कतारमा कामदारको माग थपिँदो

काठमाडौं, ४ जेठ । सन् २०२२ हुने विश्वकप फुटबलका लागि भौतिक पूर्वाधार निमार्णलाई तीव्रता दिइरहेको कतारले कामदारको माग बढाउन थालेको छ । विश्वकप फुटवलका लागि रंगशाला र ठूला तारे होटल निमार्णको काम तीव्र भएपछि निमार्ण क्षेत्रका लागि कतारले पछिल्लोपटक कामदारको माग उच्च बनाएको हो ।
कतारले भौतिक निमार्णलाई तीव्रता दिँदै कामदारको माग बढाएपछि सन् २०१२ भित्रै करिब एक लाख विदेशी कामदारले थप रोजगारीको अवसर पाउने भएका छन् । कतारले अन्य मुलुकभन्दा नेपालबाट बढी कामदार लिने भएकाले सबैभन्दा बढी नेपाली कामदार यो अवसरवाट लाभान्वित हुने व्यवसायीको भनाइ छ । अहिले खाडी मुलुकमध्ये सबैभन्दा बढी माग कतारका कम्पनीले पठाउने गरेको व्यवसायी बताउँछन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ भौतिक निर्माणको क्षेत्रलाई तीव्रता दिएकै कारण पछिल्लो समय कतारले कामदारको माग बढाएको बताउँछन् । नेपाली कामदार बढी विश्वासिला र लगनशील भएकाले पनि माग बढी भउको उनको भनाइ छ । ‘कतारले विश्वकप फुटबलका लागि निमार्ण क्षेत्रमा ठूलो संख्यामा माग पठाउन थालेको छ,’ उनले भने, ‘विगतको भन्दा पारिश्रमिक समेत बढाएर कामदारको माग भइरहेको अवस्था छ ।’ तर, अहिले मागको २५ प्रतिशतसमेत कामदार पठाउन नसकिएको तामाङले बताए ।
उनका अनुसार भौतिक निर्माणलाई तीव्रता दिइरहेको कतारले पछिल्लोपटक नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक ८ सय रियल अर्थात् १६ हजार रुपियाँ पुर्‍याएको छ । अन्य मुलुकबाट भन्दा निर्माण क्षेत्रमा नेपाली कामदार बढी लिने इच्छा देखाएको कतारले उनीहरूको पारिश्रमिक समेत बढाउँदै लगेको हो । कतारले नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, फिलिफिन्सलगायत मुलुकबाट कामदार लिने गरेको छ ।
ती मुलुकबाट आउने कामदारले कम पारिश्रमिकमा काम नगर्ने भएकाले पनि कतारले नेपालीलाई बढी माग पठाएको व्यवसायीको बुझाइ छ । यसअघि सरकारले नै नेपाली कामदारको न्यूनतम पारिश्रमिक अदक्ष कामदारको हकमा ८ सय रियाल अर्थात् १६ हजार रुपियाँ तोकेको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी कामदार कतार गएका छन् । विगतका वर्ष नेपाली कामदार बढी मात्रामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने गरेको भए पनि यस वर्ष भने कतार अग्रपंक्तिमा आएको विभागका अधिकारीको भनाइ छ ।

प्रतिक्रिया