बन्दका कार्यक्रम फिर्ता लिन आह्वान

काठमाडौ, २ जेठ । यातायात ब्यवसायी र मजदुरहरुले जेठ–१४ सम्म कुनैपनि किसिमको बन्द÷हडतालका कार्यक्रम नगर्न सबैमा आह्वान गरेका छन् ।
अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गरी बन्द÷हड्तालको कार्यक्रम नगर्न आग्रह गरेका हुन ।
उनीहरुले जेठ–१४ भित्र लोकतान्त्रिक संविधान जारी हुने सम्भावना रहेको भन्दै संविधान निर्माण कार्यमा अवरोध नगर्न आग्रह गरे ।
यातायात मन्त्रालय गठन गर्नुको साटो सरकारले यातायातलाई भौतिक योजना तथा निर्माण मन्त्रालयमा गाभेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् । उनीहरुले अलग रुपमा यातायात मन्त्रालय बनाउन माग गरेका छन् ।
ट्राफिकले जरिवाना शुल्कमा बढोत्तरी गरेर यातायात व्यवसायलाई झनै झण्झटिलो बनाएको व्यवसायीहरुको गुनासो छ । उनीहरुले सो व्यवस्था खारेजी गर्न माग पनि गरेका छन् ।
माग पुरा गराउन यातायात व्यवसायीले जेठ–१० गतेदेखि देशभरीका सार्वजनिक सवारी साधानमा कालो झण्डा राख्ने, जेठ–१२ गतेदेखि देशभरका अञ्चल यातायात ब्यवस्था कार्यालयमा कालो झण्डा राख्ने, जेठ–१३ गते यातायात ब्यवस्था विभागमा कालो झण्डा राख्ने लगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
माग पुरा नभए जेठ–१६ गते फेरि संयूक्त बैठक बसी शसक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया