ब्यालोतेलीले सिटी नछाड्ने


लन्डन, २ जेठ । एक दिनअघि मात्र इङलिस प्रिमियर लिग (इपिएल) उपाधि जितेको म्यानचेस्टर सिटीका गर्विला प्रशिक्षक रोबर्टो म्यान्चिनीले स्ट्राइकर मारियो ब्यालोतेली अर्को सिजनमा पनि सिटीमै आबद्ध रहने बताएका छन् ।
म्यान्चिनीले गत महिना आर्सनलविरुद्धको म्याचमा रेडकार्ड पाएर छिट्टै खेलबाट बाहिरिन पुगेका ब्यालोतेलीलाई ‘चालु सिजनको समाप्तिसँगै बेच्न सकिने’ सम्भावना रहेको सार्वजनिक गरेका थिए ।
उनको देश इटालीमा प्रकाशित–प्रसारित समाचारअनुसार भने ब्यालोतेली उल्लेखनीय रकमको नयाँ सम्झौता गर्दै एसी मिलानमा ‘ट्रान्सफर’ हुने र उनको ठाउँमा जिलाटान इब्राहिमोभिक सिटीमा ल्याइने चर्चा निकै चलेको थियो । तर म्यान्चिनीले मंगलबार मात्रै ब्यालोतेली अन्यत्र कतै नजाने प्रष्ट पारेका हुन् ।
‘इब्रा एकजना उत्कृष्ट खेलाडी हुन् तर मलाई एसी मिलानले उनलाई बेच्ला जस्तो लाग्दैन,’ ‘ग्याजेटा डेलो स्पोटर््स’ सित कुराकानी गर्दै म्यान्चिनीले भने, ‘मैले सत्य बोल्नुपर्छ– पछिल्ला केही सातादेखि हामीले खेलाडी स्थानान्तरणको बजारतिर हेरेकै छैनौं । हाम्रो सम्पूर्ण ध्यान लिगमै केन्द्रित थियो तर ब्यालोतेलीबारे भने सबैजना स्पष्ट छौं– उनी १०१ प्रतिशत सिटीमै रहनेछन् ।’
ब्यालोतेलीले क्वीन्स पार्क रेन्जर (क्युपिआर) विरुद्ध आइतबार राति भएको खेलको ९४औं मिनेटमा सुन्दर पास मिलाइदिएर सर्गियो अग्वीरोले गोल गरेपछि म्यानचेस्टर सिटीले उक्त म्याचसँगै सन् १९६८ पछि पहिलोपटक इपिएल उपाधि जितेको थियो । ब्यालोतेली युरो–२०१२ मा खेल्ने इटालियन टोलीको पहिलो सूचीमा समावेश गरिएका छन् ।
‘मलाई विश्वास छ, मारियोले युरोपियन च्याम्पियनसिपमा अत्यन्त उल्लखेनीय प्रदर्शन गर्नेछन् । उनले आफ्नो प्रदर्शनको भरमा राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् किनभने अहिले इटालीमा उनका स्तरको अर्को स्ट्राइकर नै छैन,’ म्यान्चिनीले भने, ‘जम्मा उनले आफ्नो दिमागलाई उपयुक्त ढंगले प्रयोग गर्न सक्नुपर्छ । उनको समस्या त्यत्ति मात्र हो ।’
इन्टरमिलानबाट खेलिरहेका ब्यालोतेली अगस्त २०१० मा सिटीसित खेल्ने गरी आबद्ध भएका हुन्, जहाँ उनको करार जुन २०१५ सम्म छ । लन्डनमा मंगलबार प्रकाशित विभिन्न समाचारअनुसार, इपिएल च्याम्पियन म्यानचेस्चर सिटी आगामी सिजनका लागि आर्सनलका डच स्ट्राइकर रोबिन भान पर्सीलाई न्यूनतम पनि २ करोड ५० लाख पाउन्डमा भित्र्याउन उत्सुक छ ।

प्रतिक्रिया