सवारी साधनमा तोडफोड

दाङ, १ जेठ । जातीय पहिचान सहितको संघीयराज्य स्थापितको माग गर्दै ‘संघीय पक्षधर संयुक्त सघर्ष समिति’ले आह्वान गरेको ५ दिने तराई बन्दको पहिलो दिन दाङ्ग लगायतका जिल्लामा बिहानैदेखि प्रभाव परेको छ ।

बन्दकर्ताले एउटा मोटरसाइकलमा आगजनी गरेर क्षति पुराउनुका साथै दुई वटा बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बिहानै लाठी लिएर सडकमा उत्रिएका बन्द कर्ताले बन्दको अबज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्गको दाङ सडकखण्ड अन्तर्गत देउखुरी सोनपुर–१ नर्तीमा भे २ प ९५६१ नम्बरको मोटरसाईकलमा आगजनी गरेका हुन् । उनीहरुले काठमाडौंबाट आउदै गरेका ना ४ ख २५५० र ना ४ ख ६४५० नम्बरको बसमा तोडफोड गरेको ईलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

बन्दकर्ताले बस रोकेर तोडफोड गरेपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

यस्तै जिल्लाका मुख्य बजार र बिभिन्न चोक चोकमा बन्द आयोजकका कार्यकर्ताहरु लाठी लिएर बसेका छन् ।

बन्दका कारण दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारीका साधन चलेका छैनन् । बजार, शिक्षण संस्था, कलकारखाना सबै क्षेत्रमा प्रभाव परेको छ ।

कक्षा ११ को परीक्षा भने नियमित रुपमा सञ्चालन भैरहेको छ ।

‘संघीय पक्षधर संयुक्त सघर्ष समिति’मा थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिका, थरुहट स्वायत्त राज्यपरिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, थरुहट तराई पार्टीका नेपाल लगायतका १४ वटा पार्टी तथा जातीय संघसंगठन रहेका छन् ।

प्रतिक्रिया