दाइजोका कारण रुविको हत्या भएको दाबी

काठमाडौं, ३ जेठ । दाइजोको निहुँमा रुवि मालाकार (तण्डुकार)को हत्या भएको दाबी गर्दै माइती पक्षले उनका पति प्रशान्त तण्डुकारमाथि तत्काल कारबाहीको माग गरेको छ । काठमाडौं महानगरपालिका १५ स्थित घरमा गत ३० वैशाखमा घाँटीमा सल बेरेर झुन्डिएको अवस्थामा भेटिएकी रुविको आत्महत्या नभई हत्या भएको माइती पक्षको दाबी छ ।
पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी तन्डुकार परिवारले ०६३ सालमा विवाहको केही महिनापछि दाइजो नल्याएको भन्दै बारम्बार कुटपिर्टलगायतका यातना दिने गरेको विगतमा रुविले सुनाएकाले उनको हत्या भएको दाबी गरेको छ । मृतककी आमा लक्ष्मी मालाकारले परिवारै मिली रुविको हत्या गरी आत्महत्या गरेजस्तो देखाएको आशंका गरिन् । ‘छोरीको र मेरो घर ५० मिटरको दूरीमा छ तर हामीलाई खबरै नगरी अरूको सहयोगमा नर्भिक अस्पताल पुर्‍याएर बेलुकी ८:३० बजे खबर गरे,’ उनले भनिन्, ‘त्यसबाट पनि छोरीको हत्या सुनियोजित रूपमा भएको देखिन्छ ।’ मृतकका बुबा राजेन्द्रले पनि ‘बाहिरको मान्छे तपाईंकी छोरीलाई नर्भिक अस्पतालमा राखेको छ, तुरुन्त भेट्न आउनू’ भनेपछि अस्पताल पुगेको उल्लेख गर्दै भने, ‘आँखामा रगत, टाउको सुन्निएको, मुखमा रगत जमेको, एउटा करङ भाँचिएको, शरीरभर नीलडाम भएको अवस्थामा छोरीलाई देख्यौँ, छोरीको हत्या नै भएको हो ।’ (सौस)

प्रतिक्रिया