडलाइन्स टुडे’ सँग कुरा गर्दैै शाहरूखले खेलका सबै कार्यक्रम सकिएपछि रंगशालामा प्रवेश गर्न प्रयास गरेको र सुरक्षाकर्मीले त्यहाँबाट हट्न भन्दा ती सुरक्षाकर्मीमाथि नै ‘हातपात गरेको’ बताए । त्यसपछि शाहरूखले निरन्तर अपशब्द बोल्दै र सम्झाउन आएका एमसिए अधिकारीसमेतलाई अश्लील शब्द प्रयोग गरी दुव्र्यवहार गरेको एमसिएको आरोप छ । सहायक प्रहरी कमिसनर अनुमान गरिएका एमसिएकै एक अधिकारीले पनि उक्त घटनाका क्रममा शाहरूखलाई शान्त बनाउन प्रयास गरेका थिए । एमसिए कार्यसमितिको बहुमतले शाहरूखको उक्त सजायमा सहमति जनाएको थियो । सावन्तले ‘प्रेजेन्टेसन सेरेमोनी’ पछि एक्रेडिसन कार्डविना नै शाहरूखले मैदान प्रवेश गर्ने प्रयास गरेकाले उनले सबै नियम उल्लंघन गरेको बताए ।
‘अशोभनीय घटना भएको छ र त्यहाँ अश्लील शब्द पनि प्रयोग भएको छ ।’ भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का प्रमुख प्रशासकीय अधिकृत रत्नाकर शेट्टीले भने, ‘त्यसैले गर्दा एमसिए अधिकारी रिसाएको पक्कै हुनुपर्छ । त्यहाँ के भएको रहेछ, हामी बुझ्नेछौं । यस विषयबारे बिसिसिआईले पनि अध्ययन गर्नेछ र एमसिएलाई आवश्यक सुझाब दिनेछ ।’

‘म्याच–फिक्सिङ ओझेल पार्ने प्रयास’

पूर्वक्रिकेटर तथा भारतीय जनता पार्टीका सांसद कीर्ति आजाद वान्खेडे स्टेडियम प्रकरणमा अभिनेता शाहरूख खानको बचाउमा देखापरेका छन् र उनले यो सबै प्रकरण चालु आइपिएलमा देखापरेको म्याच–फिक्सिङ प्रकरणबाट ध्यान अन्यत्र मोड्ने प्रयास भएको बताएका छन् ।
‘मलाई लाग्छ, यो सबै योजनाबद्ध प्रयास म्याच–फिक्सिङ प्रकरणले बिसिसिआई र आइपिएलमाथि अहिले उठिरहेको ठूलो सवालबाट आममानिसको ध्यान अन्यत्र मोड्नका लागि गरिएको हो । मलाई शाहरूख खानले मदिरा सेवन गरेर सात बालबालिकासित रंगशाला आएर त्यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहार गर्न सक्छन् भन्ने विश्वास लाग्दैन,’ संसद्बाहिर पत्रकारहरूसित कुराकानी गर्दै उनले भने ।
‘के प्रहरीले उनको मेडिकल जाँच गरेको थियो ? के तपाईंलाई लाग्छ, आफ्ना चारैतिर क्यामरा तैनाथ रहेको शाहरूखको स्तरको मानिसले त्यस्तो काम गर्न सक्छ ?’ उनले प्रश्न गरे । यो सबै प्रकरणका लागि आजादले मुम्बई क्रिकेट एसोसिएसनलाई दोषी ठहर्‍याए । स्मरणीय छ, आइपिएलमा म्याच–फिक्सिङबारे सबैभन्दा पहिले उनले नै संसद्मा आवाज उठाएका थिए । खान प्रकरण सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रिय जनता दल प्रमुख लालुप्रसाद यादवले भने, ‘यो त एकपक्षीय कुरा मात्र भयो । यस मामिलामा कुनै प्रतिक्रिया व्यक्त गर्नुअघि शाहरूखको भनाइ पनि राम्ररी सुन्नुपर्छ । उनी एकजना असल अभिनेता हुन् ।’

प्रतिक्रिया