चौध प्रतिशतले व्यापार बढ्यो

काठमाडौं, ३१ वैशाख । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार १४ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आठ महिनामा नेपालको व्यापार तीन सय ३७ अर्ब ९४ करोड रुपियाँ पुगेको छ ।

कुल व्यापारमा निर्यातको १५ दशमलव एक प्रतिशत र आयातको ८४ दशमलव नौ प्रतिशत योगदान रहेको छ । फागुनसम्म नेपालबाट आठ दशमलव चार प्रतिशतले निर्यात वृद्धि भई ४७ अर्ब ५२ करोड रुपियाँ पुगेको छ भने आयात १५ दशमलव तीन प्रतिशतले बढी दुई सय ९० अर्ब ४२ करोड रुपियाँ पुगेको छ । आव ०६७/६८ को यो अवधिमा आयात–निर्यात व्यापारको अनुपात १५.७ भएकामा आव ०६८/६९ को सोही अवधिमा आयात–निर्यात व्यापारको अनुपात १६.१ पुगेको छ ।
नेपालको प्रमुख व्यापार साझेदारमा भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, फ्रान्स, जापान, इटाली, क्यानडा, युएई, थाइल्यान्ड, इन्डोनेसिया, अर्जेन्टिना, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, सिंगापुर आदि मुलुकहरू रहेका छन् ।
पहिलो आठ महिनामा नेपालबाट गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाँदीका गरगहना, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी आदि प्रमुख रहेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १८.३ प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड, तयारी पोसाकको निर्यातमा नौ दशमलव ६ प्रतिशतले वृद्धि भई दुई अर्ब ९२ करोड रुपियाँ हुन पुगेको छ ।
त्यसैगरी फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा आठ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड, पोलिस्टर तथा अन्य धागोमा पाँच दशमलव चार प्रतिशतले वृद्धि भई चार अर्ब १४ करोड, मुसुरोको दालमा ५० दशमलव आठ प्रतिशतले ह्रास आई एक अर्ब ५२ करोड रुपियाँ रकम मात्र स्वदेश भित्रिएको छ । सो अवधिमा ६४ करोड ८९ लाखको छाला, दुई अर्ब २० करोडको अलैंची, ८९ करोड तीन लाखको चिया, २४ करोड ५२ लाखको अदुवा, ४५ करोड २४ लाखको चाउचाउ, ४४ करोड ४५ लाखको जडीबुटी, ७० करोड ०३ लाखको टुथपेस्ट, तीन अर्ब ३० करोडको टेक्सटाइल, २० अर्ब २७ करोडको हस्तकला र ३४ करोड ८३ लाखको नेपाली हातेकागज निकासी भएको देखिन्छ ।
चालु आवको फागुनसम्म दुई करोड चार लाखको कफी, चार करोड दुई लाखको मैदा, ४५ करोड ८२ लाखको पिना, १३ करोड ८२ लाखको साबुन, तथा दुई करोड ७५ लाख रुपियाँको ट्रान्सफरमर विदेश निर्यात भएको केन्द्रले जनाएको छ ।
आयाततर्फ आव ०६८/६९ को प्रथम आठ महिनाको अवधिमा अघिल्लो आवको सोही अवधिका तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा पाँच दशमलव आठ प्रतिशतले ह्रास आई २८ अर्ब, पेट्रोलियम पदार्थमा ३० दशमलव आठ प्रतिशतले वृद्धि भई ५८ अर्ब २५ करोड, यातायातका साधन र तिनका पाटपुर्जामा १९ दशमलव चार प्रतिशतले ह्रास आई १४ अर्ब ३१ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा तीन दशमलव एक प्रतिशतले ह्रास आई १२ अर्ब २४ करोडमा झरेको छ ।
औषधिमा दुई दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ६८ करोड, मेसिनरी तथा पार्टस्मा १८ दशमलव ६ प्रतिशतले ह्रास आई १३ अर्ब ९९ करोड, पोलिथिन ग्रेन्युल्समा शून्य सात प्रतिशतले वृद्धि भई चार अर्ब ५५ करोड, कच्चा पाम आयलमा १४ दशमलव दुई प्रतिशतले ह्रास आई एक अर्ब ९६ करोड, दूरसञ्चारका सामग्रीमा नौ दशमलव दुई प्रतिशतले ह्रास आई ६ अर्ब नौ करोड, रसायनमा आडठ दशमलव आठ प्रतिशतले वृद्धि भई तीन अर्ब २८ करोड रुपियाँ रकमबाहिर गएको केन्द्रको तथ्यांकमा उल्लेख छ । यसैगरी समीक्षा अवधिमा १६ अर्ब २२ करोड रुपियाँको सुन, चार अर्ब २४ करोडको रासायनिक मल तथा एक अर्ब १७ करोड बराबरका हवाइजहाज तथा हवाइजहाजका पार्टस्समेत आयात भएका छन् । फागुन मसान्तसम्म तीन अर्ब ७४ करोडको सिमेन्ट क्लिङ्कर, चार अर्ब ९२ करोडको भटमासको कच्चातेल, पाँच अर्ब नौ करोडको तयारी पोसाक, तीन अर्ब ७३ करोडको अन्न, एक करोड १४ लाखको ऊन पनि आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्दले जनाएको छ ।
नेपालका परम्परागत निर्यातजन्य वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक आदिको निर्यातमा केही सुधार देखिए तापनि सुन, पेट्रोलियम पदार्थ, सोयाबिनको कच्चा तेल, तयारी पोसाक आदिको आयातमा उल्लेख्य वृद्धि भएको छ । जसले आव ०६८/६९ को प्रथम आठ महिना अवधिमा अघिल्लो वर्षको सोही अवधिका तुलनामा १६ दशमलव आठ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापारघाटा दुई सय ४२ अर्ब ९१ करोड रुपियाँ पुगेको छ ।

प्रतिक्रिया