दिल्ली डेयरडेभिल्स शीर्षमा यथावत्


दिल्ली,४ जेठ। दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अंकतालिकाको शीर्षस्थानमा यथावत् रहेको छ । मंगलबार राति भएको म्याचमा पन्जाब सुपरकिङसलाई पाँच विकेटले पराजित गरेपछि दिल्लीले कम्तीमा प्ले अफ खेल्ने निश्चित भएको छ । १३७ रनको विजयलक्ष्य पाएको दिल्लीले एक ओभर बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । दिल्लीका लागि माहेला जयाबद्र्धनेले नटआउट ५६ रन जोडे । उनले ४९ बलको सामना गर्दै आठ चौका प्रहार गरे । दिल्लीको सुरुआत भने राम्रो रहेन । ५.४ ओभरमा दिल्लीले ३७ रन जोड्दै चार विकेट गुमाइसकेको थियो । डेविड वार्नर १४, वीरेन्द्र सहवाग आठ, बेनुगोपाल राव सात तथा रोस टेलर शून्यमा आउट भए ।
जयाबद्र्धनेले नमन ओझासँग मिलेर पाँचांै विकेटका लागि ५८ रनको साझेदारी गरे । ओझाले २९ बलमा तीन चौका र दुई छक्काको सहयोगले ३४ रन जोडे । यसैगरी, इरफान पठानले १० बलमा १९ रन जोडे । जयाबद्र्धनेले धैर्यतापूर्वक ब्याटिङ गर्नुअघि परमिन्दर अवानाले दिल्लीका तीन ब्याट्सम्यानलाई आउट गरे । टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले आठ विकेटको क्षतिमा १३६ रन जोडयो । पन्जाबका डेविड हसीले ३५ बलमा ४० रन जोडे । नटआउट रहेका हसीले पाँच चौका र एक छक्का प्रहार गरे । मन्दीप सिंहले १२ बलमा २१ रन जोडे । पन्जाबलाई कम योगफलमा सीमित गर्ने क्रममा उमेश यादवले घातक बलिङ गरे । यादवले चार ओभरमा २१ रन खर्चिंदै तीन विकेट लिए ।
नितिन सैनीलाई १५ रनमा आउट गरेका यादवले अजहर मेहमुदलाई नौ तथा पीयूष चावलालाई १० रनमा आउट गरे । बरुण यादवले चार ओभरमा २४ रन खर्चिंदै पन्जाबका दुवै ओपनर मन्दीप सिंह, सउन मार्सको विकेट लिए । यस सत्रको आइपिएलमा प्रभावकारी रहेका बलर मोर्ने मोर्कलले चार ओभरमा ३२ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् ।
पहिलो चरणका १४ खेलमा दिल्लीले १० जितसहित २० अंक बटुलेको छ । मुम्बई इन्डियन्सको १८ अंक छ । कोलकाता नाइटराइडर्स र १५ खेल खेलेको चेन्नाई सुपरकिङसको समान १७/१७ अंक छ । १४ खेल खेलेका रोयल च्यालेन्जर बंगलोरको १५, राजस्थान रोयल्स र पन्जाब सुपरकिङसको समान १४ अंक छ । प्रतियोगिताबाट बाहिरिइसकेका पुणे वारियर्सको आठ तथा डेक्कन चार्जर्सको पाँच अंक छ ।
प्रतियोगितामा बंगलोरका क्रिस गेलले सर्वाधिक ५७८ रन प्रहार गरेका छन् । राजस्थानका अयान्क राहानेले ५४१, डेक्कनका शिखर धवनले ५३८, कोलकाताका गौतम गम्भीरले ५१९ तथा दिल्लीका सहवागले ४८४ रन बनाएका छन् । १४ खेल सकिंदा दिल्लीका मोर्न मोर्केलले सर्वाधिक २१ विकेट लिएका छन् । मुम्बईका लासिथ मालिङगाले २०, कोलकाताका सुनील नारायनले १७, पीयूष चावलाले १६ तथा पन्जाबका परिमिन्दर अवानाले १५ विकेट लिएका छन् ।
१४ खेल सकिंदा तीन इनिङमा २०० रनका आँकडा पार भएका छन् । बंगलोरले दिएको २०६ रनको लक्ष्य पछयाउने क्रममा चेन्नाईले २०८ रन जोडेको थियो भने दिल्लीले मुम्बईसँगको खेलमा २०७ रन जोडेको थियो ।

प्रतिक्रिया