आरक्ष विस्तारमा अवरोध

वीरगन्ज : पर्सा वन्यजन्तु आरक्षको क्षेत्रपल विस्तारमा स्थानीयले अवरोध गरेका छन् ।
आरक्ष विस्तारबारे प्रभावित क्षेत्रका बासिन्दाको राय संकलन गर्न पुगेका कर्मचारीलाई बारा अमलेखगन्जका बासिन्दाले घेराउ गरी विस्तार योजना रद्द गर्ने निर्णय लेख्न लगाएर पठाएका छन् ।
प्रस्तावित विस्तार योजनाका विपक्षमा रहेका सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्ताले कर्मचारीलाई यस्तो निर्णय लेख्न लगाएर फर्काएका हुन् । ‘विस्तार चाहिँदैन भनेर होहल्ला भएपछि छलफल कार्यक्रम रद्द गरेर फर्किन लागेका कर्मचारीलाई रोकेर विपक्षमा निर्णय लेख्न लगाए,’ अमलेखगन्जका पूर्वगाविस अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता समूहका केन्द्रीय सदस्य भरत घलेले भने, ‘विस्तारको समर्थन पाउने आशामा गाउँ आएका कर्मचारीले विरोधको सामना गर्नुपर्‍यो ।’
स्थानीय बासिन्दाको वन सम्पदामा पहुँच र अधिकार कम हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दा र जिल्लास्थित सामुदायिक वन समूहका उपभोक्ताले आरक्ष विस्तार योजनाको विरोध गरेका हुन् । उनीहरूले यसअघि जिल्ला वन र आरक्ष कार्यालयमार्फत आरक्ष विस्तार रोक्न प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
सरकारले वन र चुरे क्षेत्रको संरक्षणका लागि अमलेखगन्जलगायत रतनपुरी र निजगढ गाविसको एक सय २७ वर्ग किमी वन क्षेत्र गाभेर आरक्ष विस्तार गर्न लागेको छ । पूर्वतर्फ निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्रयाकसम्मको जंगल क्षेत्र गाभेर आरक्ष विस्तार गरिन लागेको वार्डेन जग्गनाथ सिंहले जानकारी दिए । प्रस्तावित क्षेत्रको नक्सांकन कार्यसमेत भइसकेको छ । प्रस्तावित क्षेत्रमा दुई दर्जनभन्दा बढी वन समूहको स्वामित्वमा रहेको एक सय ९८ वर्ग किमी सामुदायिक वन मध्यवर्ती क्षेत्रमा समावेश गरिने तयारी आरक्षको छ । (सौस)

प्रतिक्रिया