डोजर लगाउँदा पाँच गर्भ खेर गए

काठमाडौं, २ जेठ । थापाथलीको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाउँदा पाँच महिलाको गर्भ खेर गएको पाइएको छ । नदीकिनारका बस्ती हटाउने क्रममा गत २६ वैशाखमा बस्तीमा डोजर लगाउँदा प्रहरीसित भएको झडप र लछारपछारका कारण दुई महिनादेखि ६ महिनासम्मको बच्चा खेर गएको एक अध्ययनले देखाएको हो ।

डोजर प्रयोगपछिको अवस्था अध्ययन गर्न गएको महिला पुन:स्थापना केन्द्र नेपालले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा यस्तो पाइएको थियो । शिविरमा रहेकी डा. प्रिस्टिना गुरुङका अनुसार अन्य १० गर्भवतीमा पनि समस्या देखिएको छ । उनीहरूको अवस्था गम्भीर भएको र तत्कालै उपचार गर्नुपर्ने अवस्था रहेको केन्द्रका कार्यकारी निर्देशक बाबुराम गौतमले बताए । सरकारले २६ गते डोजर लगाउँदा दुई सय ४८ घरपरिवारको उठीवास भएको छ भने नौ सय ९५ जना प्रभावित भएका छन् ।

चोभारवासीले सुकुम्बासी बस्न नदिने
काठमाडौं : चोभारका स्थानीय बासिन्दा र राजनीतिक दल विस्थापित सुकुम्बासीलाई चोभारमा राख्ने सरकारी तयारीको विरोधमा उत्रिएका छन् । सरकारले थापाथलीका विस्थापित सुकुम्बासीलाई चोभारमा सार्ने तयारी गरिरहेका बेला उनीहरूले सोमबार कुनै पनि हालतमा सुकुम्बासीलाई राख्न नदिने घोषणा गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं जिल्ला अध्यक्ष शिशिरप्रसाद धितालले ०२३ सालमा हिमाल सिमेन्ट कारखाना राख्दा घर अधिकरण गरेका दुई सय ८५ परिवारको व्यवस्थापन नभई सुकुम्बासीलाई राख्न नदिइने बताए । उनले हिमाल सिमेन्ट बन्द भइसकेको अवस्थामा सरकारले अधिकरण गरेको जग्गा तत्काल फिर्ता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाओवादी नेता पञ्चलाल महर्जन, जलविनायक क्षेत्र विकास केन्द्रका अध्यक्ष सुजिन्द्र महर्जन, वातावरण संघर्ष समितिका सचिव दीपक महर्जनलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया