सहमतिप्रति कांग्रेसको समिक्षा

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसले राज्य पुनर्संरचना, शासकीय स्वरुप र सरकारका विषयमा आज आन्तरिक छलफल गरेको छ ।
संविधानका विवादित विषयमा दलहरुका वीच बालुवाटारमा मंगलबार भएको सहमति, पार्टी अडान लगायतमा छलफल भएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा सीमित केन्द्रीय पदाधिकारी र सदस्यवीच प्रमुख दलहरुले गरेको सहमतिका बारेमा आन्तरिक परामर्श भएका हुन् ।
छलफल पछि सञ्चारकर्मीसंग कुरागर्दै उपसभापति पौडेलले सुदूरपश्चिमका जिल्ला कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा जारी आन्दोलनका बारेमा समेत परामर्श भएको बताए । उनले विभिन्न माग राखेर आन्दोलनरत पक्षसँग परामर्श गरि निकास निकाल्न कांग्रेसले सम्बन्धित निकायलाई सुझाव दिएको बताए ।
केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार बाँडफाँटका  विषयमा कुराकानी भएको भन्दै संसदीय पद्धतीलाई सहयोग पुग्ने गरेर अधिकार वितरण गर्न सुझाव दिएको बताए ।
कांग्रेसले सीमाङकन र नाम राख्ने बारेमा आयोग बनाएर निकास दिनुपर्ने जनाएको छ । कांग्रेसले संसदीय व्यवस्था छाडेको भन्दै केही सदस्यले नेतृत्वको आलोचना समेत गरेका थिए ।

प्रतिक्रिया