जीवनभरि संघर्षको दौड

५३ वर्षीय योगेन्द्रनाथ कर्माचार्यका बुबा विश्वनाथ बनेपामा नाम चलेका वैद्य हुन् । यातायात व्यवसायमा समेत सामान्य सक्रिय बुबाकै कारण २०३७ सालदेखि योगेन्द्रनाथ पनि यातायात क्षेत्रमै लागे । व्यापारी परिवार भएकाले बाल्यकालमा बाँच्नका लागि ठूलो संघर्ष गर्नुपरेन तर बच्चैदेखिको सामाजिक क्षेत्रप्रतिको समर्पणले उनले जिन्दगीमा धेरै आरोह–अवरोह भने बेहोर्नुपर्‍यो । यातायात क्षेत्रलाई त छाडेनन् नै, उनको पाइला सामाजिक क्षेत्रमा पनि सक्रिय छ, अझै ।

काभ्रेको बनेपा–२ भोलखाटोलका कर्माचार्य कक्षा ६ मा पढ्दादेखि नै जुनियर रेडक्रसमा सक्रिय थिए । अहिले एक दर्जनबढी संघसंस्थामा क्रियाशील छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रहेका कर्माचार्य अरनिको यातायात सेवा समितिका पूर्वअध्यक्ष हुन् । तीन कार्यकालसम्म नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य रहेका उनी सोही संस्थाको काभ्रे जिल्लाका पूर्वसभापति पनि हुन् । परिवार नियोजनमा मात्रै उनले २७ वर्ष बिताएछन् ।
आजाद माविबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेपछि नुज भोमी क्लबका अध्यक्ष बनेका उनी लायन्स, लियो, रेयुकाईलगायतमा सक्रिय भए । २०५० सालदेखि १३ वर्षसम्म नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष बनेका उनी उक्त महासंघ र नेपाल यातायात व्यवसायी महासंघको एकीकरणबाट बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रमुख सल्लाहकार हुँदै २०६८ वैशाखदेखि निर्विरोध निर्वाचित अध्यक्षको जिम्मेवारीमा छन् । बनेपाको आजाद उच्च मावि, ज्ञानकुञ्ज उच्च मावि, आभास र काँठु गणेश साकोस, जिल्ला सहकारी संघ, चण्डेश्वरी छाना सुधार समिति, हृदयरोग प्रतिष्ठान, रामभक्त कोख सिरपा, प्रतिभा सम्मान प्रबन्ध गुठीलगायतका एक दर्जन बढी संघसंस्थामा क्रियाशील उनी २०४९ सालका बनेपा नगरपालिकाका निर्वाचित वडाध्यक्षसमेत हुन् ।
२०४० सालमै अरनिको यातायात सेवा समितिको सचिव रहेका कर्माचार्य ३२ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय छन् । यो सक्रियता र पदीय दायित्वबाट जीवनलाई नियाल्दा संघर्षभित्र सफलता देख्छन् उनी, धैर्यभित्र समाधान देख्छन् अनि बाधा–अवरोधभित्र सफलताको आधार देख्छन् । ‘निरुत्साहन र उदासीनताले सम्भावनाहरू मारिदिन्छ, यीसँग जुध्न सके मात्रै पाइने हो सफलता,’ जीवन दर्शनले सिकाएको उनको सफलता सूत्र ।
राष्ट्रिय यातायात नीतिको अभाव, बन्द, हडताल, तोडफोड र जुलुसका कारण कष्टसाथ अघि बढिरहेको यातायात क्षेत्रभित्र पनि उनी सम्भावना देखिरहेका छन् तर सरकारको उदासीनता, सडकलाई शान्ति क्षेत्र बनाउने नेताहरूको प्रतिबद्धताको कार्यान्वयन अभाव अनि १२ लाख ८० हजार सवारीसाधन भएको देशमा यातायात मन्त्रालयलाई छायामा पारिनुलगायतले उनले यातायात क्षेत्रमा जोखिम बद्दै गएको महसुस पनि गरिरहेका छन् । ‘कुन सडकमा कति क्षमताका गाडी चलाउने, कहाँ कति भाडा राख्नेलगायतका कुरा स्पष्ट पार्न सरकारले राष्ट्रिय यातायात नीति ल्याउनुपर्छ,’ कर्माचार्य भन्छन्, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ पनि परिमार्जन गर्नुपर्ने भैसकेको छ तर सरकार गर्दैन, सबै दोष यातायात व्यवसायीलाई लगाउँछ र आफू उम्कन खोज्छ ।’ ‘सिन्डिकेट प्रणालीमा नीति निर्माण, भाडालगायत सबैको जिम्मेवारी उसैलाई हुन्छ, तर यहाँचाहिँ सबै सरकारले गर्छ अनि यातायात व्यवसायीलाई उल्टै सिन्डिकेटको आरोप लगाउँछ,’ भन्छन्, ‘खासमा नेपालमा सिन्डिकेट होइन, आलोपालो पद्धति छ, यातायात मन्त्रालय छुट्टै राखेर यसबारे सबै नयाँ नीति ल्याउन सक्छ, मन्त्रालय नभए व्यवसायी, यात्रु र मजदुरको सुरक्षा हुनै सक्दैन ।’
व्यवस्थित यातायात नीतिको अभावले यातायात व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको तीतो अनुभव सँगालेका उनी कुर्सी र स्वार्थका लागि होइन, संस्थाको हित र आत्मसन्तुष्टिका लागि अघि बढ्दा जीवनमा खुसी मिल्ने बताउँछन् । देशभरिका सडकमा पाँच हजार सवारीसाधन गुड्ने अवस्थादेखि अहिले १२ लाख ८० हजार सवारी साधनसम्म आइपुग्दा तथा सामाजिक क्षेत्रमा लामो समय बिताउँदा उनले धेरैको जीवनलाई नियालेका छन् । ‘इमानदार र लगनशीलता अनि आरोह–अवरोह अन्त्य गर्ने आत्मबलले जीवन सफल पार्छ,’ उनले आफ्नो अनुभव सुनाए, ‘पैसाबाट सम्मान र इज्जत पाइँदैन, बरु काम र इमानदारीले पैसा कमाइन्छ । पैसा होइन, इज्जत र सम्मानचाहिँ जीवनका लागि सर्वेसर्वा हुन् ।’
प्रवेशिका पास गरेको २०३२/०३३ सालमा सरकारी सेवा र धन सम्पत्ति कमाउने प्रशस्त अवसर थिए उनीसँग । न उनले सरकारी जागिर खाए, न यातायातलाई आफ्नो नाफा, घाटाको ठूलो व्यवसाय बनाए तर उनी सामाजिक र यातायात क्षेत्रमा निरन्तर क्रियाशील भइरहेछन् । सामाजिक र यातायात क्षेत्रमा ठूलो हन्डर खाएका तीता अनुभव सुनाउने उनी आफ्नो शरीरभित्र धेरै संघर्षका रेखा दौडिरहेका देख्छन् । उनको विचारमा लक्ष्य र आत्मसन्तुष्टिको दौडमा जीवन कुदिरहेको हुन्छ, जहाँ लक्ष्य, आत्मसन्तुष्टि र सफलताको भेट हुन गाह्रो छ तर निरन्तरको यात्राले एक दिन भेट गराउँछ । ‘कसैले फलको लागि कर्म गर्छ तर कर्मपछिको फलभित्र जीवन हुन्छ ।’
सामाजिक क्षेत्रको नशामा डुबेपछि परिवारभन्दा आफ्नो संस्था र सम्बन्धित क्षेत्र बढी प्रिय भएको अनुभव उनीसँग धेरै छन् । २०५१ साल भदौ १५ गते अरनिको यातायात सेवा समितिको साधारणसभा भइरहेका बेला उनलाई श्रीमती सुत्केरी व्यथाले छटपटिएको खबर आयो, उनले साधारणसभा छाड्न सकेनन् तर अरूलाई भनेर श्रीमतीलाई प्रसूतिगृहमा भर्ना भने गराए । बेलुका जाँदा नर्सको गाली खानुसम्म उनले खाए तर सामाजिक क्षेत्रमा काम गर्न छाडेनन् । अहिले पनि उनलाई परिवारले ‘श्रीमती सुत्केरी हुँदा पनि आफ्नो काम नछाड्ने व्यक्ति’ भनेर गुनासो गर्छन् । ‘सामाजिक क्षेत्रमा यसरी नशामा डुबिएछ कि परिवार, सुखसयल र मोजमस्तीलाई बिर्सियो, पैसाभन्दा इज्जत र सम्मान ठूलो भनेर हिँडिएको छ, हिँडिन्छ,’ उनले अनुभवको निक्र्योल निकाले, ‘पैसा कमाउनुभन्दा आत्मसन्तुष्टिको बाटो असल रहेछ भनेर लाग्नु नै जीवनको लक्ष्य हो, आत्मसन्तुष्टिको सफलता प्राप्त नभएसम्म लागिरहन्छु, अहिले गर्ने हरेक संघर्षभित्र मैले सफलता देखिरहेको छु, एक दिन त्यो प्राप्त हुन्छ ।’

प्रतिक्रिया