नेपाल फेरि उपविजेतामै सिमित

काठमाडौं, १ जेठ । समूहचरणमा व्यहोरेको एक विकेटको पराजयको बदला एक विकेटले नै लिंदै घरेलु टोली मलेसियाले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ एलिट कप प्रतियोगितामा नेपाललाई उपाधि जित्नबाट रोकेको छ । आइतबार भएको फाइनलमा नेपाल कमजोर ब्याटिङपछि हार स्विकार्न बाध्य भयो ।
जित हात पारेका प्राय: खेलमा ‘बलिङ’ कै कारण विजयी भएको मलेसियाले नेपालविरुद्ध फाइनलमा पनि त्यसैलाई दोहोर्‍यायो । मलेसियाले टस जिती पहिला ब्याटिङ गरेको साविक उपविजेता नेपाललाई ३३ ओभरमा ११८ रनमा सीमित गरेको थियो । ११९ रनको लक्ष्य मलेसियाले पाँच बल बाँकी छँदा पूरा गर्‍यो र एसिसीका सबै उमेरसमूहका प्रतियोगिता जित्नबाट नेपाललाई रोक्यो । यस उमेरसमूहका अघिल्ला सबै दुई भिडन्तमा नेपालले मलेसियालाई पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई पराजित गरी नेपालले फाइनल यात्रा तय गरेको थियो ।
सामान्य लक्ष्य पछयाउने क्रममा मलेसियाले नेपालको कसिलो बलिङसामु पटक–पटक कठिन मोड सामना गर्नुपरेको थियो । मलेसियाका कुल तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सफल भएका थिए यद्यपि कम ‘स्कोर’ को चुनौतीमा नेपालले १९ अतिरिक्त रन दिएको थियो ।
मलेसियाले कुल ६ रन जोड्दा पहिलो विकेटका रूपमा नलिन डी सिल्भालाई शून्यमै गुमाएको थियो । आफ्नो पहिलो ओभरको पाँचांै बलमा आकाशले सिल्भालाई आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि भिरन्दीप सिंह र विनय सिंहले ४७ रनको साझेदारी गरी टोलीलाई उद्धार गरेका थिए ।
प्रारम्भिक ब्याट्सम्यान भिरन्दीप सिंहले अद्र्धशतकीय पारी खेल्दै ५४ रन जोडे भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेटकिपर विनयले २२ रन जोडे तर मलेसिया तत्कालै संकटमा रहयो । लगातार विकेट झरेपछि ८७–७ को स्थितिमा पुगेको मलेसियालाई अन्तिमक्रमका शंकर सतीशले १२ रन जोड्दै सम्हालेका थिए । उनले सम्हालिएर ब्याटिङ गरी आठौं विकेटका लागि २० रनको साझेदारी गरे । जितका लागि चार रन बाँकी छँदा मलेसियाको नवांै विकेट झरेको थियो । मलेसियाका चार खेलाडीले खाता खोल्न सकेनन् । निकै सम्हालिएर खेलेका भिरन्दीपले ११९ बल सामना गर्दै सात चौका प्रहार गरेका थिए । त्यस्तै ४४ बल सामना गरेका विनयले तीन चौका प्रहार गरे । भिरन्दीप म्यान अफ द म्याच भए । बलिङतर्फ आकाश विष्ट र कालीचरण यादवले दुई/दुई विकेट लिए ।
यसअघि समूहचरणमा झंै फाइनलमा पनि नेपाल मलेसियासामु ब्याटिङतर्फ कमजोर रहयो । प्रारम्भिक ब्याट्सम्यानद्वय नुरध्वन सेन र दीपेन्द्र चन्द तथा मध्यक्रमका आकाश र शशि मिश्रबाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो विकेटका लागि २४ रनको साझेदारी गरेको नेपाल भरपर्दा ब्याट्सम्यान सस्तैमा आउट भएपछि ८३–७ को स्थितिमा पुगेको थियो । आसिफ शैख ७, अदिल खान ४, अनुप न्यौपाने ० (शून्य) र जगदीश चन्द १ रन जोडी आउट भए । दीपेन्द्रले २१, नुरध्वजले १९, आकाशले ३५ र शशि मिश्रले १४ रन जोडे । आठौं विकेटका लागि शशि र आकाशबीच ३० रनको साझेदारी भए पनि त्यसपछिका ब्याट्सम्यान सस्तैमा आउट भए । मलेसियाविरुद्ध समूहचरणमा १४० रनको लक्ष्य पछयाउने क्रममा अन्तिम विकेटका लागि ५२ रनको साझेदारी गरी नेपाल विजयी भएको थियो । सो खेलमा अलराउन्ड प्रदर्शन गर्ने क्रममा अद्र्धशतकीय इनिङ खेल्नुका साथै तीन विकेट लिएका आकाशले फाइनलमा पनि राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडीबाट अपेक्षित साथ पाउन सकेनन् । मलेसियाबाहेकका अन्य प्रतिद्वन्द्वीविरुद्ध सानदार ब्याटिङ गरे पनि नेपालले फाइनलमा ब्याटिङकै कारण स्तब्ध बन्नुपर्‍यो । सेमिफाइनलमा नेपालले साविक विजेता सिंगापुरलाई १०१ रनले पराजित गर्दा २५० भन्दा बढी रन बनाएको थियो । प्रतियोगितामा नेपालका अलराउन्डर आकाशले १७ विकेट लिए ।
पारसलाई पूर्वसहकर्मीले एम्बासडर बनाए
पूर्वराष्ट्रिय खेलाडी राज श्रेष्ठ अध्यक्ष रहेको क्रिकेट किट्स उत्पादक भारतीय कम्पनी एसएमको एक मात्र आधिकारिक नेपाल विक्रेता आरएनबी बिजनेस प्राइभेट लिमिटेडले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान पारस खड्कालाई एक वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । यसबापत आरएनबीले पारसलाई एक लाख रुपियाँबराबरका दुई सेट क्रिकेट सामग्री दिनेछ ।
‘क्रिकेटकै खेलाडी भएकाले क्रिकेट किट्सबारे व्यापार थालेको हुँ,’ आइतबार आयोजित एम्बासडर घोषणा कार्यक्रममा यु–१५ का पूर्वराष्ट्रिय कप्तान राजले भने, ‘पारस अहिलेको चर्चित खेलाडी भएकोले सुरुमा उसैलाई रोजिएको हो ।’ अर्का एक क्रिकेट खेलाडीलाई पनि निकटभविष्यमै ब्रान्ड एम्बासडर बनाउने तयारी भइरहेको आरएनबीले जनाएको छ ।
सन् २००२ मा नेपालले एसिसी यु–१५ एलिट कप खेल्दा राज कप्तान थिए भने पारस टिमका सदस्य । सन् २००८ को आइसिसी यु–१९ विश्वकप खेलेपछि राज क्रिकेटबाट टाढिएका थिए । हाल बैंकमा जागिर गरिरहेका राजसहित राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका नि:शेष केसी र विनय श्रेष्ठ पनि आरएनबीको सञ्चालक समितिमा छन् ।

पारस आज जाने
क्यानाडामा क्रिकेट लिग खेल्नका लागि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सोमबार त्यसतर्फ प्रस्थान गर्दै छन् । क्यानाडाको कन्टारियो क्रिकेट एकेडेमीका लागि खेल्न जान लागेका पारस त्यहाँ करिब ६ महिना रहँदै आगामी सेप्टेम्बरमा नेपाल फर्कनेछन् । ‘त्यहाँ (क्यानाडा) राम्रो प्रदर्शन गर्नेछु जसका कारण अरू नेपाली खेलाडीलाई पनि त्यहाँ अवसर खुलोस्,’ पारसले भने । क्लबले निमन्त्रणा गरेको भरमा मात्र आफू त्यसतर्फ जान लागेको उनले बताए । ‘उनीहरूले निमन्त्रण गरे,’ उनले भने, ‘अरू सबै कुरा त्यहाँ गएपछि थाहा हुन्छ ।’ क्यानाडामा खेल्ने सम्पूर्ण व्यवस्था राष्ट्रिय टिमका प्रशिक्षण पुवुदु दशानायकेले मिलाइदिएका हुन् ।

प्रतिक्रिया