ओलम्पिक सपना बुन्दै बेलायती राजकुमारी


लन्डन,  ३ जेठ । उनका दुवै अभिभावक ओलम्पियन हुन्, त्यसैले अहिलेसम्म उनी ओझेलमै छिन् । उनी अर्थात् जारा फिलिप्स, बेलायती राजकुमारी एनीकी छोरी । आसन्न लन्डन ओलम्पिकमा बेलायतको तर्फबाट इक्वेस्ट्रियन (घोडचढी) टिममा आफू पनि रहने ३० वर्षीय जारालाई आशा छ । सन् २००८ को बेइजिङ ओलम्पिकका लागि राष्ट्रिय टिममा रहेर पनि आफ्नो घोडा घाइते भएपछि जाराले नाम फिर्ता लिनुपरेको थियो । सोही दु:खद् घटनालाई बिर्सने प्रयासमा छिन् उनी यसपटक ।
जारा यसपटक ओलम्पिकमा रहनुपर्छ त ? अवश्य पनि, किनभने राजपरिवारभित्रको ‘हायरार्की’ मा १४आंै नम्बरमा रहेकी जाराकै कारणले बेलायतका हजारांै र विश्वभरका १०आंै लाख मानिस इक्वेस्ट्रियन खेललाई सम्झना गर्छन् ।
शाही परिवार र घोडा एकअर्कासँग आबद्धझंै लाग्छन् । कारण के भने, इक्वेस्ट्रियन बेलायतको राजपरिवारमा निकै प्रसिद्ध छ । यो नै एक मात्र यस्तो ओलम्पिक खेल हो जसमा खेलाडी र जनावर बराबरीको संख्यामा हुन्छन् ।
राजकुमार हयारी र विलियम्स पोलोका ठूला खेलाडी हुन् तर उनीहरू ओलम्पिकमा सहभागी भएनन् किनभने पोलो ओलम्पिक खेल नै होइन । त्यसैले लन्डन ओलम्पिक जाराका लागि महत्त्वपूर्ण समय हुनेछ । तर भाग्य यतिबेला जाराको पक्षमा देखिएको छैन ।
उनी यसै वर्ष ब्याडमिन्टन काउन्टीमा हुने भनिएको ‘ट्रायल’ मा सहभागी हुने तय भएको थियो । तर सो प्रतियोगिता वर्षाका कारण स्थगन भएको छ । ‘एलिट’ खेलाडी सहभागी हुने यो प्रतियोगिता ‘अनअफिसियल’ विश्व च्याम्पियनसिपका रूपमा थियो । सन् १९८७ पछि यो पहिलोपटक यसरी स्थगन भएको हो । उक्त प्रतियोगिता आगामी जुनमा हुने कार्यक्रम छ ।
जाराले सन् २००६ मा भएको विश्व च्याम्पियनसिप जितेकी थिइन् । यसैकारण उनी आफ्नी हजुरआमा अर्थात् महारानी एलिजावेथ द्वितीयबाट सम्मानित भइन् । उनी ‘अर्डर अफ द ब्रिटिस एम्पायर’ बाट विभूषित भएकी हुन् । सोही वर्ष बिबिसीले जारालाई ‘स्पोटर््स पर्सनालिटी अफ द इयर’ का रूपमा छनोट पनि गर्‍यो । बेइजिङ ओलम्पिकमा सहभागी हुन नपाएको पीडाबाट मुक्त हँुदै उनी गत वर्षको सेप्टेम्बरमा सम्पन्न एक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पुन: चर्चामा आएकी हुन् ।
इक्वेस्टेरियन महिला र पुरुष सँगै प्रतिस्पर्धा गर्ने खेल हो । धेरै अगाडिदेखि नै यस खेलमा बेलायतले राम्रो गर्दै आएको छ तर जब ओलम्पिक खेल नजिकिन्छ तब मात्र यस खेलको चर्चा हुने गर्छ ।
जारा राजपरिवारकी सदस्य भए पनि उनलाई छनोटमा कुनै ‘विशेष छुट’ हुँदैन । ‘यदि उनी छनोट हुन्छिन् भने पक्कै पनि उनको क्षमतामा मात्र त्यो सम्भव हुन्छ ।’ बेलायतका इक्वेस्ट्रियन अधिकारी भन्छन् ।
जाराकी आमा एनी र बुबा मार्क फिलिप्स पनि ओलम्पिकमा सहभागी भएका थिए । दुवै इक्वेस्ट्रियनका खेलाडी थिए तर दुवैको अनुभव फरक छ । एनी सन् १९७६ को मन्ट्रियल ओलम्पिकमा सहभागी थिइन् तर दौडने क्रममा उनी घोडाबाट लडेकी थिइन् । उनी अहिले लन्डन ओलम्पिक आयोजना कमिटीको सदस्य छिन् ।
यता सेनाका पूर्वअधिकृत मार्कले सन् १९७२ को म्युनिख ओलम्पिकमा स्वर्णपदक जितेका थिए भने सन् १९८८ को सिउल ओलम्पिकमा रजतपदक । हाल अमेरिकी इक्वेस्ट्रियन टिमलाई प्रशिक्षण गरिरहेका मार्कले जाराको ओलम्पिक तयारीमा पनि सहयोग गरिरहेको बताइन्छ ।
जाराले आफ्ना अभिभावक निकै बुझक्कड भएको भन्दै त्यसले बेलाबखत समस्या उत्पन्न गराउने गरेको ‘जोक’ का रूपमा भन्ने गरेकी छन् । तर जे भए पनि इक्वेस्ट्रियनमा जाराको प्रवेश खेलाडी अभिभावककै कारण भने उनी मान्न तयार छिन् ।
मार्क यतिबेला दोस्री श्रीमतीसँग सम्बन्ध विच्छेद गरी छोरी जाराभन्दा पाँच वर्ष मात्र जेठी अमेरिकी एक उच्च इक्वेस्ट्रियन खेलाडीसँग विवाह गर्न लागेको केही दिनअघि मात्र बेलायती अखबार ‘टेलिग्राफ’ ले यो समाचार प्रकाशन गरेको थियो । तर जारा यतिबेला यी सबै घटनालाई बेवास्ता गरेजस्तो अवस्थामा छिन् ।
‘लन्डन ओलम्पिकमा सहभागी हुनु मेरा लागि व्यक्तिगत ठूलो सपना हो,’ जाराले टेलिग्राफसँगको कुराकानीमा भनिन्, ‘सायद यो मेरो जिन्दगीकै सर्वाेच्च चुचुरो हुनेछ । किनभने हरेक खेलाडीको सपना ओलम्पिकमा सहभागी हुने नै हो ।’
जारासँगै उनका दाजु पिटर बेलायती राजपरिवारमा तल्लो क्रममा रहेका छन् । महारानी एलिजावेथ द्वितीयका आठ नातिनातिनामध्ये ‘रोयल’ उपाधि नपाउने यी मात्र दुई हुन् । एनीले जारा र पिटरलाई आमा एलिजावेथ द्वितीयले ‘रोयल’ उपाधि दिनका लागि गरेको सिफारिस अस्वीकार गरेकी थिइन् । एनीको तर्क छ, त्यस उपाधिले आफ्ना सन्तानमा ‘अरूभन्दा आफू विशिष्ट रहेको’ गलत भावना जगाउनेछ ।

प्रतिक्रिया