‘कोइराला–बैद्य भेटबार्ता’

काठमाडौं, ३ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले सबैलाई समेट्दै संविधान निर्माण कार्यको अगुवाई गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
कोइरालाले संविधान निर्माणमा नेतृत्वका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ । महाराजगञ्जस्थित आफ्नै निवासमा भेटगर्न पुगेका एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यसंगको भेटमा सभापति कोइरालाले त्यस्तो कुरा बताएका हुन् ।
एमाओवादी उपाध्यक्ष बैद्यले दलहरुबीच शासकीय स्वरुप र राज्य पुनर्संरचनाका विषयमा भएको सहमति प्रति कोइरालासंग असन्तुष्टी जनाएका थिए ।
उनले सभापति कोइरालालाई नयाँ संबिधान बन्दै गर्दा सबै पक्षसंग छलफल र परामर्श गरेर अगाडी बढ्न आग्रह समेत गरेका छन् ।
जवाफमा सभापति कोइरालाले लोकतान्त्रिक मूल्यमान्यतामा सम्झौता नगरी सबै पक्षलाई समेट्नु पर्नेमा कांग्रेस स्पष्ट रहेको बताएका छन् ।
कोइरालाले भने, ‘सबैलाई समेट्ने योजनाका साथ भूमिका निर्वाह गर्न कांग्रेस तयार छ ।’
कोइरालासंगको भेटपछी सञ्चारकर्मीहरुसंग कुरा गर्दै एमाओवादी नेता बैद्यले सबैलाई समेट्दै अगाडि बढ्न कांग्रेसले अहम् भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले बालुवाटारमा भएको सहमति आफूहरुलाई जानकारीनै नगराई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्झौतामा विमती रहेको बताए ।
यसैबीच आजै बिहान दरै समुदायका प्रतिनिधिहरुले सभापति कोइरालालाई ज्ञापन पत्र बुझाउदै आफूहरुको माग पुरा गर्न दबाव दिएका छन् । उनीहरुले आफ्ना समुदायलाई पनि पहिचान सहितको स्वायत्त राज्य उपलब्ध गराउन माग गरेका हुन् ।

प्रतिक्रिया