फर्डिनान्ड युरो कपमा अटेनन्

लन्डन : यसै वर्ष हुने युरोकपमा भेट्रान इङलिस डिफेन्डर रियो फर्डिनान्ड नहुने भएका छन् । प्रशिक्षक रोए हजसनले बुधबार घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टोलीमा म्यानचेस्टर युनाइटेडका यी डिफेन्डरले ठाउँ पाएनन् ।
तर राष्ट्रिय टोलीमा लामो समयदेखि रियोसँगै रहेका अर्का डिफेन्डर जोन टेरी भने टोलीमा अटाए । आर्सनलका १८ वर्षीय विंगर एलेक्स एक्सलेड चेम्बरलेन र नर्विच सिटीका गोलकिपर जोन रुडीले भने पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाए ।
कप्तान घोषणा नगरिएको टोलीमा गोलकिपरतर्फ म्यानचेस्टर सिटीका जोए हार्ट र वेस्ट हयामका रोबर्ट ग्रिन पनि छन् । त्यस्तै डिफेन्डरमा लिभरपुलका ग्लेन जोन्सन, म्यानचेस्टर युनाइटेडका फिल जोन्स, म्यानचेस्टर सिटीकै जोलेओन लेस्कोट, चेल्सीका गेरी काहिल र एस्ली कोल र एभर्टनका लेटन बेनेस छन् । त्यस्तै मिडफिल्डरमा आर्सनलका थिओ वाल्कोट, लिभरपुलका स्टेवार्ट डाउनिङ र स्टेफन जेरार्ड, म्यानचेस्टर सिटीका ग्यारेथ बेरी र जेम्स मिल्नर, चेल्सीका फ्रान्क लाम्पार्ड, टोटेनहयामका स्कट पार्कर र म्यानचेस्टर युनाइटेडका एस्ली योङ छन् ।
फर्वार्डमा म्यानचेस्टर युनाइटेडका वेन रुनी र डेनी वेल्बेक, लिभरपुलका एन्डी क्यारोल र टोटेनहयामका जर्मेन डिफो छन् । वेल्बेक र डिफो पछिल्लो दुई वर्ष राष्ट्रिय टिममा रहे पनि पहिलो ११ सदस्यीय टोलीबाट खेल्न पाएका छैनन् । म्यानचेस्टर युनाइटेडका पल स्कोल्स र माइकल क्यारिक पनि राष्ट्रिय टोलीमा ठाउँ पाउन असफल रहे । हजसनले यसअघि नै वेन रुनीलाई टोलीमा राख्ने संकेत गरे पनि रुनी प्रतिबन्धका कारण सुरुका दुई खेलमा सहभागी हुन सक्ने छैनन् ।
आर्सनलका लागि यस सिजनमा ६ खेलमा मात्र सहभागी भएका चेम्बरलेनको भाग्य भने गत फेब्रुअरीमा खुलेको थियो । राष्ट्रिय टोलीका अन्तरिम प्रशिक्षक स्टुवार्ट पर्सले नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा समावेश गरेपछि चेम्बरलेनको पाइला राष्ट्रिय टोलीतर्फ बढेको थियो । (एपी)

प्रतिक्रिया