पार्टी भित्रको मधेस समस्या अन्त्य गर्छु

काठमाडौं, ३० वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताएका छन् ।
राजधानीमा आज भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरूको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी समाधान गर्ने बताउनुभएको एमाओवादीका सल्लाहकार जालिम मियाँले जानकारी दिए ।
भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूले तराई मधेसमा पार्टी शुद्धीकरणको कार्ययोजना ल्याउन, पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्न र जनपक्षीयरूपमा स्थानीयस्तरका कार्यक्रमहरू ल्याउनका लागि आग्रह गरेका थिए ।
अध्यक्ष दाहालले पछिल्लो समयमा तराई मधेसमा पार्टीको सङ्गठन केही कमजोर भएको उल्लेख गर्दै त्यसलाई हल गरेर जाने पक्षमा पार्टी रहेको बताएका थिए ।
मधेस ब्युरो इन्चार्ज गिरिराजमणि पोखरेल, भोजपुरा राज्य समिति सचिव अञ्जना विसुङ्खेलगायत एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया