भत्किएका विचारले घोचेको हृदय

आमाबुबा पढाउन सक्ने हैसियतमा थिएनन् । त्यसैले भोजपुरस्थित गाउँका जंगलमा गाईवस्तुसँगै बरालिएर बस्थ्यो एउटा किशोर । राजनीति, मन्त्री, प्रधानमन्त्रीजस्ता शब्द र तिनले बोक्ने कार्यभार ब्रह्माण्डजत्तिकै बृहद् तर ‘बुझ्न नसकिने’ थिए सायद उसका लागि । तैपनि पढ्नुपर्छ भन्ने हुटहुटीले हुत्याएपछि भोजपुरबाट तराईतिर झर्‍यो त्यो बालक । उद्देश्य एउटै थियो– विद्यालय भर्ना हुनु । तर, आर्थिक दूरावस्था कायमै थियो, नयाँ ठाउँमा खर्चको जोहो कसरी होला ? तैपनि उसले आँत दह्रो पारेको थियो– आफैँले कमाएर पढ्छु । त्यही आँटिलो स्वभावका कारण त्यो किशोरले आज सफलताको लामै यात्रा तय गरिसकेको छ । आफ्ना लागि आफैँले संघर्ष गर्ने क्रममा समयका लामै शृंखला पार गर्दै कञ्चन किशोरवयबाट परिपक्व वयस्कतामा प्रवेश गरिसकेको छ । यो ‘नोस्टाल्जिया’ हो, मुकुन्द न्यौपानेको । जो आज नेकपा (एमाले) का पोलिटब्युरो सदस्य छन् । बाराबाट दुईपटक प्रतिनिधिसभा सदस्य र मन्त्री पनि भइसके ।

उनले गरेका संघर्षका किस्सा पनि लामै छन् । जब उनी काम गरेर पढ्ने भन्दै भोजपुर झरे, जागिर उति सजिलै पाउने अवस्था कहाँ थियो र ? सानैदेखि कथा, कविता लेख्न मन पराउँथे । त्यही स्वभावका कारण अन्य विद्यार्थीको सम्पर्कमा पुगे । उनीहरूसँग नजिकिने मौका पाए । त्यति नै बेला भारतले नेपालको सुस्ता, महेशपुरमा गरेको अतिक्रमणका विरुद्ध जुलुस निस्कियो । विद्यार्थीहरूको जोसिलो जुलुसको एउटा हिस्सा उनी पनि बने । त्यो आन्दोलनले राष्ट्रियता र त्यसको रक्षाका सवालमा उनको लगाब बढाइदिएछ । तर, ‘आन्दोलनकारी’ भइखाँदा तत्कालीन अवस्थामा बल्लबल्ल पाएको जागिर पनि गुमाउनुपरेछ ।
तैपनि उनीभित्र राजनीतिक चेतनाले अब नउप्किने गरी जरो गाडिसकेको थियो, बीस वर्षको कलिलै उमेरमा भूमिगत राजनीतिमा लागिसकेका थिए ‘जनताका लागि’ । ‘अरूले बनाएको संगठन र कमिटीमा लाग्ने होइन, आफैँ निर्माण गर्ने मेरो बानी थियो’, उनले सुनाए । सुरुका दिनमा उनलाई कसैले पुष्पलाल श्रेष्ठको मान्छे भनेछन् त कसैले मनमोहनको । ‘तर मलाई ती दुवै समूहका बारेमा जानकारी थिएन,’ उनी सुनाउँदै छन् ।
झापा आन्दोलनपछि बनेको पार्टी जिल्ला कमिटीको सदस्य बनेपछि मात्रै उनको संगठित यात्रा सुरु भएको रहेछ । ‘पहिलोपटक माओको रेडबुक पढेपछि मैले आफूजस्ता गरिबका लागि के गर्नुपर्ने रहेछ भन्ने बुझेँ,’ आफैँसँग नामथर मिल्ने एक विद्यार्थीले यस्ता पुस्तक उपलब्ध गराइदिने गरेको सम्झँदै छन् उनी, ‘कम्युनिस्ट के चाहन्छन् भन्ने किताब अध्ययन गरेपछि त पूरापूर कम्युनिस्ट भइहालेँ नि †’
झापा विद्रोहमा चाहिँ उनको विमति रहेछ उतिबेला, मान्छे मार्नु हुँदैन भन्नेमा पक्षमा रहेछन् । त्यसैले त्यति बेला चारु मजुमदारले चलाएको आन्दोलन उनलाई ‘आतंकवाद’ लागेछ । भन्छन्, ‘व्यक्तिहत्या भनेको जहिले पनि आतंकवाद नै हो ।’ त्यति नै बेलादेखि कम्युनिस्टहरूबीच विचारको भिन्नता सुरु भएको सुनाउँछन्, शान्तिपूर्ण रूपमा जाने कि सशस्त्र रूपमा भनेर । जे होस्, ‘हामी नेपाली हाम्रो नेपाल’ भन्ने भावना दह्रोसँग गडिसकेको भने थियो उनको हृदयमा । त्यसैले नेपालीलाई अपमानित गर्ने गरी चलाइएका हिन्दी सिनेमाका पोस्टर निकै जलाएछन् उनीहरूले । विभाजनको सिकार भने भोगी नै रहनुपर्‍यो यात्राले । सँगै रहेका सिपी मैनालीहरूसँग विभाजित भए, ०२९ सालमा आएर । ‘हामीलाई दक्षिणपन्थीको आरोप लगाए’, उनले सम्झिए । त्यसपछि आफूसँग विचार मिल्ने साथीहरूका साथ राष्ट्रियस्तरको संगठन बनाउन नारायणी अञ्चलतिर लागेछन् ।
यति लामो आन्दोलनका बीच उनी कहिल्यै जेल भने परेनन्, कारण– उनको फोटो त्यति बेला कहीँ–कतै सार्वजनिक भएको थिएन । उनको पक्राउपूर्जी लिएर उनकै रँनामका अर्का साथीकामा प्रहरी नपुगेको भने होइन । तैपनि पर्याप्त आधार नभएपछि फर्किएको रहेछ । ‘०४६ को परिवर्तनपछि मात्रै हो मेरो फोटो सार्वजनिक भएको’, उनले सुनाए । ०४६ सालमा मजदुरहरूको महासंघ बनाउने सोचले जिफन्टको अवधारणा ल्याउने आफैँ रहेको बताए उनले ।
भूमिगत हुँदाताकाका तीता र मीठा क्षण अझै पनि उनको स्मृतिमा घुमिरहन्छन् । देशका धेरै ठाउँ भौँतारिए । बाराको लालमा पुग्दा निकै अचम्म लागेछ । तमाङहरूको उक्त बस्तीमा सबैका हातमा माओको रेडबुक देखेछन् । सबै जना माओलाई ‘हाम्रो जातिका भगवान्’ भनिरहेका रहेछन् । किताबमा के छ भन्दा पनि बाहिरपट्टिको फोटोले नै उनीहरूलाई आकर्षित गरेको रहेछ । मुकुन्दलाई त्यहाँ गतिलो आत्मीयता प्राप्त भो । तर, सरकारी कर्मचारीले पिछा गर्न थालेपछि उनले त्यो गाउँ छाडेछन् । भन्छन्, ‘बारामा बस्दा हलो पनि जोतेँ जनताको बारीमा । त्यहीँ बसेर गीत, कविता र नाटक लेखेँ । बाराले धेरै दिएको छ मलाई । सांसद्, मन्त्री, कवि, लेखक सबै त्यही भूमिका बासिन्दाले बनाएका हुन् ।’
भूमिगत कालमै चौधरीका बस्तीहरूतिर पुगेछन् मुकुन्द । त्यहाँ उनले घुँगी खाएको देखेर चौधरी महिलाहरू निकै हाँसेछन् । सुरुमा मुकुन्दलाई घुँगी सानो अमलाजस्तो पो लागेछ । ‘म त खुरुखुरु चपाउन थालिहालँेछु,’ चौधरी महिलाहरू हाँसेको सम्झिएर अहिले पनि हाँस्दै छन् उनी । त्यसो त बारामा बस्दा भाषाको निकै हैरानी खेप्नुपरेछ । उनले बोलेको चौधरीहरू नबुझ्ने, चौधरीले बोलेको उनलाई छेउटुप्पो थाहा नहुने । तैपनि बाराका जनताले उनको सुरक्षाका लागि ठाउँठाउँमा सुरुङ बनाइदिएछन् । ‘आज पनि बाराका जनताको त्यो आत्मीयता भुल्न सक्दिनँ, निकै माया गर्छन् मलाई,’ उनले कृतज्ञता प्रकट गरे, ‘नत्र आफ्नै सुमदायको चौधरीलाई हराएर दुई–दुईपटक मलाई किन जिताउँथे ? त्यो त मेरो कर्मभूमि नै हो ।’ तर, अबको गणतन्त्रमा बारा फेरिएको छ, त्यहाँ प्रवाहित विचार पनि फेरिँदै छ । अब पनि उनलाई त्यहाँका जनताले जिताउलान् त ? ‘त्यति बेला विचारको शक्तिले जिताएको थियो, तर अब वैचारिक शक्ति भत्किइसकेको छ, विचार निष्प्रभावी हुँदै छ,’ उनले सुनाए ।
माक्र्सवादको ठोस सिद्धान्त एउटै हो तर नेपालका कम्युनिस्टहरूले आ–आफ्नै स्वार्थअनुकूल व्याख्या गरेको उनलाई पटक्कै चित्त बुझ्दो रहेनछ । भन्छन्, ‘माक्र्सवादको दर्शन पनि कहीँ फरकफरक हुन्छ ? एउटै देशमा उही हँसिया र हथौडा बोक्ने ११ वटा पार्टी † सबै सर्वहारा रे † अनि कसरी त्यहाँका जनताको उन्नति होस् ।’
उनका धारणामा राजनीति भनेको विचारको शक्ति हो, जनताको शक्ति हो । तर, अहिले भने सत्ता र पैसाजस्तो पो भएको छ । भन्छन्, ‘हामी लाग्दा न सत्ता थियो, न पैसा । खालि त्याग गर्नुपर्छ भन्ने पवित्र भावनाले प्रभावित गरेको थियो ।’ उनले बुझेको माक्र्सवादको छेउटुप्पै मिल्दैन रे अहिलेको प्रवृत्तिसँग । भन्छन्, ‘हामीले त जनताका लागि सोच, देशका लागि सबै कुरा त्याग भन्ने बुझेको हो, ०३६ सालसम्म यसबाहेक केही सोच्दैनथे पनि नेताहरू ।’ भूमिगत कालमा आठ वर्षसम्म सम्पर्क नहुँदा परिवारले आफू मरिसक्यो भनेर माया मारेको सम्झिए उनले ।
पार्टीमा विचारको धरातलै देख्दैनन् उनी अहिले । ‘एकाउन्न–बाउन्न सालबाट यस्तो भयो, यही कारण राजनीतिक सन्तुलन पूरै खल्बलियो, बहुदलीय व्यवस्था नै बदनाम हुन पुग्यो,’ उनी भन्दै छन्, ‘दलहरूसँग विचार नै छैन, आज स्वार्थको प्रभावमा परेर एउटासँग अनि भोलि अर्कासँग मिल्ने पनि कुनै विचार हुन्छ ? आज एउटा कुरा बोल्छन्, भोलि अर्कै †’ एउटै पार्टीमा बसेर दिनैपिच्छे गुट फेर्नुको कारण सत्ताप्राप्तिका लागि हुने मोलतोलको परिणति भएको सुनाउँछन् ।
जिन्दगीमा माओत्से तुङको निधनमा आँसु बगाएका उनी मदन भण्डारीको अवसानमा पनि निकै रोएका रहेछन् । नेपालका नेताहरूमध्ये मदन भण्डारी र बिपी कोइरालालाई सधैँ स्मरण गरिरहने उनले सुनाए, ‘उनीहरूको जस्तो विचार अहिले नेपालका कुनै पार्टीमा छैन ।’

प्रतिक्रिया