रोहितको शतकले मुम्बईको जित

मुम्बई, ३१ वैशाख । इन्डियन प्रिमियरसिपको शनिबार सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्‍यो । जितपछि मुम्बई इन्डियन्स १३ खेलमा १६ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलकाता १७ अंकसहित दोस्रो स्थानमा छ ।
मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्माले शतकीय इनिङ खेले पनि चोटबाट मुक्त हँुदै यस सत्रको आइपिएलमा पहिलो खेल खेलेका दक्षिण अफ्रिकी ब्याट्सम्यान हर्सल गिब्सले धुवाँदार ब्याटिङ गरे । रोहित शर्माले ६० बलमा नटआउट १०९ तथा गिब्सले ५८ बलमा नटआउट ६६ रन जोडे । यी दुईले दोस्रो विकेटका लागि कीर्तिमानी १६७ रनको साझेदारी गरेपछि मुम्बईले एक विकेटको क्षतिमा १८२ रन जोडेको थियो । आइपिएलमा शतक प्रहार गर्ने आठौं भारतीय खेलाडी बन्ने क्रममा रोहितले १२ चौका र ५ छक्का प्रहार गरे ।
यसैगरी गिब्सले सात चौका र दुई छक्का प्रहार गरे । कोलकाताका बलर सुनील नारायनले चार ओभरमा २८ रन खर्चे भने सकिब अल हसनले चार ओभरमा २७ रन खर्चिंदै सचिन तेन्दुलकरको विकेट लिए । कोलकाताका अन्य तीन बलर ब्रेटली, ज्याक्स कालीस र रजत भाटियाको इकोनोमी १० नाघेको थियो । मुम्बईले छाडेको १८३ रनको लक्ष्य पछयाएको कोलकाता चार विकेट गुमाउँदै १५५ रनमा सीमित भयो । कोलकाताका कालीसले सर्वाधिक ७९ रनको योगदान गरे । स्टिभ स्मिथको बलमा आउट हुनुअघि ६० बलको सामना गरेका कालीसले सात चौका र तीन छक्का प्रहार गरे । युसुफ पठानले
३१ बलमा ४० रन जोडे ।
शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बंगलोरले पुणे वारियर्सलाई ३५ रनले पराजित गर्‍यो । १७४ रनको लक्ष्य पाएको पुणे ९ विकेकटो क्षतिमा १३८ रनमा सीमित भयो । मध्यक्रममा ब्याटिङ गर्न झरेका रोबिन उथप्पाले सर्वाधिक ३८ रन जोडे भने अनुस्तुप मौजुमदारले ३१ तथा स्टिभ स्मिथले नटआउट २४ रनको योगदान गरे ।
बंगलोरका पाँचैजना बलरले उत्कृष्ट बलिङ गरे । विनय कुमारले चार ओभरमा ३२ रन खर्चे पनि तीन विकेट लिए । जाहिर खानले चार ओभरमा २१ रन खर्चिंदै मोनीश मिश्र र मनीश पाण्डेको सुरुआती दुई विकेट लिए । पहिलो ओभरमा चौथो बलमा मिश्रले मिश्रालाई चार रनमा आउट गरे भने पाण्डेलाई शून्यमा आउट गरे । मुत्तैथा मुरलीधरनले चार ओभरमा १६ रन खर्चेर दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले तीन विकेटको क्षतिमा १७३ रनको योगफल खडा गर्‍यो । यस सत्रको आइपिएलमा सानदार फर्ममा रहेका क्रिस गोयलले ३१ बलमा ५७ रन जोडे । एन्जोला म्याथ्युजको बल आउट हुनुअघि उनले तीन चौका र
६ छक्का प्रहार गरे । तिलकरत्ने दिलसानले ४४ बलमा ५३ रन जाडे । यी दुईले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरे । सौरभ तिवारी ३६ तथा यस सत्र उत्तिकै फर्ममा एबी डिभिलियर्स
९ रनमा नटआउट रहे । म्याथ्युजले तीन ओभरमा १४ रन खर्चेर एक विकेट लिए । पिटिआई

प्रतिक्रिया