समुद्रदेखि सगरमाथासम्म पैदल यात्रा गरिने

काठमाडौं : मुटुरोग रोकथामका लागि विश्वमा जनचेतना जगाउन समुद्रदेखि सगरमाथाको टुप्पोसम्म जागरण अभियान सञ्चालन गरिने भएको छ । नेपाल ह्दय रोग निवारण प्रतिष्ठानले संस्था २५औँ वर्ष प्रवेशको अवसरमा मुटुरोगविरुद्ध विश्वव्यापी जनचेतना जागरण अभियानअन्तर्गत ‘मुटु बचाउन सगरमाथा आरोहण–२०१३’ सञ्चालन गर्न लागेको हो ।
प्रतिष्ठानले सन् २०१३ मा दुई महिना लामो पैदल यात्रा गरी मुटु बचाउन जागरण अभियान चलाउन लागेको विषयमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अभियान बंगलादेशको राजधानी ढाकाको समुद्री सतहबाट थालिने र सगरमाथाको चुचुरोमा पुगेर झन्डा फहराई टुंगिनेछ । ‘यस कार्यक्रममार्फत विश्वभरका जनताको ध्यान नेपालतर्फ र मुटुरोगबाट बच्ने उपायतर्फ आकर्षण गर्ने प्रयास गरिनेछ,’ डा. रेग्मीले भने, ‘सगरमाथा धेरैले चढे तर जागरणको उद्देश्य लिएर विश्वका मानिसको सहभागितामा गर्न लागिएको यो कार्य पहिलो हो ।’
सन् मार्च २०१३ मा सुरु भएर मे महिनामा समापन हुने अभियानमा विश्व मुटु महासंघ, एसिया प्यासिफिक हार्टनेट, नेपाल हार्टनेट, विश्व स्वास्थ्य संगठन, रोटरी इन्टरनेसनल, विभिन्न देशका कार्डियाक सोसाइटीका चिकित्सक तथा स्वास्थ्यकर्मी, नेपाल पर्वतारोही संघलगायत धेरै संघसंस्था, चिकित्सक र समाजसेवी तथा पर्वतारोहीको सहभागिता रहनेछ ।
अभियानमा ‘मुटु बचाऔँ, वातावरण बचाऔँ’ भन्ने नारासहित मुटुरोगबाट बच्न अपनाउनुपर्ने सातवटा सन्देश लेखिएको झन्डा बोकी पैदलै सो झन्डालाई सगरमाथाको चुचुरोसम्म पुर्‍याइने प्रतिष्ठानका महासचिव दीपेन्द्रपुरुष ढकालले बताए । महासचिव ढकालका अनुसार पैदल यात्राका क्रममा बंगलादेश, भारत र नेपालका विभिन्न भू–भागमा जागरण कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रतिष्ठानका अनुसार अभियानको नेतृत्व मुटुरोग विशेषज्ञ डा. रेग्मी र सबैभन्दा छिटो सगरमाथा चढेर विश्वकीर्तिमान बनाएका काजी शेर्पाले गर्नेछन् । डा. रेग्मीलगायतको समूह सगरमाथा आधारशिविरसम्म पुग्ने कार्यक्रम छ भने त्यसभन्दा माथि चुचुरासम्म शेर्पाको नेतृत्वमा पासाङ शेर्पा, कामी शेर्पा, लाक्पा शेर्पा र डा. निमा नाम्गेल शेर्पाको टोली चढ्नेछ । (सौस)

प्रतिक्रिया