राज्य पुनर्संरचनामा कांग्रेसको अडान यथावत

काठमाडौं, ३१ वैशाख । कांग्रेसका शीर्ष नेताहरुको बैठकले सात प्रदेशको अडानबाट पछाडि नहट्ने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सात प्रदेशको अडानबाट पछाडि नहट्न र जातीय आधारमा राज्यको पुनःसंरचना नगर्नसमेत सुझाव दिएको छ ।

एकल जातीय आधारमा राज्यको पुनः संरचना गरिए त्यसले जातीय विखण्डन निम्त्याउने भएकाले कुनै पनि हालतमा त्यस्तो प्रस्ताव स्वीकार नगर्न नेताहरुलाई सुझाव दिइएको संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले जानकारी दिए ।

बहुपहिचान र बहुजातीयताका आधारमा मात्रै राज्यको पुनःसंरचना गर्नका लागि कांग्रेस पूर्ण इमान्दार भएर लाग्नसमेत सुझाव दिएको छ ।

सहमतिमा सबै दल आए कांग्रेस ११ प्रदेशमा जान सक्ने तर अरू दलहरु सहमतिमा नआउने केवल आफ्नै मात्र अडान रहिरहने हो भने आफ्नो अडानमा कायम रहने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले तोकिएकै समयमा संविधान निर्माण गर्नका लागि प्रतिबद्ध भएर लाग्ने समेत निर्णय गरेको प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया