सहारा फोर्स इन्डियालाई आठ करोड रुपियाँ जरिवाना

लन्डन, १ जेठ । बेलायतको एउटा उच्च अदालतले भारतीय उद्योगपति विजय माल्याको फर्मुला वान टिम सहारा फोर्स इन्डियाले बेलायती फर्मुला वान टिम केटरहयाम र त्यसका प्रमुख प्राविधिक अधिकृत माइक ग्यासकोइनलाई साढे ६ लाख पाउन्ड (करिब ८ करोड ३२ लाख रुपियाँ) क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।
उक्त रकम फोर्स इन्डियाले त्यस्तै प्रकृतिको मुद्दामा यसअघि नै रेसकार निर्माण गर्ने इटालियन कम्पनी एरोल्याबलाई गत मार्चमा शुल्कवापत तिर्नुपरेको सात लाख पाउन्डभन्दा पृथक हो ।
अदालतले उक्त आदेश फोर्स इन्डिया, एरोल्याब र केटरहयामसित गाँसिएको एउटा बौद्धिक सम्पदा चोरी मामिलामा सुनाएको हो । फोर्स इन्डियाले उक्त रकम केटरहयामलाई दुई साताभित्रै तिरिसक्नुपर्नेछ । यो मामिला एरोल्याबले फोर्स इन्डियासित बक्यौता शुल्कका बारेमा सोधपुछ गर्न थालेपछि सार्वजनिक भएको हो । उक्त सोधपुछपछि नै फोर्स इन्डियाले एरोल्याब र टिम लोटसविरुद्ध गोप्य जानकारी दुरुपयोग गरेको आरोप लगाएको थियो । सोही टिम लोटस अहिले टिम केटरहयाममा परिवर्तन भइसकेको छ ।
यसअघि फोर्स इन्डियालाई उसको बौद्धिक सम्पत्तिको अनधिकृत प्रयोग भएको एक मामिलामा अदालतले २० हजार ९ सय पाउन्ड क्षतिपूर्ति दिलाएको थियो । अदालतले आफ्नो फैसलामा भनेको थियो– सन् २०१० मा टिम लोटसले फर्मुला वान सर्किटमा पदार्पण गर्दा आफ्नो रेसकारको गति बढाउन फोर्स इन्डियाको बौद्धिक सम्पत्तिको ‘संक्षिप्त’ तरिका प्रयोग गरेको थियो ।
‘अत्यन्त व्यवस्थित तरिकाबाट पूर्ण सोचविचारसहित चोरी गरिएको’ भन्ने फोर्स इन्डियाको दाबीलाई अदालतले अस्वीकार गर्दै फोर्स इन्डिया आफ्नो दाबी प्रमाणित गर्ने कुराको वरिपरि नै पनि पुग्न नसकेको ठहर गर्दै उक्त दाबी खारेज गरेको थियो ।
उक्त फैसलापछि मामिलालाई अदालतसम्म लैजान र त्यससम्बन्धी अन्य सबै खर्चसमेत यो समग्र प्रकरणमा फोर्स इन्डियाले साढे तेह्र लाख पाउन्ड रकम खर्च गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया