जिपले च्यापिदिएको भाग्य

वर्षदिन भयो रामबहादुर श्रेष्ठ थला परेको । उनको दाहिने खुट्टा चल्दैन । उनी विसं २०६८ असार २० गतेदेखि वीर अस्पतालका स्थायी बिरामी बनेका छन् । ‘गाउँका लक्ष्मणभाइको बच्चा बिमारी भयो, उसलाई लिएर हाफपान्टमा सिथासम्म आएको थिएँ,’ श्रेष्ठले भने, ‘त्यहाँ निको नभएपछि उसलाई बोकेर राजधानी आएँ, फर्कंदा दशा लाग्यो ।’ अर्थोपेडिक वार्डको ३९ नम्बर बेडमा स्टिले फलामले छेडेर तन्काइएको खुट्टा मुसार्दै उनले दुर्घटनाको दोष आफ्नो जन्मलाई थोपरे ।
२०२१ साल कात्तिक मसान्तका दिन रामेछापको पकरवास–६ मा जन्मिएका श्रेष्ठले भने, ‘मसान्तीका दिन जन्मिएकाले होला, यो दशा भएको ।’ मानवताले ओतप्रोत श्रेष्ठको आत्मा कुनै ‘सिकार’ गर्न हिँडेको थिएन । उनी त पुण्य गर्न निस्किएका थिए, त्यो पनि हाफ कट्टु र गन्जी लगाएरै । गाउँकै अस्पतालमा उपचार नभएपछि परिस्थितिले उनलाई राजधानी पुर्‍याएको थियो । ‘के गर्ने बाबु, घर पुग्न २० मिनेटको बाटो थियो, एक वर्ष भयो, त्यो बाटो हिँड्नै पाइएन,’ श्रेष्ठले सरल शब्दमै गहिरो पीडा बिसाए ।
गाउँको बिरामी बालकलाई राजधानी पुर्‍याएर घर जाँदा उनी सुमो जिपमा फर्किएका रहेछन् । सानो गाडी भए पनि सामानले जिपको छत खचाखच थियो रे । ‘एक्कासि बड्याङ्ग आवाज आयो, म सामानले च्यापिएँ, त्यसपछि के भयो बाबु मैले होस पाइनँ,’ श्रेष्ठले भने, ‘होस आउँदा म वीर अस्पतालमा थिएँ ।’ घर पुग्न २० मिनेको दूरी मात्रै बाँकी रहँदा भएको जिप दुर्घटनाले श्रेष्ठको दाहिने खुट्टाको पातो नै फुटेछ । वीरका डाक्टरले अपरेसन गरेर उनलाई दुई महिना अस्पतालमै राखे । ‘असाध्यै उकुसमुकुस भएपछि’ उनी राजधानीमै रहेका एक जना भाइको घरमा गएर बसेछन् । विडम्बना उनको अपरेसन गरेको घाउ पाक्न थालेछ, उनी फेरि अस्पताल भर्ना भए । ‘अर्को अपरेसन भयो, फेरि अस्पताल बसेँ,’ श्रेष्ठले एकपछि अर्को अप्रेसनका कारण आफूले भोगेको पीडाभन्दा पनि आफ्नो अशक्तताले परिवारमा परेको समस्या सम्झिए ।
गाउँमा मिस्त्री काम गरेर दैनिक गुजारा गर्ने श्रेष्ठले भने, ‘झ्याल ढोका बनाएर परिवार धानेको थिएँ । खान पुगेको थियो । तीन छोरी दुई छोरा सरकारी स्कुलमै भए पनि पढाएकै थिएँ,’ उनले भने, ‘त्यति गरेर पनि ३०/४० हजार बचिहाल्थ्यो ।’ १० महिनादेखि ३०/४० हजार त के ३०/४० पैसा पनि देख्न नपाएको दुखेसो उनले सुनाए । मंसिर १२ देखि फेरि वीरमा भर्ना भएका श्रेष्ठ अहिले अस्पतालको शय्यामा बसेर ‘कहिले निको होला र घरको आँगन टेक्न पाउँला’ भन्ने सोचसपनामा छन् । ‘बाबु, दिन लागेपछि आफ्नै घर पनि बिरानो हुँदो रहेछ,’ त्योभन्दा पीर उनको दुर्दशाका कारण छोराछोरीको पढाइ बिग्रिएको चिन्ताले बढी पोल्दो रहेछ । छेउमै उभिएकी छोरी भगवतीलाई देखाउँदै भने, ‘यो छोरी १० महिनादेखि मलाई निको होस् भनेर लागेकी छ, के गर्ने बाबु यसको पढाइ भताभुंग भयो ।’
पहिलेजस्तै ठमठमी हिँड्न पाउने कि नपाउने भन्ने पीर एकातिर छ भने गाउँमा चलाइने अनेकथरी हल्लाले उनलाई थप कष्ट हुने गरेको छ । कुरुवा छोरी भगवतीले भनिन्, ‘म पढाइलेखाइ छाडेर बुबालाई सञ्चो होस् भनेर लागेकी छु, गाउँमा ‘फलाना’लाई त क्यान्सर भैसक्यो रे † ‘फलानो’ त बाँच्दैन रे † भन्ने हल्लाले आमा, भाइबहिनी आधा मरेतुल्य भएका छन् ।’ श्रेष्ठले भने, ‘यस्तै छ बाबु घर बसेर नेपाल देख्नेले पो बिगारी दिन्छन् ।’ राम्रै हेरचाहमा लागेका डाक्टरहरूले भने उनलाई आराम गरेमा चाँडै ठीक हुने बताएका छन् रे †
चारपटक गरिएको अपरेसनमा झन्डै अढाई लाख खर्च भइसकेको छ । गाडी समितिले दुई लाख मात्रै दिएको छ । कुरुवा, औषधि र अन्य खर्चमा थप १ लाख खर्च भइसकेको उनले बताए । ‘के गर्नु र, मर्न नसकिँदो रहेछ । परेको व्यहोर्नै पर्ने । दुई–चार हजार कमाउन एउटा बाख्रोपाठो हुर्किनुपर्छ । आठ–दस महिना लाग्छ’, श्रेष्ठले भने, ‘दिन लागे खर्च हुन के बेर हुँदो रहेछ र ?’ घरमुली बुबा अस्पतालमा थन्किएपछि लथालिंग भएको घर सम्हालिन्छ कि भनेर जेठो छोरा होटलमा काम गर्न थालेका रहेछन् । ‘उसैले फलफूल औषधि खाने पैसाको जोहो गर्छ,’ श्रेष्ठले भने, ‘छोरीको विवाह गर्नुपर्ने, आफ्नै विवाह देखियो बाबु †’

प्रतिक्रिया